विदेश जाँदै या स्वदेश फर्कंदै हुनुहुन्छ ? उडान तालिका नमिल्न सक्छ

 भदौ १२, २०७५ मंगलबार ११:५५:२२ | सन्जिता देवकोटा

काठमाडौं – तपाईं वैदेशिक रोजगारीको लागि मलेसिया तथा खाडीको देश जाँदै हुनुहुन्छ या वैदेशिक रोजगारीबाट स्वदेश फर्किंदै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस्, अबको ५ दिन तपाईंको हवाई उडान अनियमित हुन सक्छ । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा बिभिन्न देशका सरकार प्रमुखको ओहोरदोहोर हुने भएकाले हवाई उडान अनियमित हुने भएको हो । 

आउँदो बिहीबार र शुक्रबार काठमाडौंमा हुने बैठकका लागि मंगलबार बेलुकीदेखि विशिष्ट व्यक्तिहरु काठमाडौं आउँदैछन् । विशिष्ट व्यक्तिको जहाज अवतरणको बेला अरु जहाजको उडान र अवतरण प्रभावित हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विशिष्ट पाहुना आउनु १० मिनेट अघिदेखि आएको आधा घण्टासम्ममा अरु उडान रोकिनेछ । यो क्रम मंगलबार बेलुकीदेखि नै सुरु हुने उहाँले जानकारी दिनुभयो । 

अरु दिनभन्दा बिहीबार हवाई उडान र अवतरण बढी प्रभावित हुने भएको छ । बिमस्टेकको बैठक हुने दिन बिहीबार भारत, बंगलादेश र थाइल्याण्डका सरकार प्रमुख काठमाडौं आउँदैछन् । 

त्यसैले बिहीबार बिहान ८ बजेदेखि झण्डै ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान तथा अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ । 

यस्तै, सम्मेलन सकिएलगत्तै केही देशका सरकार प्रमुख फर्किने भएकाले शुक्रबार बेलुका पनि उडान तथा अवतरण प्रभावित हुनेछ । बाँकी बिशिष्ट व्यक्तिहरु फर्किने दिन शनिबार बिहान पनि केहीबेर उडान र अवतरण प्रभावित हुने कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने – आउनेलाई बढी असर

बिमस्टेक बैठकका कारण विमानस्थलमा हवाई उडान प्रभावित हुँदा देश भित्र तथा विदेशका बिभिन्न ठाउँ उड्ने र बाहिरबाट काठमाडौं आउने सबै यात्रुलाई असर गर्छ नै ।

त्यसमा पनि वैदेशिक रोजगारीमा जाने र फर्किनेहरुलाई बढी असर पर्न सक्छ । किनभने बिहीबार विमानस्थल बन्द हुने तीनघण्टाको अवधिमा नेपाली कामदार ओहोरदोहोर गर्ने देशहरुमा उडान तथा अवतरणको तालिका छ ।

विमानस्थलको नियमित तालिका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म ओमानको मस्कट, कतारको दोहा, साउदीको दमाम, कुवेतको कुवेत सिटी तथा युएईको शारजाह र दुबईबाट आएका जहाज काठमाडौंमा अवतरण हुने गर्छन् । 

यस्तै यही अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट ओमनको मस्कट, दोहा, दुबई, शारजाह, कुवेत सिटी र मलेसियाको क्वालाम्पुरमा उडान हुने गर्छ । यही तालिका अनुसार तपाईँको हवाई यात्रा तय भएको छ भने उडान तथा अवतरण ढिलो हुन सक्छ । 

विमानस्थलमा नयाँ व्यवस्था 

बिमस्टेक सम्मेलनलाई नै ध्यान दिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा अरु सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको छ ।

अब पहिलेजस्तो विमानस्थलमा यात्रुलाई बिदाई तथा स्वागत गर्न आफन्त र साथीहरु जान पाउने छैनन् । यात्रु बाहेकका आगन्तुकको प्रवेश निषेध गरिएको विमास्थल कार्यालयले जनाएको छ । 

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलले यात्रु स्वयं सक्षम भएको अवस्थामा सहयोगीको जरुरत नपर्ने हुँदा अनावश्यक व्यक्ति प्रवेश नगर्न अनुरोध गरेको छ । 

कुनै यात्रु बिरामी, अशक्त, सहयोगी नभई नहुने अवस्था भएमा मात्रै एक जना सहयोगी प्रवेश गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

विमानस्थल जाने मुख्य द्वार नजिकै प्रहरी जाँचस्थलमा अत्यावश्यक सहयोगीले आफ्नो प्रवेशका कारण बताएर मात्रै विमानस्थल प्रवेश गर्न सक्नेछ । सहयोगीको रुपमा भित्र प्रवेश गरेको व्यक्तिले यात्रु चेकिङका लागि डिपार्चरतर्फ लामबद्ध हुनासाथ १० देखि १५ मिनेट सम्ममा विमानस्थलबाट बाहिरिनुपर्ने व्यवस्था गरिएको छ । 

यात्रुसँग पहिले नै सम्पर्क÷पहिचान भई लिन आउने होटलका वा निजी गाडीको हकमा जहाज अवतरणको ५ देखि १० मिनेटअघि मात्र प्रवेश भई यात्रु लिएर तत्काल फिर्ता हुन विमानस्थलले आग्रह गरेको छ । 

बिमस्टेक सम्मेलनको लागि भनेर नयाँ व्यवस्था गरिएको भए पनि यसलाई निरन्तरता दिने तयारी भैरहेको कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया