कञ्चनपुरमा ५ घण्टाका लागि कर्फ्यू हटाइयो

 भदौ ९, २०७५ आइतबार ५:२३:५५ | दुर्गा उपाध्याय

कञ्चनपुर - जनै पूर्णिमालाई ध्यान दिंदै भीमदत्त नगरपालिका ४, ६ र १८ नम्बरमा लगाइएको कर्फ्यू आदेश ५ घण्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबार सूचना निकालेर आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू आदेश हटाएको जनाएको छ । 

५ घण्टाका लागि कर्फ्यू आदेश हटाइए पनि त्यसपछि भने अर्को आदेश नभएसम्मका लागि कर्फ्यू निरन्तर हुने सूचनामा उल्लेख छ । 

 ‘जनैपूर्णिमा र अन्य कुरालाई लक्षित गरी ५ घण्टाको लागि कर्फ्यू आदेश हटाउने निर्णय भएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भन्नुभयो ‘१० बजेपछि निरन्तर गर्ने भनेका छौं ।’ स्थिति सामान्य बन्दै गए कर्फ्यू आदेशलाई हटाइने उहाँले बताउनुभयो । 

प्रदर्शनका क्रममा हिंसा भड्किएपछि शान्ति सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले शुक्रबार बेलुका ८ बजेदेखि अर्को आदेश नआउञ्जेलका लागि भन्दै कर्फ्यू आदेश जारी गरेको थियो । 


 

अन्तिम अपडेट: चैत २३, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया