बालुवाले पर्खाल लगाउने ठेकेदार पक्राउ

 जेठ १९, २०७५ शनिबार १५:३४:४८ | सुमन तिमल्सिना

मोरङ – ठेक्का लिएर समयमा काम नगर्ने तथा निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार विराटनगर महानगरपालिकाका मेयरसहितको अनुगमन टोलीले विकासको काममा अनियमितता भएको पाएपछि ३ जनालाई पक्राउ गरिएको हो । विराटनगरको व्यस्त मानिने महेन्द्र चोकमा पक्की नाला बनाउने क्रममा गुणस्तरहीन काम भैरहेकोमा मेयर पराजुलीले भेट्नु भएको थियो । 

मेयरका प्रेस संयोजक कौशल निरौलाका अनुसार मेयर पराजुलीले त्यहाँको अवस्थाको बारेमा जानकारी लिनु भएको थियो । निर्माणको विषयमा कडाई गर्दा उल्टै मेयरमाथि नै थर्काउन थालेपछि उनीहरुलाई कारबाही प्रक्रिया अघि बढाइएको हो । पक्राउ पर्नेमा टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट मेनेजर रवि पन्तसहित सुपरभाइजर विनय साह र अर्का एक जनालाई प्रहरीले तत्काल  नियन्त्रणमा लिएको हो ।

अनुगमन टोलीले सिमेन्ट नै नमिसाई बालुवाले मात्र इँटा जोडिरहेको फेला पारेको थियो । त्यसको केही बेरमा नै उनीहरुलाई काम भइरहेको ठाउँबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङ लगिएको छ । साइटका ठेकेदार कृष्ण बोहोरा भने पक्राउ परको छैनन् । महानगरले टुण्डिरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरा, कम्पनीका मेनेजर रवि पन्त, सुपरभाइजरद्वय संजय रजक, विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई कारबाहीको सिफारिस गरेको छ । पत्रको बोद्दार्थ व्यपारिक मार्ग विस्तार आयोजना सिक्स लेन सडक विभाग इटहरी सुनसरीलाई समेत पठाइएको छ ।

महानगरका प्रमुख पराजुलीले विकासको काममा चरम लापरबाही गरेको पाइएपछि प्रशासनिक कारबाहीको सिफारिस गरिएको बाउनुभयो । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत महेन्द्र चोकदेखि वरगाछीको भागमा गुणस्तरहिन काम भएको र काममा ढिलाई भएको कारण कारबाहीको सिफारिस गरिएको उहाँको भनाई छ । 

कमसल सामान र गुणस्तरहीन काम गर्ने जो कोहीलाई नछाड्ने महानगरले जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया