युवालाई बेरोजगार भत्ता होइन आत्मनिर्भर बनाउन सरकारलाई सांसदक...
भदौ १८, २०७५ सोमवार
इण्डोनेसियामा जारी एसियाली खेलकुद अन्तर्गत शुक्रबार पनि नेपालको खराब प्रदर्शन जारी रह्यो ।
आर्चरी, ब्याडमिन्टन, थ्री बाई थ्री बास्केटबल, फेन्सिङ, गल्फ, भलिबल, स्पोर्टस क्लाइम्बिङ, पौडी र भलिबलमा सहभागिता जनाएको थियो ।तर कुनै खेलमा पनि नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
महिला व्यक्तिगत रिकर्भमा नेपाली खेलाडी ज्ञानु अवाले अन्तिम ३२ चरणबाटै बाहिरिएकी छिन् । र्याङ्किङ्मा ५९६ अंक जोड्दै ५५औं स्थानमा रहेकी ज्ञानु दोस्रो चरणमा हङ्कङ्की चिङ आदा लाम शुकसँग ६–२ ले पराजित भइन् ।
हङ्कङ्की खेलाडीले पहिलो दोस्रो र चौथो सेटमा समान २–० को अग्रता लिएकी थिइन् । तेस्रो सेटमा ज्ञानुले २–० को अग्रता लिएकी थिइन् । पुरुष रिकर्भ टिम इभेन्टमा नेपाल १९ टिम सहभागी भएकोमा १४औं भएको छ । अशिम शेरचन, मिनप्रसाद गौचन, रोशन नगरकोटी र तिलक पुन मगर सहभागी नेपाली टिमले १८८६ अंक जोडेको थियो ।
यो विधाको प्रि–क्वार्टर फाइनलमा नेपालले भोली कतारको सामना गर्नेछ ।
ब्याडमिन्टनतर्फ पुरुष सिंगल्समा रत्नजीत तामाङ बाहिरिएका छन् । अन्तिम ३२ को चरणमा रत्नजीत दक्षिण कोरिया वान्हो सनसँग २–० कै सोझो सेटमा पराजित भए ।
उनी २१–८ र २१–११ ले पराजित भएका थिए । अर्का खेलाडी विकास श्रेष्ठ पनि जापानका खेलाडी केन्तो मोमोतासँग २–० को सोझै सेटमा पराजित भए । उनी २१–९ र २१–१० को पराजय भोग्दै बाहिरिए ।
महिला डबल्समा पनि नेपाली खेलाडीको जोडी बाहिरिएको छ । प्रिक्वार्टर फाइनलमा अमिता गिरी र रसिला मगरको जोडी दक्षिण कोरियाका हेरिन किम र ह्योङ कोङ्को जोडीसँग २१–७ र २१–१ को लज्जास्पद हार ब्यहोर्न पुग्यो ।
पुरुषको थ्री बाई थ्री बास्केटबलमा पनि नेपालको प्रदर्शन खराब रह्यो । नेपाल सिरियासँग २१–१९ को झिनो अन्तरको हार ब्यहोरेको नेपाल जोडर्नसँग भने २१–१० को फराकिलो अन्तरले पराजित भयो ।
फेन्सिङतर्फ पुरुषको फोइल टिम इभेन्टमा नेपाल फिलिपिन्ससँग ४५–३ को भारी अन्तरले पराजित हुँदै प्रि–क्वार्टर फाइनलबाटै बाहिरियो । नेपाली टिममा राजन राज खड्का, महेश प्रसाद भट्ट, संजिप लामा र शेरसिंह ऐरी सहभागि थिए ।
गल्फतर्फ नेपाली खेलाडीको प्रदर्शन निकै खराब रह्यो । दोस्रो चरणको समाप्ति सम्ममा शुक्रबहादुर राई १३ ओभर १५७ स्कोर गर्दै ५५ औं स्थानमा छन् । अघिल्लो दिन नौ ओभर ८१ स्कोर गरेका शुक्रले दोस्रो चरणमा चार ओभर चार ओभर ७६ को कार्ड बनाए ।
दोस्रो चरणको समाप्ति सम्ममा १६ ओभर १६० सहित ६२औं स्थानमा छन् भने अर्का नेपाली खेलाडी अजित विश्वकर्मा १९ ओभर १६३ को कार्ड बनाउँदै ७४औं स्थानमा छन् । अझ खराब प्रदर्शन गर्दै पृथ्वी मल्ल २४ ओभर १६८ सहित ७८औं स्थानमा छन् ।
स्पोर्टस् क्लाइम्बिङ अन्तर्गत २३ खेलाडी सहभागि बोल्डरिङको छनोट चरणमा नेपाली खेलाडीहरु पुछारबाट दोस्रो र तेस्रो भए ।
पौडीतर्फ नेपालको प्रदर्शन सन्तोषजनक रहेन । चार खेलाडी सहभागी भएकोमा कुनै पनि खेलाडीले हिट चरण पार गर्न सकेनन् ।
सागकी पदक विजेता गौरिका सिंहले शुक्रबार ५० मिटर फ्रिस्टाइलको हिट थ्रीमा सातौं स्थानमा रहिन् । उनले २८।५० सेकेण्डको टाइमिङ निकालेकी थिइन् । सोही हिटमा रहेकी अर्की नेपाली खेलाडी टिशा शाक्य २९।६१ सेकेण्डको टाइमिङ मार्क गरी आठौं स्थानमा आइन् ।
यसैगरी पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा नेपालका शुभम श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिए । हिट टू मा रहेका उनी आठ खेलाडीमध्ये सातौं स्थानमा रहे । उनले ३२।४५ सेकेण्डको टाइमिङ निकालेका थिए । एशियाली खेलकुदमा दुई पुरुष र दुई महिला खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
पुरुषतर्फ शिरिषले ५० मिटर र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए भने शुभम श्रेष्ठले ५० र १०० मिटर ब्रेष्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै महिलातर्फ गौरिका सिंहले ५०, १०० र २०० मिटर फ्रिस्टाइलमा र टिशाले ५० र १०० मिटर फ्रिस्टाइल तथा ५० मिटर ब्रेष्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका थिए ।
पौडीमा यसपटक कुनै पनि राष्ट्रिय कीर्तिमान बन्न सकेन । नेपाल पौडी संघले कीर्तिमान बनाउनेलाई १० हजार प्रोत्साहन पुरस्कारको घोषणासमेत गरेको थियो ।
भलिबल तर्फ नेपाल लगातार दोस्रो हार ब्यहोर्दै प्रतियोगिता बाहिरिएको छ । अघिल्लो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको नेपाल आज दक्षिण कोरियासँग २५–१६, २५–१३ र २५–१४ को सोझो सेटमा पराजित भयो ।