ज्यान जोगाउन खोज्दा मृत्यु अँगाल्न पुगे मेरा श्रीमान्

 भदौ १२, २०७५ मंगलबार १०:३२:२१ | निर्मला खडायत
unn.prixa.net

कैलाली  – ‘जब जीवन छोटो छ भन्ने थाहा हुन्छ नि, तब जीवनका सबै इच्छा र चाहनाहरु मर्दा रहेछन्’  यो मार्मिक शब्द टिकापुरकी पायल थापाको हो ।

उनी १३/१४ वर्षकै उमेरमा एक युवकसँग प्रेममा परिन् । तिनै युवकसँग जीवन बिताउने भन्ने अठोट लिइन् र आफ्नो प्रेमलाई उनले विसं २०६४ सालमा विवाहमा परिणत गरिन् ।  

सानो उमेरमै प्रेम विवाह गरेकी पायलको वैवाहिक जीवन केही वर्ष निकै सुखमय बन्यो । तर गरिबी र बेरोजगारीले पायलका श्रीमानलाई पनि घरमा बस्न दिएन ।

भारत गएको केही महिनापछि पायलका श्रीमान बिरामी परेछन् । साथका नेपाली साथीहरुले पायलका श्रीमानलाई अस्पताल भर्ना गरिदिएछन् । सञ्चो भएपछि पायल श्रीमान लिएर घर फर्किइन । घर फर्केको केही महिनापछि उनका श्रीमान फेरि बिरामी परे । अस्पतालमा कति उपचार गर्नु भनेर उनलाई केहीदिन झारफुक गरियो । 

झारफुकबाट सञ्चो नभएपछि टिकापुर अस्पतालमा भर्ना गरियो  । जाँच गर्दा एपेन्डिक्स देखियो । ३ महिना एपेन्डिक्सको औषधि खुवाइयो । तर स्वास्थ्यमा कुनै फरक नआए पछि  पायलले श्रीमानलाई नेपालगञ्ज लगिन् । त्यहाँ पनि कुनै उपाय नभएपछि उनले कोहलपुर लगिन् । 

त्यहाँ उनका श्रीमानलाई आन्द्राको टीबी देखायो र औषधि सुरु भयो । श्रीमानलाई अलि सञ्चो पनि भयो । उनले भनिन्, ‘श्रीमानको उपचारमा घरमा भएको सबै कुरा  त्यतिन्जेल बेचिसकेकी थिएँ । एक हल गोरु, तीन तोला जति सुन । तर जे होस् मेरो उनलाई सञ्चो भएपछि गरेका सबै दुःख बिर्सिएँ । लाग्यो अब फेरि मेरा खुसीका दिनहरु आए । तर ..................’ भन्दै उनी मुख छोपेर रुन थालिन् । 

एकछिनपछि सम्हालिएर उनले अरु कुरा खोतलिन् । भारतमा बिरामी भएका बेला  पायलका श्रीमानलाई रगत चाहिएको रहेछ । हतार हतारमा रगत पाइयो । तर एचआइभी पोजेटिभ भएको मान्छेको रगत । उनलाई ती सबै कुरा सोच्न समय नै थिएन । उनी आफ्नो श्रीमान बचाउन रगत पाएकोमा खुसी थिइन् । त्यतिबेला त उनको बिरामी श्रीमान बाँचे । तर त्यहीबेला उनी एचआइभी संक्रमित भएछन् ।

पायलले सम्झेझैं गरेर भनिन्, ‘मैले एचआइभीको त कल्पना नै गरेकी थिइनँ । म त श्रीमानको लागि रगत पाएकै कुरामा मख्ख थिएँ । त्यही दिन मैले विचार पुर्याउन नसक्नु मेरो जीवनको सबैभन्दा ठूलो भुल भयो । त्यतिबेला रगत श्रीमानलाई दिनु पहिले मैले जाँच गर्न लगाएकी भए आज यसरी बेसहाराझैं अरुको बोझ बन्नुपर्ने अवस्था आउने थिएन ।’ 

त्यसो त पायलका श्रीमानले बिरामी हुँदादेखि नै पायलसँग बोल्न कम गरिसकेका थिए । तर, बिस्तारै पायलका श्रीमान जिउँदो लास सरह बने ।  हिँडडुल गर्ने, हँसाउने पायलका श्रीमान एकाएक अपाङ्ग बने । न हात चल्ने, न खुट्टा । उनले आँखाभरी आँसु बनाएर भनिन्, ‘त्यसयता उनको आवाज मैले कैले सुन्न पाइनँ ।’ 

उनी ५/६ महिनाको बच्चालेझैं धेरै कुरा भन्न खोज्थे, तर उनको भाषा फरक थियो । ‘न मैले उनको कुरा बुझ्न सक्थें, न उनले मेरो कुराको प्रतिक्रिया जनाउन सक्थे । जब समाजले मलाई बिभिन्न लान्छना लागाउँथ्यो, उनी ढाल बनेर आउँथे । त्यतिबेला समाज होइन, उनको परिवारले मलाई काँडाझैं बिझ्ने शब्द बारम्बार प्रहार गथ्र्यो, तर उनी सम्झाउन सक्दैन थिए’ पायलले भनिन् । 

केही सीप नलाएपछि पायलले श्रीमानलाई कोहलपुर भर्ना गरिन् ।  तिहारको दिन सबैको घरमा खुसियाली छाएको थियो । तर २०७४ को तिहार पायलका लागि अभिशाप बनेर आयो । 

उनले भनिन्, ‘त्यो तिहारकै दिन थियो । जुन दिन मैले मेरो श्रीमानलाई एचआइभी छ भन्ने थाहा पाएकी थिएँ । त्यो थाहा पाएपछि डाक्टरले अस्पतालबाट तुरुन्तै निकालिदिए ।’ भएको रकम आइसीयुमा राखेर सकिसकेको थियो । उनले अरुबाट पैसा सापट मागेर आफ्नो श्रीमानलाई उपचारका लागि काठमाडाैंसम्म पनि पुर्‍याइन । तर कसैले उनको श्रीमानलाई निको पार्न सकेनन् ।

उनी निराश भएर घर फर्किइन् । त्योबेला उनलाई सान्त्वना र सहाराका लागि आमाको काखभन्दा अरु कोही भएनन् । आफ्नै सासुले समेत उनलाई साथ दिइनन् । त्यसपछि उनले श्रीमानलाई माइती घर लगेर स्याहार गरिन् । 

‘त्यो मंसिरको महिना थियो । एकाबिहानै उठेर बाहिर गएँ । कुहिरोले आकाश ढपक्कै ढाकेको थियो । निराश मनले आकाशतिर हेरिरहें, आकाशले मलाई नै जिस्क्याए जस्तो लाग्यो । हत्तपत्त श्रीमान भएतिर गएँ । बिहान भैसक्यो बुढा उठ भन्दै ब्युँझाउने प्रयत्न गरें’ उनले त्यो दिन सम्झिइन् । हरेक बिहान उनले यसरी बोलाउँदा श्रीमानले प्रतिक्रिया दिन्थे ।  तर त्यो बिहान श्रीमानले केही प्रतिक्रिया जनाएनन् । त्यो दिन उनको लागि श्रीमानको मुहार हेर्ने अन्तिम दिन भयो ।

त्यसपछि पायलका झनै कहालीलाग्दा दिन सुरु भए । समाजभन्दा पनि बढी उनले परिवारबाटै यातना पाइन् । उनले भनिन्, ‘श्रीमानलाई एचआइभी छ भन्ने उनलाई थाहासम्म हुन पाएन । तर म थाहा पाएर यहाँ पलपल डराएर बाँचिरहेकी छु ।’

टिकापुर अस्पतालमा जाँच गराउँदा उनले आफूलाई पनि एचआइभी भएको थाहा पाइन् ।  उनी भन्छिन्, ‘एचआईभी भएको कुरा पहिले त समाजबाट लुकाएँ, श्रीमान टिबी लागेर बित्नुभएको हो भन्थें । तर बिस्तारै यो हल्ला गाउँभरी फैलियो । उनीहरुले मलाई हेर्ने दृष्टिकोण फरक भयो । झन् त्यो भन्दा फरक दृष्टिकोण त मेरो परिवारको थियो मप्रति  । सामग्री फरक थियो, बस्ने कोठा फरक थियो । यहाँसम्म कि उनीहरुमध्ये कोही पनि मेरो नजिक आउँदैन थिए ।’

परिवार सबैको यस्तो विभेद देखेपछि भारतमा अध्ययन गरिरहेका उनका देवर घर फर्किए । दाइका दुई सन्तानको भविष्य सम्झेर भाउजुलाई पत्नीका रुपमा स्वीकार्ने कुरा गरे । श्रीमान् गुमाउनुको पीडामै उनले देवरलाई दोस्रो श्रीमानको रुपमा स्वीकार गर्न बाध्य भइन् । देवरसँगको वैवाहिक जीवन उनको लागि सहानुभूतिपूर्ण त बन्यो, तर सुखमय बनेन् ।  केही महिना पछि देवरको पनि उनीप्रति घृणा बढ्दै गयो । 

दुई सन्तानको लालनपालन घरमा हुन नसकेपछि माइती घर पुगिन् । अहिले पायल  माइतीकै आश्रयमा बस्दै आएकी छिन् । 

उनले रुँदै भनिन्, ‘परिवारको म प्रति घृणा बढ्दै गएपछि मैले चाँडै मृत्युलाई अँगाल्न सकिएला कि भनेर एचआइभीको औषधि खान छोडें । तर औषधि छोड्दा झन् बढी दुःख भयो ।’ अहिले उनी सेती अञ्चल अस्पतालबाट औषधि खाइरहेकी छिन् । 

अहिले उनी २७ वर्षकी भइन् । धेरै पढेलेखेकी छैनन् । कतै सीप सिक्न पाए आफ्नो बाँकी जीवन स्वावलम्बी भएर जीउन चाहन्छिन् । उनी आफ्ना सन्तानलाई त्यो समाज अनि त्यो विभेदले भरिएको परिवारबाट टाढा राखेर हुर्काउन चाहन्छिन् । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया