आममाफीको एक महिनामा युएईबाट ६ सय नेपाली घर फर्किए

घरको पिरलोले वैधानिक भएर काम गर्न चाहन्छन् नेपाली महिला कामदार

 भदौ १८, २०७५ सोमबार १८:२८:११ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई – यहाँको सरकारले एक महिना अघि खुल्ला गरेको आममाफी प्रक्रियामा एक हजार नेपाली सहभागी भएका छन् । साउन १६ गतेदेखि सुरु भएको आममाफीमा उनीहरुले सहभागिता जनाएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । 

विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई युएईले तीन महिना आममाफीको समय दिएको छ । आममाफी प्रक्रिया सहभागी भएका सबैजना नेपाल फर्किएका भने छैनन् । 

अघिल्लो हप्तासम्म ६ सय नेपालीले युएई छोडेका छन् । बाँकीको प्रक्रिया अगाडि बढेपछि मात्रै नेपाल फर्कनेको तथ्याङ्क सार्वजनिक गरिने युएईको अध्यागमनले जनाएको छ । अवैधानिक रुपमा बसिरहेका नेपाली आममाफीको अवसरलाई सदुपयोग गर्दै भिसा लगाएर वैधानिक बन्ने प्रयासमा देखिन्छन् ।

आममाफी प्रक्रियामा धेरैजसो नेपाली महिला कामदार सहभागी भएका छन् । उनीहरुमध्ये अधिकांश घरेलु महिला कामदार भएको पाइएको छ । आइतबार मात्रै दूतावासमा पाँच जना नेपाली महिलाले आममाफी प्रक्रियामा सहभागी हुन राहदानी बनाउन आवेदन दिएका छन् । 

आममाफी प्रक्रियामा सहभागी हुन अहिलेसम्म ८६ जनाले पासपोर्ट बनाउन दूतावासमा आवेदन दिएका छन् । कम्पनीबाट भागेर अवैधानिक भएका ३ सय ९२ जनाको पासपोर्ट यहाँको अध्यागमनले दूतावासलाई उपलब्ध गराएको थियो । त्यसमध्ये ३९ जनाले दूतावासबाट राहदानी लिएर आममाफी प्रक्रियामा सहभागी भएको सूचना अधिकारी तथा द्वितीय सचिव बिष्णु अधिकारीले जानकारी दिनुभयो ।  

आममाफीको सदुपयोग गर्दै नेपाल फर्कन चाहने ५६ जनाले यात्रा अनुमतिपत्र लिएका छन् । युएईको दुवई, सारजाह, अबुधाबीको सहामा, रुविस र अलऐनमा युएईले आममाफी सेन्टर स्थापना गरेर काम गरिरहेको छ । त्यही सेन्टरमा नेपाली दूतावास आबुधाबीले पनि घुम्ती सेवा मार्फत यात्रा अनुमति दिइरहेको कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले बताउनुभयो । 

वैधानिक बन्ने प्रयासमा घरेलु महिला कामदार 

सुनसरीको धरानकी अनिता राई युएई आएको १३ वर्ष भयो । एक क्लिनिङ कम्पनीमा काम गर्न उहाँ युएई आउनुभएको थियो । सुरुका ३ वर्ष उहाँले त्यही क्लिनिङ कम्पनीमा काम गर्नुभयो । 

सात सय दिर्हाम तलबबाट खर्च कटाउँदा चार सय मात्रै बच्थ्यो । घरमा दुई छोरा र एक छोरी । श्रीमान् रोगले थलिएका थिए । कमाइ भएन नेपाल फर्किन्छु भनेर पनि समस्या थियो । त्यसैले भिसा अवधि सक्नुभन्दा केही दिन अघि उहाँ कम्पनी छोडेर भाग्नुभयो । 

कम्पनी छोडेर केही समय उहाँ साथीभाइको भरमा बस्नुभयो । पछि १३ सय दिर्हाम हुने काम पाउनुभयो । घरेलु काम थियो । अवैधानिक भएकाले भनेको बेला घरबाट बाहिर निस्कन अनितालाई समस्या थियो । 

त्यही बेला रोगले थलिएका उहाँको श्रीमानको ज्यान गयो । श्रीमानको मृत्यु हुँदा उहाँ नेपाल फर्कन पाउनु भएन । श्रीमानको मृत्यु भएको २ वर्षपछि जेठी छोरीको विवाह भयो । छोरीको बिहेमा पनि उहाँ नेपाल फर्कन पाउनु भएन । 

अहिले नातिनातिना भए, तर तिनीहरुको अनुहार अनिताले देख्न पाउनु भएको छैन । कान्छो छोरोले घर धान्दै छ । तर यता अनितालाई भने अझै २ वर्ष युएईमै काम गर्ने मन छ । 

युएईमा वैधानिक बनेर काम गर्ने र कमाएको पैसाले कान्छो छोरोको बिहे गरिदिने सपना अनिताले सजाउनु भएको छ । त्यसैका लागि पासपोर्ट बनाएर ६ महिना भित्र वैधानिक बन्ने प्रयासमा उहाँ लाग्नुभएको छ । उहाले आइतबार मात्रै दूतावासमा आएर पासपोर्टका लागि आवेदन दिनुभएको छ । 

अनिता जस्तै कास्कीको मिजुरेकी ३७ वर्षिया प्रमिला नेपाली डेढ महिना अगाडि युएई आउनुभएको हो । ४ वर्ष कुवेत र २ वर्ष जोर्डन काम गरेर उहाँ नेपाल फर्किनुभएको थियो । रोगले थलिएका श्रीमानको मृत्यु भएपछि पैसा कमाउन विदेशिनु उहाँको बाध्यता बन्यो । 

एजेन्टको भरमा घरको काममा उहाँ विदेशिनु भयो । उहाँको जेठो छोरो पनि युएईमै भएकाले दलालले जे भने पनि दुवई पुगेपछि छोरोसँग मिलेर कमाउने सपना सहित उहाँ विमानस्थल पुग्नुभयो । दलालले उहाँलाई घरको काम भनेर भिजिट भिसामा सेटिङ मिलाएर युएई पठाएको रहेछ । 

यता काम खोज्दै गर्दा पासपोर्ट हराएपछि प्रमिला थप समस्यामा पर्नुभयो । १० दिन अघि उद्धार गरेर नेपाल पठाइदिन आग्रह गर्दै उहाँ दूतावासको सेल्टरमा पुग्नुभएको छ ।

एनआरएनको मध्यपूर्व सम्मेलनमा सहभागी हुन युएई आएका बेला खानेपानी मन्त्री बिना मगरले सेल्टरको अवलोकन गर्दा उहाँले युएईमै काम गर्न चाहेको बताउनुभएको थियो । त्यसका लागि पासपोर्ट बनाउन आइतबार प्रमिलाले आवेदन दिनुभएको छ । उहाँहरु जस्तै अवैधानिक भएर बसिरहेकाले अहिले वैधानिक बनेर काम गर्न खोजिरहेका छन् । 

अन्य देशका भन्दा नेपाली अवैधानिक कामदारको संख्या थोरै 

युएईमा अवैधानिक हिसावले बसेका विदेशी कामदारमध्ये नेपाली कामदारको संख्या थोरै पाइएको छ । दिनहुँ ५० जनाले आममाफीबारे चासो राखेका छन्। त्यसैले ३ देखी ५ हजार नेपाली कामदार अवैधानिक भएको हुन सक्ने नेपाली दूतावासको अनुमान छ ।

यहाँको अध्यागमनका अनुसार सबैभन्दा धेरै बङलादेशी नागरिक अवैधानिक रुपमा बसिरहेका छन् । त्यस्तै फिलिपिन्स, भारत, पाकिस्तान, श्रीलंका तथा अफ्रिकन मुलुकका कामदार अवैधानिक पाइएको अध्यागमनले जनाएको छ । 

नेपाली अवैधानिक कामदारको चाप बढे दूतावासले कार्यालय समय बढाएर वा घुम्ती सेवा मार्फत भए पनि आममाफी प्रक्रियामा सहजिकरण गर्ने जनाएको छ । 

आममाफी प्रक्रिया सकिए लगत्तै अवैधानिक कामदार तथा भिसा जारी गर्ने प्रक्रियालाई युएईले कडाइ गर्ने भएको छ । त्यसैले अवैधानिक भएर बसेका सबैले आममाफीलाई अवसरको रुपमा लिएर सहभागी हुन दूतावासले अनुरोध गरेको छ ।    
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया