व्यवसायी र यात्रुलाई थाहै नदिई खुलामञ्चको बसपार्क बन्द

 भदौ १३, २०७५ बुधबार ८:२९:२८ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – खुलामञ्चमा सारिएको पुरानो बसपार्क अहिले सुनसान छ । मंगलबार बिहानैदेखि त्यहाँबाट गाडीहरु हटाइएका छन् । दुई तीनओटा टिकट काउण्टर मात्र खुला छन् । विभिन्न ठाउँमा पुग्नको लागि गाडी खोज्दै बसपार्क पुगेका यात्रुहरु अलमलमा परेका छन् । 

मंगलबार रामेछापको मन्थली जानको लागि टिकट काट्न बसपार्क पुगेकी दिव्या केसी निराश हुनुहुन्थ्यो । एक त बिमस्टेकले गर्दा सडकमा घण्टौं जाममा फसेर बाँसबारीबाट त्यहाँ पुग्नै उहाँलाई दुई घण्टा लाग्यो । यसैमाथि बसपार्क पुग्दा गाडी नै छैनन् । उहाँले गुनासो गर्नुभयो, ‘टिकट काउण्टरमा गएर सोधेको गाडी जाने नजाने टुंगो छैन अरे । मैले फोन नम्बर छोडेकी छुँ । गाडी जाने भए फोन गर्छु भन्नुभएको छ ।’
 

काठमाडौंको पुरानो बसपार्कबाट हेलम्बु यातायात समिति,  हिमाल तराई यातायात सेवा समिति, अरनिको यातायात सेवा समितिका गाडीहरु गुड्छन्  । यहाँबाट सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा लगायत जिल्लाका विभिन्न ठाउँको लागि बसहरु छुट्ने गर्छन् । तर मंगलबारदेखि चार दिनसम्मको लागि लागि बिमस्टेक सम्मेलन र  मर्मत गर्नुपर्ने कारण देखाई महानगरपालिकाले एकाएक बसपार्क बन्द गर्दा यात्रुहरु अन्यौलमा परेका छन् ।

अरनिको यातायात सेवा समितिका कर्मचारी शिवप्रसाद पौडेलले भन्नुभयो, ‘सोमबार बिहान पाँच बजे पुरानो बसपार्कमा प्रहरी आए । त्यहाँ भएका बस व्यवसायीहरुलाई एकाउएक गाडी हटाउनु भन्दै एकछिनमै बसपार्क खाली गराए ।’

उहाँले भन्नुभयो, ‘राज्य भइसकेपछि यसरी गैरजिम्मेवार हुने त होइन नि । अब यतिका यात्रुहरुको टिकट काटेको छ । उहाँहरुलाई के भनेर सम्झाउने हामीले ? बिहानदेखि यात्रुहरुको गाली खानु परिरहेको छ । दुई दिन आगाडि नै भनेको भए हामीहरु त्यही अनुसार टिकट काट्ने थियौं नि ।’ 

यातायात व्यवसायीलाई जानकारी नै नदिइ सोमबार राती मात्र महानगरपालिकाले सूचना टाँसेको व्यवसायीहरु गुनासो गर्छन् । तर बिमस्टेकमा यातायात सहज बनाउनको लागि तीनकुनेबाट बानेश्वर हुँदै पुरानो बसपार्क भित्रिने गाडीहरुलाई कोटेश्वरबाट कलंकी, स्वयम्भू हुँदै नयाँ बसपार्कमा पार्किङ गर्ने व्यवस्था गरिएको महानगरिय ट्राफिक महाशाखाले बताएको छ । 

उपत्यकाभित्र चल्ने गाडी भने पुरानो बसपार्कमा नरोकिकनै सिधै रत्नपार्क घुमेर जानेछन् । महाशाखाका प्रवक्ता वसन्त पन्तका अनुसार काठमाडौं भित्रका प्रमुख ठाउँमा ट्राफिक चाप कम गर्न यस्तो गरिएको हो । 

बिमस्टेकमा बसपार्क खाली भएको मौकामा पुरानो बसपार्कको मर्मतको काम पनि गरिने महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

1 Comments

  • BINOD THARU

    Aug. 29, 2018, 8:40 a.m.

    के हाम्रो देशमा बिदेशी पहुना आउँदा मात्र बिकास हुन्छ ? अरु बेला किन स्थिर हुन्छ सरकार ? बिदेशी पाहुना आउँदा जसरी बिकास हुन्छ तेस्तै गरि अरु बेला बिकास भएको भए हाम्रो देश कति विकसित हुन्थेउ होला?

  •  0 Reply

तपाईको प्रतिक्रिया