५२ वर्षपछि पत्ता लागे विश्वकप ट्रफीका चोर

 जेठ १९, २०७५ शनिबार १७:१४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

बेलायतबाट सन  १९६६ मा हराएको विश्वकप ट्रफी चोर्ने गिरोह पत्ता लागेको छ । जुल्स रिमे ट्रफीको नामले पनि चिनिने विश्वकपको ट्रफी इंग्ल्याण्डमा विश्वकप सुरु हुनुभन्दा १ महिना अगाडि हराएको थियो ।

ट्रफी चोर ५२ बर्षपछि पत्ता लागेको हो । रमाइलो कुरा चाहिँ के छ भने ट्रफी चोर्ने दुवैजनाको मृत्यु भइसकेको छ ।

लण्डनका हुल्याहा सिड्नी क्युगुलेरले आफ्ना भाइ रेगको सहायतामा वेष्टमिन्स्टरको मेथडिस्ट सेण्ट्रल हलमा प्रदर्शनीमा राखेको बेला ट्रफी चोरेका थिए ।

यो पोल रेगका छोरा ग्यारीले स्थानीय पत्रिका द डेली मिररमार्फत खोलेका हुन् । त्यसबेला सिड्नी ४० बर्षका थिए । 

उनीहरुले पैसाका लागि नभई रमाइलोका लागि ट्रफी चोरेको ग्यारीले बताएका छन् । ‘ट्रफी पैसाको लागि नभई रमाइलोका लागि चोरिएको थियो’, उनले भने, ‘र यो काम सजिलो पनि थियो ।’

उनीहरुले ट्रफी चोरेको उनीहरुका केही नजिकका नातेदारले थाहा पाएपनि कसैले पोख खोलेनन् । त्यसैकारण यी हुल्याहा दाजुभाई बाँचुञ्जेल पक्राउ परेनन् । 

सिड्नीले आफ्ना साथी टेड बेच्लीको सहायतामा ट्रफी फिर्ता गर्दा १५ हजार पाउण्ड फिरौति माग्ने योजना बनाएका थिए । तर बेच्ली पक्राउ परे र उनीहरुको योजना सफल हुन सकेन ।

साथी पक्राउ परेपनि सिड्नी भने पक्राउ परेनन् र विश्वमा तहल्का मच्चाउने विश्वकप ट्रफी चोर आजीवन पर्दा पछाडि नै रहन सफल भए । उनीहरुले त्यो ट्रफी झाडीमा लुकाएका थिए ।

ट्रफीलाई पिकल्स नामको कुकुरले ट्रफी पत्ता लगायो । सिड्नी सन् २००५ मा र रेग २०१२ मा मृत्यु भइसकेको छ । एजेन्सी
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया