इलाममा अबैध रुपमा चलाईएका सात गाडी नियन्त्रणमा

 जेठ १९, २०७५ शनिबार २०:४७:४९ | उज्यालो सहकर्मी

इलाम – इलाममा शनिबार अबैध रुपमा चलाइएका पाँचवटा गाडी र दुइवटा एक्स्क्याभेटरलाई नियन्त्रणमा लिइएको छ ।

माङ्गसेबुङ्ग गाउँपालिकामा रहेको दमक–रवि चल्ने कच्ची सडक खण्डमा यात्रुलाई छतमा  राखेर लैजाँदै गरेका पाँचवटा गाडीलाई नियन्त्रणमा लिइएको हो । 
त्यस्तै दुईवटा एक्स्क्याभेटरलाई अबैध रुपमा बालुवा निकालिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

माङ्गसेबुङ गाउँपालिकाको रतुवा खोलाबाट बालुवा निकालिरहेका बेला प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना तथा प्रहरी सहितको टोलीले एक्स्क्याभेटरलाई नियन्त्रणमा लिएको हो । 

गाउँपालिकाका वडा नं –५ मा पर्ने दमक–रवि सडकका लागि भन्दै बालुवा निकालिरहेको अवस्थामा एक्स्क्याभेटरलाई नियन्त्रणमा लिई साँचो लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख उपरीक्षक माधव प्रसाद श्रेष्ठले बताउनु भयो । 

खोलाबाट अनाधिकृत रूपमा बालुवा निकालिरहेको भेटिएकाले एक्स्क्याभेटरको साँचो र अन्य पाँचवटा गाडीको भने चार थान लाईसेन्स सहित एक थान ब्लू–बुक नियन्त्रणमा लिएको उपरीक्षक श्रेष्ठको भनाई छ । 

कानूनी प्रक्रिया पूरा नगरी खोलाबाट एक्स्काभेटर प्रयोग गरी बालुवा निकाल्नु अबैध मानिन्छ । 
प्राकृतिक स्रोत–साधनको करको जिम्मा स्थानीय तहलाई भएकाले स्थानीय तहलाई नै आवश्यक कारवाहीका लागि अनुरोध गर्दै जिल्ला समन्वय समितिलाई पत्र पठाई सकिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । 

माङ्सेबुङ गाउँपालिकामा आयोजित एउटा कार्यक्रम सकेर विराटनगरतर्फ जाँदै गरेको अवस्थामा प्रजिअ तिम्सिना सहितको टोलीले ती गाडीहरुलाई भेटेको थियो । 

बालुवा निकाल्ने एक्स्काभेटर झापाका निर्माण व्यवसायीहरुको हुनसक्ने अनुमान प्रशासनले गरेको छ । जिल्लाको दक्षिणी भेग झापासँग जोडिएकाले सो चुरे क्षेत्रका खोलाको गिट्टी–बालुवा निकासी बर्सेनि विवादित बन्ने गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया