सुत्केरी महिलाको मुत्यु भएपछि स्वास्थ्य चौकीमा तालाबन्दी

 भदौ १९, २०७५ मंगलबार २०:११:५६ | उपेन्द्र येक्तेन

पाँचथर – पाँचथरमा सुत्केरी गराउन स्वास्थ्य संस्था ल्याइएकी महिलाको आइतबार मुत्यु भएपछि स्वास्थ्य चाैकीमा तालाबन्दी गरिएकाे छ ।

जिल्लाको याङवरक गाउँपालिका–३ मा रहेको स्वास्थ्य चौकीमा सुत्केरी गराउन ल्याइएकी २५ वर्षीया गीता देवान (सेलिङ)को ज्यान गएपछि बिवाद उत्पन्न भएको हो ।

मृतकको आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीको कारण र समयमै अन्यत्र रेफर नगरेको कारण ज्यान गएको भन्दै स्वास्थ्य चौकीमा तालाबन्दी गरेका छन् । 

भदौ १५ गते स्वास्थ्य चौकीमा सुत्केरी गराउन ल्याइएकी गीतालाई हेर्न छाडेर स्वास्थ्य चौकीका इञ्चार्ज जितबहादुर शाही र अनमि सोनामि तामाङ घुम्न गएको मृतकका आफन्तले आरोप लगाएका छन् । 

भदौ १५ गते स्वास्थ्य चौकी भर्ना गरिएकी महिलाको आइतबार मृत्य भएको हो । सुत्केरी गराउन भर्ना गरिएको तीन दिनपछि आइतबार आएर स्वास्थ्य चौकीका प्रमुख शाहीले पेट थिचेर सुत्केरी गराउन खोजेपछि आधा बच्चा निस्किएर महिलाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

तर प्रमुख शाहीले भने यहाँ सुत्केरी गराउन नसकिने भएपछि जिल्ला अस्पताल पाँचथरमा रेफर गरेको र जिल्ला अस्पताल लाने क्रममा महिलाको मृत्यु भएको दावी गर्नुभएको छ । 

मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । शवको पोष्टमार्टमसमेत गरिएको छैन । 

सुत्केरी महिलाको मृत्युपछि उत्पन्न विवाद समाधानको लागि छलफल भइरहेको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले बताउनुभयो ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया