पाँच किलोमिटर सडक पार गर्न तीन घण्टा !

 भदौ १०, २०७५ आइतबार ९:१२:२४ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – पाँच किलोमिटरको सडक पार गर्न तीन घण्टासम्म समय लाग्छ भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ । तर अचम्म नमान्नुहोस्, धनकुटाको पाख्रीवासदेखि हिलेसम्मको सडकको दूर्दशा यस्तै रहेको छ ।

पाख्रीवास बजारदेखि हिलेबजारसम्मको सडकको दुरी पाँच किलोमिटर रहेको छ । तर यो सडक पार गर्न गाडीलाई डेढ घण्टादेखि तीन घण्टासम्म लाग्ने गरेको छ । मध्य पहाडी लोकमार्ग अन्तरगत चौडा सडक विस्तारको क्रममा बर्षात्को समयमा सडक भत्काएपछि यात्रुहरुले सास्ती भोग्दै आएका छन् । 

कञ्चनजंघा कन्स्ट्रक्सन काठमाडौंले पाख्रीवास नगरपालिका–५ पञ्चेदेखि पाख्रीवास बजार हुदै हिलेसम्मको १३ किलोमिटर सडक तीन वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने जिम्मा लिएको भए पनि सम्झौता अनुसारको काम हुन सकेको छैन । 

करिब २९ करोडको लगानीमा सडक निर्माणको ठेक्का लिएको कञ्चनजंघा कन्स्ट्रक्सनले १३ किलोमिटर सडकका केही स्थानहरुमा कल्भर्ड र नाली मात्र निर्माण गरेको स्थानीयबासिन्दाले बताएका छन् । सम्झौता अनुसार सो कम्पनीले यसै वर्षको चैत मसान्तभित्रमा १३ किलोमिटर सडकमा कालो पत्रे गरिसक्नु पर्नेछ । तर अहिले सडकको अवस्थालाई हेर्ने हो भने समयमा काम सम्पन्न गर्न सक्ने अवस्था छैन । 

कन्स्ट्रक्सनका स्वयम् कर्मचारीले पनि सम्झौता अनुसार समयमा काम सम्पन्न गर्न नसकिने बताउँदै आएका छन् । वर्षात्का कारण दैनिक काम गर्न समस्या भएपछि कामदारहरु घर हिँडेकाले सडक निर्माणको कार्य तत्काललाई स्थगित गरिएको कञ्चनजंघा कन्स्ट्रक्सनका सुपरभाइजर तोरण पोख्रेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “एक त बर्षातकाे समय पर्‍यो । अर्को कुरा सडक निर्माणको लागि लेगुवाबाट खरिद गर्दै आएको बालुवा, गिटी विवादका कारण ठेकेदारले समयमा दिन सकिरहेको छैन । जसका कारण पनि सडक निर्माणमा ढिलाई भईरहेको छ ।” यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै पाख्रीवास हिले सडकखण्डमा हिलोका कारण गाडी फसेका स्थानमा गिटी हाल्ने, हिलो पन्छाउने कार्य भने भैरहेको सुपरभाइजर पोख्रेलले बताउनुभयो । 

तर सुपरभाइजर पोख्रेलले भनेअनुसार सडकमा गाडी गुडाउन सहज भने छैन । सडक निर्माणमा भएको ढिलासुस्तीका कारण पाख्रीवास हुँदै धनकुटा, धरानबाट विभिन्न स्थानमा हिँडेका यात्रुहरुलाई सास्ती हुँदै आएको छ ।     

हिलेबाट पाख्रीवास, लेगुवा हुदै भोजपुरतर्फ दैनिक साना तथा ठूला सयौं सवारी साधनहरु आवत जावत गर्ने गर्दछ । ती सवारी साधनहरु हिले पाख्रीवास सडकमा घण्टौं हिलो सडकमा फस्ने गरेका छन् । दैनिकजसो पानी पर्ने यस क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको सडक हिलाम्मे भएपछि सवारी साधन हिलोमा फसेकाले पाख्रीवासबाट हिलेसम्म जान पनि तीन घण्टाको समय लाग्ने गरेको जालपादेवी मावि पाख्रीवासका शिक्षक किशोर राईले बताउनुभयो । 

उपचारको लागि पाख्रीवासबाट धरान हिलेका राईलाई हिलोमा गाडी फसेपछि तीन घण्टा त हिले पुग्न नै लाग्यो । हिलाम्मे सडकका कारण यात्रुहरुलाई सास्ती भएको स्वीकार गर्दै बर्षात् रोकिएपछि तत्काल काम शुरु हुने कञ्चनजंघा कन्स्ट्रक्सनका साइड इञ्जिनियर ओमप्रकाश शाहले बताउनुभयो ।

यो क्षेत्र हुँदै संचालन हुने गाडी दैनिक हिलोमा फस्ने गरेपछि यात्रुहरुलाई समस्या त छँदैछ । थप त्यही बाटो हुँदै दैनिक कार्यालय आउने जाने कर्मचारीहरुलाई त झन् पीडा थपिएको छ । एक दिन अफिस छुट्यो भने जागिर जाने डर हुन्छ । अफिस जाउ भने बाटो नै छैन । त्यसैले हिलाम्मे सडकमा मोटरसाइकल जान नसक्ने भएपछि हिलेमा बाइक राखेर प्रायः हिलेबाट पाख्रीवाससम्म हिँडेर अफिस जाने गरेको पाख्रीवास नगरपालिकाकाका इञ्जिनियर दिपक राईले बताउनुभयो । 

गाडीमा चढे पनि समयमा अफिस पुग्न सकिंदैन । त्यसैले हिलोमा गाडी फसेर घण्टौं बाटोमा बस्नु भन्दा प्रायः हिँडेर अफिस जाने गरेको इञ्जिनियर राईले बताउनुभयो ।

पाख्रीवास हिले सडकखण्डमा यात्रुलाई आवतजावतमा समस्या देखिएपछि पाख्रीवास नगरपालिकासम्म गुनासो पुगेको छ । समस्या समाधानको लागि पाख्रीवास नगरपालिकाले पनि गम्भीरताका साथ अघि बढिरहेको पाख्रीवास नगरपालिकाका प्रमुख विर्खबहादुर राईले बताउनुभयो । 

उहाँले भन्नुभयो–“सडक निर्माणको ठेक्का लिएको कम्पनीका डाइरेक्टरसँग त भेट हुन सकेको छैन । तथापी कम्पनीका कर्मचारीसँग भने सडक निर्माणको विषयमा कुराकानी भैरहेको छ ।” राज्यको नीति अनुरुप एउटै काममा दोहोरो लगानी गर्न नमिल्ने भएकाले ठेकेदार कम्पनीलाई चाँडो काम सम्पन्न दबाब दिनका लागि जिल्ला प्रशासन कार्यालय धनकुटा र जिल्ला प्रहरी कार्यालय धनकुटालाई समेत जानकारी गराएको नगर प्रमुख राईले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय धनकुटाको अगुवाईमा जिल्लाबाट निर्वाचित सांसदहरुको उपस्थितिमा तीन पटकसम्म यो सडकको अनुगमन पनि गरिसकिएको छ । अनुगमनको क्रममा सडक निर्माण कार्य ढिलाई हुनुमा ठेकेदार कम्पनीको लापरबाही रहेको प्रदेश सांसद इन्द्रमणि पराजुलीले बताउनुभयो । 

यो सडकको निर्माण कार्य चाँडो सम्पन्न गर्नको लागि प्रदेश हुँदै संघीय सरकारसम्म आफूले पहल गरिरहेको पनि सांसद पराजुलीले बताउनुभयो । भर्खरै सरुवा भएर धनकुटा आएका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँदै अब यर्थाथ बुझेर तत्काल कामलाई अगाडि बढाउने बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया