हत्याको आरोपमा दुई युवा पक्राउ

 जेठ १९, २०७५ शनिबार ६:३३:३२ | कपिल कोइराला
unn.prixa.net

काभ्रे, जेठ १९ – हत्याको आरेपमा बनेपा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

बनेपा वडा नम्बर ११ बस्ने ३७ वर्षका ईश्वर थापाको हत्या गरी फरार रहेका युवकलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको हो । पक्राउ परेका युवाले आफ्नो आमालाई गरेको दुव्र्यवहार सहन नसकेर एक युवाले साथीसँग मिलेर हत्या गरेको स्वीकारेका छन् । उनीहरुले बयानमा आफ्नो आमालाई गरेको दुव्र्यबहार सहन नसकेर थापालाई कुटपिट गरी हत्या गरेको बताएका हुन् ।

जेठ १४ गते हत्या गरी फरार रहेका सिन्धुपाल्चोक हेलम्बु स्थायी घर भएका वसन्त खड्का र काभ्रे जिल्ला बनेपा वडा नम्बर–४, का राजु सिग्देललाई पहरीले पक्राउ गरेपछि खड्काले आमालाई थापाले बारम्बार मानसिक यातनाका साथै दुव्र्यवहार गरेकाले आफूहरुले उनको हत्या गरेको बयान दिएका हुन् ।

‘आमालाई गरेको दुव्र्यवहार सहन नसकी बाँस र रड प्रहार गरी भागेँ, पछि मरेको थाहा पाएपछि विराटनगर पुगे ।’, १८ वर्षका खड्काले बयानमा भने । जेठ १४ गते थापाले आफ्नै घरमा आएर आमालाई कुटपिट सुरु गरेपछि खड्काले पनि कुट्ने योजना बनाएको बताए । 

‘आफूसँग भएको आमाको नागरिकता र जग्गाको लालपूर्जा समेत थापाले लगे’, खड्काले भने, ‘बारम्बार माग्दा पनि दिएनन्, त्यसपछि एकजना साथीलाई लिएर म उनको कोठामा पुगेर नागरिकता र लालपूर्जा मागे, चुप्पी देखाएर थर्काउन खोजे अनि नजिकैको बाँस र रडले हानेको, के भयो, थाहा भएन ।’

इलाका प्रहरी कार्यालय बनेपा प्रमुख प्रहरी निरीक्षक सुनिल जंग शाहले हत्यामा संग्लन रहेकाहरुलाई मोरङ प्रहरीको सहयोगमा पक्राउ गरिएको जानकारी दिनुभयो । ‘कुटपिट गर्दा इश्वर मरेको भन्ने थाहा पाएपछि उनीहरु भागेर विराटनगर पुगेछन्, खान बस्न पैसा नभएपछि परिवारमा फोन गर्ने क्रममा नम्बर ट्रेस गरेर पक्रन सफल भयौं’, निरीक्षक शाहले भन्नुभयो, ‘इश्वरको विषयमा चौकीमा उजुरी आएको र केही समय अघि एक महिलालाई दुव्यवहार गरेको भन्ने थाहा पाएपछि थप अनुसन्धान ग¥यौ र बसन्त र उसको साथीलाई पक्रन सफल भयौं ।’

उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट कर्तव्य ज्यानको मुद्धा दार्ता गरी घटनाको थप अनुसन्धान सुरु गरेको शाहले जानकारी दिनुभयो । बसन्तका बाबु गणेशबहादुर खड्काको चार महिना अघि निधन भएको थियो ।

बसन्तका आमा मेनुका खड्कालाई घटनाका दिनमा पनि इश्वरले कुटपिट गरेका थिए । नाताले इश्वर र बसन्तको आमा मेनुका भिनाजु र साली हुन् । 
पक्राउ परेका बसन्त खड्का अहिले कक्षा ११ मा अध्ययनरत रहेको इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया