एसिया कप छनोट : यूएईविरुद्ध टस जितेर फिल्डिङ रोज्यो नेपालले

 भदौ १४, २०७५ बिहिवार ७:२६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा ओमानसँग पराजित नेपाललाई दोस्रो खेल जित्नैपर्ने अवस्था छ ।

नेपाल र यूएईबीचको खेल मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा हुँदैछ । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल यो खेलमा बढी दबाबमा छ ।

समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न र प्रतियोगिता जितेर भारत, पाकिस्तानको सिनियर टोलीसँग खेल्ने सपना पूरा गर्नका लागि नेपालले आजको खेल जित्नैपर्छ ।

हिजोको खेलमा नेपालको बलिङ प्रदर्शन सन्तोषजनक रहेन । नेपालको बलियो पक्ष मानिएको बलिङ नै लडखडाएपछि नेपालले सुरुआती हार व्यहोर्नुपरेको हो । आजको खेलमा ब्याटिङ र बलिङको सन्तुलन मिलाउनु आवश्यक छ ।

युएई नेपालका लागि चिर परिचित प्रतिद्वन्द्वी हो । २० वर्षयता नेपाल र युएई १४ पटक आमने सामने भएकोमा १० पटक नेपाल पराजित भएको छ । ३ खेलमा विजयी हुँदा एक खेल बराबर भएको थियो । सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र युएई पहिलो पटक खेलेका हुन्, जहाँ नेपालले ९४ रनको पराजय ब्यहोरेको थियो ।

युएईसँगको सातौं भेटमा मात्र नेपालले जित निकाल्न सकेको थियो । सन् २०१२ को एसीसी एलिट ट्रफीको समूह चरणमा नेपालले यूएईलाई ४ विकेटले हराएको थियो भने फाइनल खेल रोमाञ्चक बराबरीमा सकिएको थियो ।

नेपाल र युएई पछिल्लो पटक सन् २०१८ को डिभिजन टू मा खेलेका थिए । जहाँ समूह चरणमा नेपालले ४ विकेटको जित निकालेको थियो भने फाइनलमा ७ रनले पराजित भएको थियो । त्यसअघि विश्व क्रिकेट लिग च्याम्पियसिपको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

अन्तिम अपडेट: भदौ १४, २०७५

तपाईको प्रतिक्रिया