राधा चौधरीलाई कुट्ने ‘भोलेबाबा’लाई पाँच वर्ष जेल

 जेठ १८, २०७५ शुक्रबार १३:४८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net


कैलाली, जेठ १८ – जिल्ला अदालत कैलालीले राधा चौधरीमाथि बोक्सी आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा अर्थात रामबहादुर चौधरीलाई पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । 

भोलेबाबालाई सहयोग गरेको भन्दै पक्राउ परेका अरु तीन जनालाई भने सफाई दिईएको छ । जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले घोडाघोडी नगरपालिका वडा नम्वर ५ देउकलियाकी २० वर्षिया राधा चौधरीलाई गएको फागुन २४ गते बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्ष कैद सजाय र एक लाख जरिवाना भराउने फैसाला गरेको हो ।

बोक्सीको आरोपमा राधा चौधरीमाथि कुटपीट गरेको भन्दै ६ जना विरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाइएको थियो ।

 त्यस्तै, भोलेबाबाका सहयोगी किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार जरिवाना र स्मारीका चौधरीलाई ६ महिना कैद र २५ हजार जरिवाना भराउने फैसला सुनाएको जिल्ला अदालत कैलालीले जनाएको छ । यस्तै भोलेबाबालाई सहयोग रहेको भन्दै पक्राउ परेका स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई भने अदालतले सफाई दिइएको छ । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया