स्थानीय तहका उदाहरणीय काम : बिरामीलाई एम्बुलेन्स, छोरीलाई बैंक खाता

 भदौ ८, २०७५ शुक्रबार १२:४०:९ | मदन पौड्याल
unn.prixa.net

काठमाडाैं – केही स्थानीय तहले जथाभावी कर लिएको तथा जनप्रतिनिधिले आफ्नो भत्ता र गाडीमा ध्यान दिएको गुनासो बढिरहेको छ । तर सबै स्थानीय तह र जनप्रतिनिधिले नागरिकलाई निराश मात्र बनाएका छैनन् । स्थानीय तहबाट राम्रा र उदाहरणीय काम पनि भैरहेको छ ।

जनप्रतिनिधिलाई गाडी हैन बिरामीका लागि एम्बुलेन्स

रसुवामा पाँचवटा मात्रै गाउँपालिका छन् । चारवटा गाउँपालिकाले जनप्रतिनिधिका लागि गाडी किनेका छन् । कालिका, उत्तरगया, आमाछोदिङ्मो र गोसाईकुण्ड गाउँपालिकाले दुईवटा गाडी किन्ने निर्णय गरी एउटा/एउटा गाडी किनिसकेका हुन् । तर नौकुण्ड गाउँपालिकाले एम्बुलेन्स किन्न लागेको छ । 

‘हाम्रो गाउँपालिका अलि दुर्गम छ, नागरिकलाई स्वास्थ्य उपचार गर्नुपरे नजिकमा सुविधा सम्पन्न अस्पताल छैन, त्यसैले सुत्केरी र आकश्मिक बिरामीलाई तत्काल उपचारका लागि अस्पताल लैजान सकियोस् भनेर साउन ३१ गते एम्बुलेन्स किन्ने निर्णय गरिएको हो’ गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले भन्नुभयो । 

नागरिकको सजिलोका लागि गाउँपालिकाले गाडी किन्ने पैसाले एम्बुलेन्स किन्न लागेको उहाँले बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि नै सडक सञ्जालले जोडिएको नौकुण्ड गाउँपालिकाले एम्बुलेन्स किन्ने निर्णय गरेको हो ।

सुत्केरीलाई रातो भाले र भत्ता

धनकुटाको पाख्रिबास नगरपालिकाले सुत्केरीलाई रातो भाले, पोषणयुक्त खाना र न्यानो लुगा प्रदान गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिकाले नियमित गर्भ जाँच गर्ने र गाउँपालिका भित्रकै स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई प्रोत्साहन स्वरूप एक हजार रुपैयाँ दिने व्यवस्था गरेको छ । 

बर्दियाकै मधुवन नगरपालिकाले नियमित गर्भ जाँच गराउने सुत्केरी महिलालाई प्रोत्साहनस्वरुप सातसय रुपैयाँ दिने गरेको छ । बाराको प्रसौनी गाउँपालिकाले छोरी जन्मेपछि २० वर्षसम्म वार्षिक १० हजार रुपैयाँ भत्ता दिने भएको छ । अनि गर्भवती महिलालाई दुई पोका नुन र मासिक एक हजार रुपैयाँ घोषणा गरेको छ ।

गर्भ परीक्षण गरे अण्डा 

तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर ९ ले गर्भ परीक्षण गरे अण्डा दिने भएको छ । गर्भवतीको हेरचाहमा ध्यान पुर्‍याउन तथा नियमित गर्भ परीक्षणका लागि प्रोत्साहन गर्न वडा कार्यालयले अण्डा वितरण गर्न लागेको हो ।

स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई हरेक पटक १० वटाका दरले अण्डा दिइनेछ । चार पटक गर्भ जाँच गराउने गर्भवतीलाई ४० वटा अण्डा दिने वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । गर्भवती र शिशुको स्वास्थ्य अवस्था थाहा पाउन तथा गर्भावस्थामा गर्नुपर्ने हेरचाहबारे जानकारी लिन गर्भवतीले चार पटक अनिवार्य गर्भ जाँच गराउनुपर्छ ।

छोरी जन्मने बित्तिकै बैंकमा खाता

छोरीलाई समाजमा सम्मान र सुरक्षा दिनका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले छोरी जन्मने बित्तिकै बैंकमा खाता खोल्ने निर्णय गरी कार्यान्वयनमा ल्याएको छ । छोरीमैत्री नगरपालिका बनाउनका लागि गरिएको यो निर्णयले छोरीको भविष्य सुनौलो बन्ने अभिभावको आशा छ ।

 अहिलेसम्म नगरपालिकाभित्रका ५७ छोरीहरुको नाममा नगरपालिकाले खाता खोलिदिएको नगरपालिकाका उपमेयर मोहनमाया ढकालले बताउनुभयो । त्यस्तै नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्दा एकपटकको भिडियो एक्सरे खर्च बेहोर्ने भएको छ । 

छोरी जन्माउने आमालाई भत्ता

बैतडीको दोगडाकेदार गाउँपालिकामा छोरी जन्माउने २ सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । 

गाउँपालिकाभित्र गएको आर्थिक वर्षमा छोरी जन्माएका २ सय १२ जना आमालाई प्रोत्साहन स्वरुप एकहजार रुपैयाँका दरले भत्ता वितरण गरिएको छ । समाजमा छोरा र छोरी बीचको समानता कायम गर्नका लागि छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । 

त्यस्तै बर्दियाको गेरुवा गाउँपालिकाले छोरा र छोरीबीचको असमानता हटाउन अभियान सुरु गरेको छ । छोरी जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्ने अभिभावकलाई दुई हजार रुपैयाँ दिने निर्णय भएको छ ।

सामाजिक कुसंस्कार मान्नेलाई सेवा सुविधाबाट बञ्चित

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ ले छाउपडी प्रथा मान्नेलाई वडाका सेवा सुविधाबाट बञ्चित गर्न थालेको छ । वडामा सेवा लिन आएका वडाबासीलाई छाउपडी मान्ने गरे नगरेको सोधपुछ गरेपछि मात्रै सेवा दिने व्यवस्था गरिएको र छाउपडी नमान्ने प्रतिबद्धता गरे मात्रै वडा कार्यालयबाट सेवा दिन थालिएको वडाअध्यक्ष बहादुर महराले बताउनुभयो । 

महिनावारी भएका बेला घरमा बस्दा देउता रिसाउँछन् भनेर महिलालाई अलग्गै गोठमा राखिँदा बलात्कृत हुने, सर्प र जंगली जनावरको आक्रमणमा पर्ने तथा विभिन्न रोगको संक्रमण बढ्ने गरेको छ । वडा कार्यालयले वडामा जाँडरक्सी उत्पादन गर्ने, बिक्री गर्ने र खानेलाई सेवा सुविधा नदिने नियम एक वर्ष अघिदेखि नै लागू गरेको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाले छाउपडी भएको बेला भेदभाव गर्ने परिवारलाई सेवा सुविधा कटौती गर्ने भएको छ ।

छोरी नपढाए सेवा बञ्चित, एकल पुरुषलाई पनि भत्ता

बाराको बारागढी गाउँपालिकाले छोरी नपढाउनेलाई गाउँपालिकाबाट दिने सेवा बञ्चित गर्ने घोषणा गरेको छ । देउमाई नगरपालिका इलाम र बागमती गाउँपालिका ललितपुरले एकल पुरुषलाई मासिक एकहजार रुपैयाँ भत्ता दिन थालेका छन् ।

मुगुको छायानाथ रारा नगरपालिकाले ४५ देखि ६० वर्षसम्मका एकल पुरुषलाई प्रोत्साहन भत्ता दिने भएको छ । साथै दुई सन्तानपछि बन्ध्याकरण गर्ने दम्पतीलाई पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता पनि दिने गरेको छ । 

तलबभत्ता ज्येष्ठ नागरिकलाई

कञ्चनपुरको भीमदत्त नगरपालिका १ का अध्यक्ष आसेफ कुँवरले आफ्नो एक बर्षको तलब भत्ता नै ज्येष्ठ नागरिक र अपाङगता भएका व्यक्तिलाई वितरण गर्नुभएको छ । त्यस्तै तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले आफ्नो पारिश्रमिक विद्यार्थीको छात्रवृत्तिमा खर्चिने गर्नुभएको छ । 

धेरै जनप्रतिनिधिले आफ्नै सेवा सुविधा बढाउन ध्यान दिएको भन्ने गुनासा आइरहेका बेला केही जनप्रतिनिधिले यसरी तलब भत्ता सामाजिक काम र ज्येष्ठ नागरिकलाई वितरण गरेका छन् । 

कृषि र पशुपालनका क्षेत्रमा पनि चासो 

केही स्थानीय तहले कृषि र पशुपालनका क्षेत्रमा पनि चासो दिएका छन् । कास्कीको रूपा गाउँपालिकाले एक गाउँ एक उत्पादन सँगै बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ । यस्तै कृषिमै असल अभ्यासको थालनी गर्दै म्याग्दीको मंगला गाउँपालिकाले दुध उत्पादन बढाउन भैंसीलाई भत्ता, पाँचथरको फाल्गुनानन्द गाउँपालिका र चितवनको रत्ननगर नगरपालिकाले गाईलाई भत्ता दिने घोषणा गरेका छन् । अरु केही स्थानीय तहले पनि कृषिको व्यवसायिकरण गर्न विभिन्न सेवा सुविधा दिंदै आएका छन् ।

जताततै निराशा र गुनासा मात्रै छैनन् भन्ने उदाहरण केही स्थानीय तहका कामले देखाएका छन् । स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा लगाएतका क्षेत्रमा सुरु गरेका राम्रा कामले नागरिकमा केही आशा भने पक्कै जगाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया