५४ लाखसहित पाँच जना हुण्डी कारोवारी पक्राउ

 भदौ १८, २०७५ सोमबार ११:४:४२ | रासस
unn.prixa.net

पर्सा – नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई साेमबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे ५४ लाख ९६ हजार रुपैयाँ र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई सार्वजनिक गरेको हो । 

वीरगञ्जको घडिअर्वा र माइस्थान चोकमा हुण्डी कारोवार भएको सूचनाका आधारमा कारवाही गर्दा स्रोत खुलाउन नसकेको भारी परिमाणमा नेपाली रुपैयाँ बरामद भएपछि आवश्यक अनुसन्धानका लागि दुई जना भारतीय र तीन जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । 

उहाँले अवैध कारोवारमा संलग्न भएको अभियोगमा पर्साको बिन्दवासनी गाउँपालिका–५ निवासी पवनकुमार गुप्ता, वीरगञ्ज–६ निवासी अजय मानन्धर, बारा सिम्रौनगढ नगरपालिका–१ निवासी अजयकुमार जैशवाल, भारत विहार रक्सौल निवासी अशोक श्रीवास्तव र भारत विहार रामगढवा निवासी सावीर मियाँलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताउनुभयो । 

पक्राउ परेका मध्ये पवनकुमार गुप्ता र अजयकुमार जैसवाल अवैध मुद्राको मुख्य कारोवारी भएको अनुसन्धानबाट खुलेको नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । 

उहाँले आइतबार अपराह्न्न प्रहरीले गरेको छापामारीका क्रममा ८ जना व्यक्तिलाई नियन्त्रणमा लिएको मध्ये तीनको संलग्नता कारोवारमा नदेखिएपछि उनलाई छाडिएको बताउनुभयो । 

बरामद गरिएको रुपैयाँ र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि आजै राजश्व अनुसन्धान विभाग हरिहर भवन काठमाडौँ पठाउने तयारी भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया