ओली सरकारमा थपिए दुई उपप्रधानमन्त्री

 जेठ १८, २०७५ शुक्रबार १९:२१:४० | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज पूर्णता पाएको छ । शुक्रबार संघीय समाजवादी फोरमबाट २ जना मन्त्री थपिएसँगै सरकारले पूर्णता पाएको हो । 

फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्नु भएको छ । यस्तै मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्रीमा नियुक्त हुनु भएको छ । 

यसअघि सञ्चार राज्यमन्त्री रहनुभएका गोकुल बास्कोटालाई सरकारले सञ्चारमन्त्रीमा बढुवा गरिदिएको छ । 

ओली नेतृत्वको सरकारमा अब दुई जना उपप्रधानमन्त्री बनेका छन् । 

यसअघि रक्षामन्त्री रहनुभएका इश्वर पोखरेललाई पनि उपप्रधानमन्त्री बनाइएको छ । फोरमलाई सरकारमा सहभागी गराउन त्यसका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाइएको छ । यादव यसअघि नै उपप्रधान तथा परराष्ट्रमन्त्री बनिसक्नु भएको छ । त्यस्तै फोरम नेता राई श्रममन्त्री बन्नुभएको थियो । 

संघीय समाजवादी फोरम, नेपालबाट २ जना थप गरिएसँगै ओली नेतृत्वको मन्त्रिपरिषद २४ सदस्यीय भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया