सुरुङमार्ग निर्माण नगरेकाले निजी कम्पनीलाई दिएको सम्बन्धन खारेज गर्न सिफारिस गरियो : मुख्यमन्त्री पौडेल

 भदौ ८, २०७५ शुक्रबार १८:४३:५२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडाैं सुरुङमार्ग निर्माणको जिम्मा पाएको कम्पनीले काम सुरु नगरेकाले खारेज गर्नका लागि संघीय सरकारलाई सिफारिस गरिएको बताउनुभएको छ । 

शुक्रबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार समेलन गर्दै उहाँले नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग निर्माण गर्ने भनेर जनतालाई वर्षौँदेखि छारो हालेकाले अब त्यसको सम्झौता खारेज गर्नका लागि सिफारिस गरिएको बताउनुभयो । 

प्रदेशको मन्त्रिपरिषद बैठकले निर्णय गरेर सुरुङमार्ग निर्माण गर्ने भन्ने कम्पनीको सम्झौता खारेज गर्नका लागि सिफारिस गरिएको बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘सुरुङमार्ग निर्माण गर्छु भन्ने कामको भने सिन्को पनि नभाँच्ने ? म्याद थपेको थप्यै गर्ने भएकाले संघीय सरकारसँग कुरा गरेर नै यहाँबाट सम्झौता खारेज गर्नका लागि सिफारिस गरिएको हो ।’ 

सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारले बजेट छुट्याएकाले अब आफूहरुले सुरुङमार्ग निर्माणमा लागिने उहाँको भनाई छ । काम गर्छु भनेर लाइसेन्स ओगटेर बस्ने प्रवृत्ति भएकाले यो निर्णयमा पुगिएको उहाँको भनाई छ । प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा सुरुङमार्ग निर्माणको काम भएकाले यसलाई गरेरै छोड्ने अठोटमा लागिएको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया