तोकिएको समयभन्दा १८ महिनाअघि नै पुल निर्माण

 भदौ १८, २०७५ सोमवार १५:२६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – पूर्व–पश्चिम राजमार्ग अन्तरगत महोत्तरी र धनुषाको सीमा क्षेत्रको रातु नदीमा तोकिएको भन्दा १८ महिना पहिले नै पुल निर्माण सम्पन्न भएको छ । 

रसुवा कन्स्ट्रक्सन कम्पनीले सम्झौता भन्दा १८ महिना पहिले नै पुल निर्माणको काम सम्पन्न गरेको हो । २०७३ असार २९ मा सम्झौतापत्रमा २०७६ सालको पुसमा पुल निर्माणको काम सम्पन्न गर्ने उल्लेख भए पनि रसुवा कन्सट्रक्सन ले १८ महिना पहिले नै पुलको काम सकेको छ । 

२ सय ५० मिटर लम्बाइ र १० दशमलब ९० मिटर चौडाइको यो पुलमा अबको केही समयमै गाडी गुडाउने तयारी छ ।  

‘पूर्व–पश्चिम राजमार्ग र राजधानी काठमाडौंसँग जोड्ने यो पुल लाइफलाइन नै हो’ निर्माण कम्पनीका अघ्यक्ष  इञ्जिनियर राजेन्द्रराज आचार्यले सञ्चारकर्मी भन्नुभयो, ‘हामीले रातदिन मिहिनेत गर्याैँ। त्यसैले निर्धारित समय भन्दा १८ महिना अघि नै पुल निर्माणको कार्य सकिएको छ अब छिट्टै पुल सञ्चालनमा आउने छ ।’

पूर्व–पश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खम्बा भासिएपछि आवतजावतमा कठिनाई भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया बढाएको थियो । यो पुल २४ करोड ६० लाख रुपैयाँ बोलकबोल अनुसार निर्माण सम्पन्न भएको हो ।

आइगर्डर प्रिस्टेस डिजाइनबाट ६ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ । यसमा १० टन भार क्षमताका २ वटा गाडी एकसाथ आवतजावत गर्न सक्छन् ।
 

अन्तिम अपडेट: भदौ १८, २०७५

तपाईको प्रतिक्रिया