राष्ट्रिय जागृति क्लब पाथीभरा गोल्डकपकाे सेमीफाइनलमा

 भदौ १२, २०७५ मंगलबार १९:२०:२८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा जारीे पाथीभरा गोल्डकपको पाँचौं दिनमा भएको खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लब सेमी फाइनलमा प्रवेश गरेको छ ।  

राष्ट्रिय जागृति क्लब पाथीभरा गोल्डकपको सेमी फाइनल पुग्ने तेस्रो टोली बनेको छ । टाइब्रेकरमा दार्जिलिङको युनाइटेड खर्साङ फुटबल क्लबलाई ३–० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लव पाथीभरा गोल्डकपको सेमी फाइनल पुगेको हो । 

निर्धारित ९० र अतिरिक्त १५ मिनेटको समयमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा राष्ट्रिय जागृतिका रमेश राजबंशी, दीपेन तामाङ र उमेश कार्कीका प्रहारले  जाली चुमेपछि राष्ट्रिय जागृति क्लब विजयी बनेको थियो । 

युनाइटेड खर्साङ फुटबल क्लबका तर्फबाट राजीव प्रधान, बीरेन प्रधान र वाङ्चेन तामाङले गरेका प्रहारलाई राष्ट्रिय जागृति क्लबका गोलरक्षक विवेक चौधरीले उत्कृष्ट बचाउ गरेका थिए । अर्का खेलाडी वाङ्चेनको प्रहार गोलपोष्टको माथिल्लो भागमा ठोकिँदै बाहिरएको थियो ।

थपिएको समयमा दुवैले रक्षात्मक खेल खेलेका थिए । गोलको अग्रता कायम नभएको अवस्थामा दुवै टोली खेललाई गोल्डकपको जारी संस्करणमा बिजेताको टुङ्गो लगाउन टाइब्रेकरको सहारा लिनु परेको यो पहिलो खेल हो ।

यसअघि सोमबारको खेलमा ९० मिनेट सम्म बराबरी भएपछि थपिएको १५ मिनेट सकिन २ मिनेटमात्र बाँकी रहँदा झापा बिर्तामोडको न्यू स्टार क्लबले गोल गर्दै संघर्षपूर्ण खेलमा घरेलु टोली कर्णसिंह सोनामलाई क्वार्टर फाइनलमै रोकेको थियो । 

टाइब्रेकरमा युनाइटेड खर्साङ क्लबका लगातारका प्रहार रोकेका विवेक मंगलबारको खेलमा म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार पनि पाएका छन् ।
अगाडिका खेलमा बिर्तामोड झापाका न्यू स्टार तथा रेड स्टार क्लब सेमीफाइनल पुगिसकेका छन् ।

बुधवार हुने छैटौं दिन अन्तिम क्वाटर फाइनल खेल हुँदैछ ।

नेपाली फुटबल जगत्कै चर्चामा रहेको चर्च ब्वाईज युनाइटेड काठमाडांैले एम्ब्रोज क्लब मोरङको सामना गर्दै क्वार्टर फाइनल चरणको बिट मार्दै छ । 
यो खेलसँगै पाथीभरा गोल्डपको तेस्रो संस्करणका सेमीफाइनल पुग्ने चारवटै टोलीको पनि टुङ्गो लाग्ने छ । 


 

अन्तिम अपडेट: बैशाख १०, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया