तातोपानी नाका खुलाउन सुरुङ खन्नुपर्ने, अवलोकन टोली भन्छ – ‘नेपाल आफैँले सक्दैन’

 भदौ १९, २०७५ मंगलबार ९:११:४६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – सिन्धुपाल्चोक हुँदै चीनसँग जोडिने तातोपानी नाका खुलाउन केही ठाउँमा सुरुङ निर्माण गर्नुपर्ने भएको छ । तातोपानी नाकादेखि लार्चासम्मको नेपालकाे जमिन अत्यन्तै कमजोर भएकाले केही ठाउँमा साना–साना सुरुङ बनाउनुपर्ने सरकारी टोलीले निष्कर्ष निकालेको छ । 

सोमबार चीनको ल्हासाका नेपाली महावाणिज्यदूत गोविन्द बहादुर कार्कीसहित ३० जनाको चिनियाँ टोली र नेपालका ५ वटा मन्त्रलायका सह–सचिवसहितको टोलीले तातोपानी नाकाको अवलोकन गरेको थियो । नेपाली टोलीमा अर्थ, भौतिक पूर्वाधार तथा  कृषि, गृह, परराष्ट्र मन्त्रालय र भन्सार विभागका सह–सचिव संलग्न रहेका थिए ।

टोलीले तातोपानी नाकादेखि ७ नेपालतर्फ पैदलै हिँडेर पनि अवलोकन गरेको थियो । अवलोकनमा नेपालतर्फको भूभाग अत्यन्तै कमजोर रहेको पाइएको टोलीमा संलग्न अर्थ मन्त्रालयका सह–सचिव झक्कप्रसाद आचार्यले जानकारी दिनुभयो ।

‘विशेषगरी तातोपानीको पुरानो भन्सारदेखि लार्चासम्मको जमिन एकदमै कमजोर देखियो, त्यहाँ नेपाली सिप र प्रविधिको प्रयोग गरेर सडक बनाउन नसक्ने देखिएको छ, त्यसैले चिनियाँ प्रविधिका साना–साना टनेल बनाउनुपर्ने देखिएको छ’ आचार्यले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘चिनियाँ प्रविधिका यस्ता टनेल नेपाल आफैँ बनाउन नसक्ने भौतिक पूर्वाधार मन्त्रालयका साथीले जानकारी दिनुभएको छ, त्यसैले अब चीनलाई नै गुहार्नुपर्ने होला ।’

लार्चादेखि बाह्रबीसेतर्फको सडक भने राम्रो रहेको र सामान्य मर्मत गरे पुग्ने टोलीले जनाएको छ । तातोपानीको पुरानो भन्सारदेखि लार्चाबीचको केही सडकको अवलोकन गरेपछि दुवै देशको टोली चीनले बनाएका नयाँ प्रविधिका साना टनेलको अध्ययन गर्न चीनतर्फ गएको थियो ।  त्यहाँ २÷३ वटा नयाँ प्रविधिका सडक टनेल हेरिएको टोलीले जनाएको छ । 

मितेरी पुलको निर्माण अर्को महिनादेखि 

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला नै तातोपानी नाका खुलाउनेबारे समझदारी भएको थियो । समझदारी अनुसार चीनले नाका खोल्न काम सुरु गरिसेकेको छ । नाकामा रहेको मितेरी पुल चीनले बनाइदिने सहमति अनुसार उनीहरुले  अर्को महिनादेखि पुल निर्माणको काम थाल्ने जानकारी दिएको नेपाली टोलीका सदस्य अर्थ मन्त्रालयका सह–सचिव झक्कप्रसाद आचार्यले जानकारी दिनुभयो । 

‘उहाँहरुले अर्को महिनादेखि मितेरी पुल बनाउने तयारी गर्नुभएको छ, नेपालले पनि आफ्नो तर्फबाट गर्नुपर्ने काम बेलैमा गरेमा तातोपानी नाका खुल्न धेरै लामो समय नलाग्ने देखियो ।’ सहसचिव आचार्यले भन्नुभयो । मितेरी पुल निर्माण अर्को महिनादेखि सुरु हुने भए पनि तातोपानीमा नेपालतर्फको भन्सार कार्यालय र सुख्खा बन्दरगाह निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ ।

तातोपानीदेखि लार्चासम्मको सडक बनाउन नेपालले चीन गुहार्नुपर्ने

तातोपानीदेखि लार्चासम्मको सडक अत्यन्तै जीर्ण भएकाले त्यहाँ टनेल बनाउनुपर्ने देखिएको छ । नेपालले नयाँ प्रविधिबाट यस्ता टनेल बनाउन तत्कालै सम्भव छैन । त्यसैले यसको लागि चीनलाई  गुहार्नुपर्ने देखिएको छ । नेपालले आग्रह गरेमा चीन पनि सडक बनाइदिन तयार देखिएको छ । 

‘चिनियाँहरु तातोपानी भन्सारदेखि लार्चासम्मको बाटो पनि बनाइदिन तयार छन्, तर उनीहरुले परराष्ट्र मन्त्रालयमार्फत नेपालले चीनलाई अनुरोध गर्नुपर्ने र मोडालिटीको पनि टुंगो लगाउनुपर्ने हामीसँग बताएका छन्’ सहसचिव आचार्यले भन्नुभयो, ‘अब हामीले कुटनितिक पहल थालेर लार्चासम्मको सडक पनि बनाउनुपर्छ ।

२०७२ सालको भूकम्पमा तातोपानी भन्सारसहित वरपरका संरचना र सडक ध्वस्त भएपछि नाका बन्द रहेको छ । तातोपानी नाकाको विकल्पमा अहिले रसुवागढी नाका प्रयोग भैरहे पनि त्यहाँ पनि सडककै समस्या देखिएको छ । व्यापारको लागि तातोपानी नाका नै सहज भएको व्यापारीको भनाइ छ । तातोपानी नाका बन्द भएसँगै सयौं व्यापारी पनि सिन्धुपाल्चोकबाट विस्थापित भएका थिए ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया