एसिया कप खेल्ने नेपालकाे सपना चकनाचुर, हङकङसँग ३ विकेटले पराजित

 भदौ १९, २०७५ मंगलबार १३:३४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

आसन्न एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्ने नेपालको सपना तुहिएको छ । 

सन् २०२२ सम्म एकदिवसीय क्रिकेटको मान्यता पाएको नेपालले यस पटक एसिया कपको छनोट खेलेको थियो । तर नेपालले आफूलाई छनोट प्रतियोगितामा उत्कृष्ट सावित गर्न नसक्दा मलेसियाबाट रित्तै घर फर्किन बाध्य भयो ।

एसिया कपमा भारत र पाकिस्तान सहित अहिले जारी छनोट प्रतियोगिताको उपाधि विजेता एउटै समूहमा रहेका छन् । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

छनोट प्रतियोगितामा नेपाल सहित, मलेसिया, युएई, हङकङ, सिंगापुर, ओमान छन् । तर  नेपालले प्रतियोगिताको पहिला दुई खेल गुमाउनु नै छनोटबाट बाहिरिनुको मुख्य कारण बन्यो । नेपाल युएई र ओमानसँग पराजित भएको थियो । त्यसपछि मलेसिया र सिंगापुरलाई पराजित गर्दै प्रतियोगितामा टिकिरहने झिनो सम्भावना राखे पनि राउण्ड रोविन लिगको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतियोगिताकै खराब प्रदर्शन गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुनै पनि समयमा हङकङका बलरमाथि हावी हुन सकेन । 

हङकङ नेपालविरुद्ध ३ विकेटको जित निकाल्न सफल भयो । जम्मा ९६ रनको लक्ष्य हङकङले ३२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । हङकङको जितमा अन्सुमान रथले सर्वाधिक ५२ रन बनाए । 

नेपालका सन्दीप लामिछानेले ५ तथा सागर पुन र बसन्त रेग्मीले १–१ विकेट लिए ।

आजको खेलमा जित हात पारे पनि हङकङलाई फाइनल पुग्न ओमान र यूएईको बीचको खेलको नतिजा कुर्नु पर्ने भएको छ । युएई विजयी भए हङकङ फाइनलमा पुग्ने छ । उपाधि विजेताले १५ सेप्टेम्बर देखि सुरु हुने एसिया कपमा स्थान बनाउने छ । 

आजको खेलमा नेपालले हङकङविरुद्ध प्रतियोगिताकै खराब प्रदर्शन गरेको थियो । नेपालका लागि आरिफ शेख र बसन्त रेग्मीले सर्वाधिक ३४ रनको मात्रै साझेदारी गरेका छन् । 

नेपालका ओपनर सुवास खकुरेल पहिलो ओभरमै आउट भए । पहिलो बल फेस गरेका सुवास आउट भएपछि नेपालको विकेट पतनको श्रृङखला सुरु भएको हो । कप्तान पारस खड्का र अनिल साहले २२ रनको साझेदारी गरेका थिए । 

तर नेपालको स्कोर २२ रन हुँदा कप्तान खड्का व्यक्तिगत १४ रनमा आउट भएका थिए । ज्ञानेन्द्र मल्ल र अनिलले नेपाली इनिङलाई अघि बढाउने क्रममा जम्मा २१ रनको साझेदारी गरे । 

त्यसपछि तेस्रो विकेटको अनिल कुमार साह नेपालको स्कोर ४४ हुँदा १५ रन बनाएर पेभेलियन फर्किए । 

उप-कप्तान ज्ञानेन्द्र पनि त्यस लगत्तै ४७ स्कोर हुँदा १२ रन बनाएर आउट भए । ५३ रन बनाउँदा नेपालले पाँच विकेट गुमाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा सागर पुन पनि ७ रनमा आउट भए । 

सातौ विकेटका रुपमा नेपालका सोमपाल कामी खाता नै नखोली आउट भए । उनले १२ बलको सामना गरे पनि रन बनाउन नसक्दा नेपालले ७ विकेटको नोक्सानीमा ५८ रन बनाएको थियो ।

मोहम्मद आरिफ शेख र बसन्त रेग्मीले ७२ बलमा ३४ रनको साझेदारी गरेपछि नेपालको स्कोर ८ विकेटमा ९२ रन पुगेको हो । आरिफ १८ रनमा आउट भएका थिए । थप ३ रन जोड्दा नेपालले बाँकी २ विकेट गुमाएको थियो । सन्दीप लामिछानेले २ रन जोड्दा ललितनारायण राजवंशी शून्य रनमा आउट भए । नेपालका बसन्त रेग्मी १५ रनमा नट आउट रहे ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया