मुख्यमन्त्रीले सल्लाहकार राख्न पाउने, सांसदको उपचार खर्च सरकारले व्यहोर्ने

 भदौ १७, २०७५ आइतबार १६:४८:५५ | निर्मला खडायत
unn.prixa.net

कैलाली – प्रदेश सातका मुख्यमन्त्रीले आवश्यक परेमा सल्लाहकार राख्न पाउने भएका छन् । 

दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाइएको मुख्यमन्त्री तथा मन्त्रीहरुले पाउने तलब, सुविधासम्बन्धी विधेयकमा मुख्यमन्त्रीले आवश्यक परेको खण्डमा सल्लाहकार राख्न पाउने व्यवस्था गरिएको बताइएको छ । यसअघि उक्त व्यवस्था राखिएको थिएन ।
 
दफावार छलफलपछि अर्थ विकास तथा प्राकृतिक स्रोत समिति उक्त विधेयकलाई तयार गरी पास गरिसकेको छ र प्रदेशसभा सचिवालयलाई पनि बुझाइएको छ । केही दिनमै संसदमा पेस गरिने विधेयक पास भएपछि मुख्यमन्त्रीले सल्लाहकार राख्न पाउनेछन् ।

तलब यथावत

अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले मुख्यमन्त्री तथा मन्त्रीको सेवा सुविधामा भने कुनै फेरबदल गरेको छैन । मन्त्रिपरिषदबाट तोकिएको सेवा सुविधालाई नै समितिले पारित गरेको समितिका सदस्यले महेशदत्त जोशीले बताउनुभयो ।

विधेयकमा मुख्यमन्त्रीले मासिक तलब ६० हजार ९ सय ७० र मन्त्रीले ५४ हजार रुपैयाँ पाउने उल्लेख गरिएको छ ।
 
यस्तै राज्यमन्त्रीले ५१ हजार र सहायक मन्त्रीले ४९ हजार रुपैया तलब पाउने व्यवस्था गरिएको छ । प्रदेश सरकारको सात सदस्यीय मन्त्रीमण्डलमा भने राज्यमन्त्री र सहायक मन्त्री छैनन् ।
 
यसबाहेक मुख्यमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले सञ्चार सुविधाबापत मासिक २ हजार रुपैयाँ पाउने व्यवस्था विधेयकमा व्यवस्था गरिएको छ ।
 
यस्तै अतिथि सत्कार शीर्षकमा मुख्यमन्त्रीले मासिक ९ हजार र मन्त्रीले ७ हजार पाउने छन् । मुख्यमन्त्रीलाई प्रदेश सरकारले नै आवास उपलब्ध गराउने छ । मन्त्रीले सरकारी आवास नलिएमा आवासबापत मासिक २५ हजार रुपैयाँ पाउने प्रस्ताव गरिएको छ ।
 
सरकारले बन्दोबस्त नगरेमा फर्निचरबापत मन्त्रीले वार्षिक रुपमा एकमुष्ट २५ हजार बुझ्नेछन् । अहिले आवास खर्चबापत मन्त्रीले मासिक १२ हजार बुझ्ने गरेका छन् ।
 
यस्तै फर्निचर खर्चबापत वार्षिक एकमुष्ट १५ हजार दिने सरकारले निर्णय गरेको थियो । मुख्यमन्त्रीले २ वटा र मन्त्रीले १-१ वटा सवारी साधन पाउने र त्यसमा आवश्यक इन्धन र मोबिल सरकारले उपलब्ध गराउने प्रस्ताव विधेयकमा गरिएको छ ।
 
मुख्यमन्त्री र मन्त्रीले दैनिक भ्रमण भत्ता २ हजार ५ सय र विदेश भ्रमण जाँदा प्रतिदिन २ सय २५ डलर पाउने प्रस्ताव विधेयकमा छ । धारा र बिजुलीको बिल प्रदेश सरकारले तिरिदिने छ । विधेयकमा मुख्यमन्त्रीले एउटा गाडी र मासिक १५० लिटर इन्धन तथा मन्त्रीले १२५ लिटर इन्धन पाउने विधेयकमा उल्लेख गरिएको छ ।
 
विधयक संसदबाट पारित भएपछि कानूनको रुपमा लागू हुनेछ ।

सांसदको उपचार सरकारले गर्ने

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक पनि करिब दुई महिनापछि पारित भएको छ ।
 
अर्थ विकास तथा प्राकृतिक स्रोत समिति दुई महिनापछि पारित गरेको विधेयकलाई अव बस्ने प्रदेश सभा बैठकमा पेस गर्ने तयारी छ ।
 
नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रमका विषयमा प्रदेशसभाका सदस्यले असन्तुष्टि जनाएपछि प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ अड्किएर बसेको थियो ।
 
केन्द्र सरकारले मर्यादाक्रम सच्याउने आश्वासन दिएपछि विधेयक समितिबाट पास भएको हो । प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकमा प्रदेशसभा सदस्यको उपचार खर्च सरकारले व्यहोर्ने उल्लेख गरिएको छ ।
 
तर, त्यसका लागि स्वदेशमै उपचार गराउनुपर्ने पनि विधेयकमा उल्लेख गरिएको समितिले जनाएको छ ।
 
प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक पनि प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रस्ताव गरी पठाइए अनुसार नै तयार पारिएको छ ।
 
जस अनुसार उक्त विधेयक संसदबाट पारित भएपछि सभामुखले मासिक पारिश्रमिक ५५ हजार, विपक्षी दलका नेता र उपसभामुखले ५१-५१ हजार, सत्तापक्षको प्रमुख सचेतकले ४९ हजार ५ सय, सत्ता पक्षको सचेतक र विपक्षी दलको सचेतकले ४९ हजार र प्रदेशसभा सदस्यले ४८ हजार पारिश्रमिक पाउने छन ।
 
यसबाहेक पदाधिकारी तथा सदस्यको प्रतिदिनको बैठक भत्ता, आवास सुविधा, फर्निचर खर्च, प्रदेशसभा सदस्य र सत्ता पक्षको सचेतक र विपक्षी दलको सचेतकबाहेक सबैलाई एकएक वटा गाडी, मासिकरुपमा इन्धन सुविधा दिईने छ ।
 
पदाधिकारी तथा सदस्यलाई सञ्चार सुविधा, दैनिक भ्रमण भत्ता,  विदेश भ्रमण भत्ता, लगायतका सेवा सुविधा पाउने व्यवस्था समेत गरिएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Hum Raj Bhusal

    Sept. 3, 2018, 11:34 a.m.

    जनताको अाम्दानी छैन सिटामोल किन्न नसकेर मरिरहेका छन् , महिनामा 60 हजार पाउनेले उपचार अाफ्नै खर्चमा गर्नुपर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया