त्रिपुरेश्वर – नागढुंगा सडकमा दसैंपछि पिच सुरु हुने

 भदौ १८, २०७५ सोमबार १२:९:१० | बेदानन्द जाेशी
unn.prixa.net

त्रिपुरेश्वर – नागढुंगा सडक बनिसक्न अझै केही महिना लाग्ने भएको छ । १२ किलोमिटरको यो सडक यही आर्थिक वर्ष भित्र पिच गरिसक्ने काठमाडौं सडक विस्तार आयोजनाका प्रमुख दीपक केसीले बताउनुभयो । 

तीन वर्षअघि २०७२ साल असारमा सुरु गरेर ३० महिनाभित्र सम्पन्न गर्ने भनिएको भए पनि काम समयमै सम्पन्न गर्न सकिएको थिएन । केसीले भन्नुभयो, ‘सडक विस्तार सम्बन्धमा सर्वाेच्च अदालतको निर्णय, नागरिकले भोग्नु परेको सास्तीलगायतका कारण देखाई साउन १० गते बसेको मन्त्रिपरिषद बैठकले अहिलेको अवस्थामा नै सडक कालोपत्रे गर्ने निर्णय गरेको छ ।’

अहिले फुटपाथसहित त्रिपुरेश्वरदेखि नागढुंगासम्मको सडक १६ मिटर चौडाइको छ । विस्तार गरेपछि फुटपाथ सहित २२ मिटर फराकिलो हुने थियो । तर सडक विस्तार गर्नमा विभिन्न अवरोध सिर्जना हुँदा सबै ठाउँमा निर्माण गर्न सकिएको छैन । 

वि.सं. ०२१ सालमै पारित भएको मापदण्ड अनुसार यो सडक ५० मिटर फराकिलो बनाउन सकिन्थ्यो । योजनाको नक्सा अनुरुप यो सडक विस्तारको लागि त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टर, अर्किड होटल, एभिन्यूज टेलिभिजनको भवनलगायत सडकका दुबै किनाराका करिब ५ सय भवन भत्काउनुपर्छ । किनाराका घरहरु भत्काउँदा घरधनीले नियम बमोजिमको क्षतिपूर्ति पाए पनि मापदण्ड विपरीत सडक मिचेर घर बनाएका कारण जग्गाको मुआब्जा भने पाउँदैनन् । 

जग्गाको मुआब्जा नपाउने भएपछि स्थानीयबासिन्दाले अदालतमा रिट दाएर गरे । सर्वोच्चले घर नभत्काउन अन्तरिम आदेश दिएपछि यथास्थितिमै सडक पिच गरेर धुलो धुवाँ कम गर्ने तथा सवारी आवागमन खुकुलो गर्नसम्मको काम भइरहेको आयोजनाका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

अहिले वर्षाका कारण पिचको काम हुन नसक्ने र दसैँलगत्तै नयाँ आर्थिक वर्षभित्र सक्ने गरेर पिचको काम गर्ने श्रेष्ठले बताउनुभयो । 

सडकको बीचमा तीनकुनेदेखि माइतिघर सडकको जस्तो बोटबिरुवा रोप्ने भनेपनि सडक साँघुरो भएका कारण त्यस्तो गर्न नसकिने आयोजनाले बताएको छ । अब गरिने पिचमा त्रिपुरेश्वरदेखि कलंकीसम्म सामान्य पिच मात्रै गर्ने र कलंकीदेखि नागढुंगासम्म बीचका चौडा भागमा मात्र त्यस्तो बोटबिरुवा रोप्नको लागि २ फिट जति छोडिने छ ।

जम्मा १२ किलोमिटर लम्बाईको यो सडक खण्ड विस्तार गर्नका लागि काम थालिएको अहिले ३ वर्ष पुगिसकेको छ । २०७२ साल असार ३१ गतेदेखि काम थालिएको यो आयोजनाको प्रगति गएको साउनसम्म जम्मा ४५ प्रतिशत मात्र छ । 

यो सडक निर्माणको लागि चार खण्डमा एक अर्ब ५२ करोड रुपैयाँको ठेक्का दिइएको थियो । जसअन्तर्गत त्रिपुरेश्वर –कलंकी खण्ड बज्रगुरु विरुवा सीएम जेभीले र कलंकी –सतुंगल खण्ड शर्मा शैलुङ कान्छाराम जेभीले पाएको छ । यस्तै सतुंगत –त्रिभुवन पार्कसम्मकोे खण्ड लुम्विनी शैलुङ जेभीले र त्रिभुवन पार्क –नागढुंगा खण्ड बज्रगुरु च्याम्लिङ जेभीले पाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया