युट्यूबलाई टक्कर दिन फेसबुकको ‘वाच सर्भिस’

 भदौ १५, २०७५ शुक्रबार ९:२८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फेसबुकले आफ्नो छुट्टै भिडियो स्ट्रिमिङ्ग सर्भिस सार्वजनिक गर्ने भएको छ । यो सेवा अमेरिकी प्रयोगकर्ताका लागि एक वर्षदेखि उपलब्ध हुँदै आएको छ ।

फेसबुकको यो नयाँ सेवामा प्रयोगकर्ताले आफूलाई मनपर्ने शो छनोट गर्न सक्छन् । जसमा चर्चित ब्राण्डदेखि नयाँ खेलाडिसम्मको शो देख्न सकिनेछ । यसका साथै न्यूज फिडमा सेभ गरिएका स–साना भिडियोहरु पनि हेर्न सकिन्छ ।

धेरै पटक हेरिएको अथवा धेरै भ्युज भएको भिडियोमा युट्युबमा जस्तै विज्ञापन पनि देखिनेछ । यो सेवा सुरुमा अमेरिका, बेलायत, आयरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डमा उपलब्ध हुनेछ । भिडियोबाट हुने फाइदा भिडियो अपलोड गर्ने प्रयोगकर्ता र फेसबुकले बाँड्नेछन् । भिडियो निर्मातालाई ५५ प्रतिशत र फेसबुकलाई ४५ प्रतिशत पैसा मिल्नेछ ।

फेसबुकले गएको बुधबार यो सेवा सुरु गर्ने बताएको थियो तर यसबारे जानकारी बाहिर आएपछि निर्धारित समयमा सेवा सुरु भएन । यस कारण केही प्रयोगकर्ताले उक्त पेज देख्न पाएनन् । 

फेसबुकको यो ‘वाच सर्भिस’ सेवालाई युट्युबको प्रतिद्वन्दी मानिएको छ । फेसबुकको यो सर्भिसले युट्युब मात्र नभएर टीभी च्यानल तथा नेटफ्लिक्स, अमेजन भिडियो, बीबीसी आइप्लेयर तथा फेसबुकको आफ्नै इन्स्टाग्राम टिभी जस्ता अनलाइन आउटलेटहरुलाई पनि चुनौति दिनसक्ने अनुमान गरिएको छ ।

एक रिपोर्टका अनुसार अमेरिकामा परीक्षणमा रहेको फेसबुकको ‘वाच सर्भिस’लाई प्रयोगकर्ताले निकै मन पराएका छन् । डिफ्युजन समूहरुले १६ सय ३२ युवा फेसबुक प्रयोगकर्तामाझ गरेको सर्वेक्षणमा ५० प्रतिशतले फेसबुकको वाच सर्भिसका बारेमा थाहा नभएको जानकारी दिएका थिए । २४ प्रतिशतले यस विषयमा थाहा भए पनि प्रयोग नगरेको जानकारी दिए भने १४ प्रतिशतले हप्तादिनमा एकपटक प्रयोग गर्ने गरेको बताएका थिए ।

त्यसैगरी अर्को रिपोर्टका अनुसार फेसबुक वाचका शो लाखौँ दर्शकले हेर्ने गरेका छन् । प्रयोगकर्ताले कुनै कुनै शोहरु धेरैपटक पनि हेर्ने गरेका छन् ।

फेसबुकको यो विशेष कार्यक्रम तयार गर्न ठूला कलाकार तथा सेलिब्रेटीहरुले पनि काम गरिरहेका छन् । जसमा,
–जेडा पिंकेट स्मिथ, उनले टक शो ‘रेड टेबल टक’ उत्पादनमा काम गरिरहेका छन् ।
–एलिजावेथ ओल्सेन, उनी ‘सरी फर योर लस’ मा देखा पर्नेछिन् । यो नाटकको अर्को महिना प्रिमियर गरिनेछ । 
–बेयर ग्रिल्स, बेलायती साहसिक यात्री ‘फेस द वाइल्ड’ नामक रियालिटी शोमा आउनेछिन् ।

फेसबुकको यो भिडियो सर्भिसका लागि एबीसी, फक्स न्यूज, वाइस तथा बजफिडलगायतले कार्यक्रम बनाएका छन् । फेसबुकका अनुसार यो सर्भिसले मानिसहरुलाई अन्तरक्र्रिया गर्नमा सहयोग गर्नेछ ।
फेसबुकको वाच सर्भिसका लागि भिडियो सामाग्री तयार गर्न निम्नखित योग्यता आवश्यक छ । 

– भिडियो ३ मिनेट भन्दा लामो हुनुपर्दछ । 
– दुई महिना भित्रमा उक्त भिडियोलाई कम्तीमा ३० हजार मानिसले एक मिनेट हेरेको हुनुपर्दछ ।
– १० हजार भन्दा धेरै फलोअर्स हुनुपर्छ 
– कार्यालय एड ब्रेकवाला सुविधा उपलब्ध भएको देशमा हुनुपर्दछ ।

विश्लेषकहरुका अनुसार यी शर्तहरु स्वतन्त्र भिडियो निर्माताहरुका लागि फाइदाजनक हुनेछन् । युट्युब आफैँले आफ्नो विज्ञापन कार्यक्रम चलाउनेलगायतका युट्युबका नितीहरुका कारण पनि भिडियो निर्माताहरुले समस्या झेल्ने गरेका छन् । त्यस्ता मानिसहरुका लागि फेसबुकको वाच सर्भिस राम्रो विकल्प हुनसक्ने बताइएको छ ।

फ्रान्स, जर्मनी, नर्वे, मेक्सिको तथा थाइल्याण्डलगायतका देशका निर्माताका लागि सेप्टेम्बर महिनादेखि एड ब्रेक सुविधा उपलब्ध हुने फेसबुकले जनाएको छ ।

बीबीसी हिन्दीबाट 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया