पर्यटन प्रवर्द्धनका लागि नेपाली पर्यटन व्यवसायी पटनामा

 जेठ १८, २०७५ शुक्रबार १४:५०:१८ | राधेश्याम खतिवडा
unn.prixa.net


भारत(पटना), जेठ १८ – नेपालका पर्यटकीय गन्तव्यहरुका विषयमा प्रचार प्रसार गर्ने उद्देश्यले पर्यटन व्यवसायीहरु शुक्रबार भारतीय सीमा सहरमा आइपुगेका छन् ।

चितवन लगायत चार जिल्लाका पर्यटन व्यवसायीहरुले पटना, वनारस र लखनउ क्षेत्रमा रहेका पर्यटन व्यवसायीहरुसग अन्तरक्रिया गर्दैछन् । नेपालमा सुविधा सम्पन्न होटलहरु थपिइरहँदा पर्यटकको संख्या बढाउने उद्देश्यले भारतका विभिन्न शहरहरुमा प्रचार प्रसार अभियान थालिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज लगायत बारादेखि लुम्बिनीसम्मको क्षेत्रको पर्यटकीय गन्तव्यहरुमा भारतीय सीमाक्षेत्रको सहरहरुबाट पर्यटक बढाउने उद्देश्यले प्रवद्र्धन कार्यक्रम गरिएको उहाँले बताउनुभयो । 

‘चलिये पडोशी के पास, हरपल खुशहाल नजारा भी खास’ भन्ने नाराका साथ भारत आएका नेपालका पर्यटन व्यवसायीले शुक्रबार पटनाका पर्यटन व्यवसायीहरुसग अन्तरक्रिया गरेको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको संयोजनमा भएको कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराई र चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले पर्यटकीय गन्तव्यको तस्विर सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सुवेदीको कार्यपत्रमा नेपाल र मुख्य गरी बारादेखि लुिम्बनीसम्मको पर्यटकीय गन्तव्यहरुका विषय समेटिएको थियो । त्यस कार्यपत्रमा चितवन राष्ट्रिय निकुञ्ज परिसरका गन्तव्यहरु, त्रिवेणी धाम, शास्वत धाम, गिद्ध संरक्षण केन्द्र, सौराहा, देवघाट, मेघौली, कसरा, शहिद स्मारक, इन्द्र सरोवर, भुटनदेवी, चुरीयामाई, गढीमाई, लुम्बिनी लगायतका पर्यटकीय गन्तव्यको विषयमा तस्विरसहित प्रस्तुत गरिएको थियो । 

चितवन निकुञ्ज र आसपासका क्षेत्रमा विभिन्न २३ मुख्य पर्यटकीय गतिविधिहरु गर्न सकिने कार्यक्रममा जानकारी गराइएका त्यस कार्यक्रममा दुर्लभ वन्यजन्तु एक सिंगे गैंडा, पाटे बाघ, घडियाल गोही, हात्ती, गौरीगाई, चरा लगायतको महत्वको बारेमा प्रकाश पारिएको थियो । 

भारतीय सीमा सहरबाट छोटो दूरीमा थोरै लागतमा भारतीय पर्यटकले नेपालको मनमोहक प्रकृतिक सौन्दर्य, दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन गरी आनन्द लिन सकिने क्षेत्रीय होटल संघ, नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो ।

भारतीय सीमा सहरमा बिदा र अत्याधिक गर्मी भएको समयमा नेपालमा पर्यटन गतिविधिका लागि मौसम अनुकूल रहने बताउँदै घिमिरेले भारतीय व्यवसायीहरुलाई नेपाल भ्रमण गर्न अनुरोध गर्नुभयो । 

दुई देशले संयुक्त रुपमा पर्यटन प्रवर्द्धन गर्न सकिने भारत सरकारका पर्यटन मन्त्रालयका निर्देशक गोविन्द च. भुयनले बताउनुभयो । सीमा क्षेत्र नजिकै रहेकोले दुवै देशको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाहरुबीच छलफल गरेर अघि बढ्ने रणनीति बनाएर काम गर्न सके दुवै देशका लागि लाभदायक हुने बताउनुभयो । कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीहरुले वाल्मीकि आश्रमको संयुक्त रुपमा संरक्षण गर्नुपर्ने, धार्मिक पर्यटकीय क्षेत्रहरुको सहज र सुलभ प्याकेज बनाउनुपर्ने सुझाव दिएका थिए ।
 
नेपाल पर्यटन बोर्डको सहकार्य तथा क्षेत्रीय होटल संघ सौराहाको समन्वयमा ३२ सदस्यीय टोली छिमेकी राष्ट्र भारतको रक्सौल, मोतिहारी, मुजफ्फरपुर हुँदै विहीबार राति पटना आइपुगेको हो । 

टोलीले पटना पछि वनारस र लखनउका पर्यटन व्यवसायीहरुसग छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम गर्नेछ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया