पुसभित्र कालिञ्चोक केबुलकार सञ्चालनमा आउने

 भदौ २१, २०७५ बिहिबार ११:३३:४७ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडाैं – दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक क्षेत्रमा निर्माणाधीन केबुलकार पुस महिनाभित्र सञ्चालनमा आउने भएको छ । कुरी बजारबाट कालिञ्चोकको डाँडासम्म ९ सय मिटर लम्बाईको केबुलकार कालिञ्चोक दर्शन लिमिटेडले निर्माण गरेको हो । केबुलकारको निर्माण कार्य ९० प्रतिशत सकिएकाले दसैँसम्ममा परीक्षण गरेर पुस महिनाभित्र सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।

केबुलकारको सिभिल संरचनाको काम ललितपुरको ‘केबलकार र रोपवे कम्पनी’ले गरिरहेको छ । कम्पनीका सञ्चालक गणेश पाठककाअनुसार केबलकारको टावर निर्माण गर्ने काम सकिएको छ । माथिल्लो र तल्लो भागमा उपकरण जोड्ने काम र तार तान्ने काम पनि सकिन लागेकाले अब दसैँभित्र निर्माण सम्पन्न हुने पाठकले बताउनुभयो । 

९ सय मिटर लामो यो केबुलकार जमिनबाट ३०७ मिटरको उचाइमा रहेको छ । यसलाई ओहोरदोहोर गर्न पाँच मिनेट लाग्नेछ भने यसमा चारवटा यात्रु बाकस (गोण्डाला) राखिनेछन् । 

योसंगै नेपालमा संचालनमा आएका केबुलकारको संख्या ४ पुग्नेछ । २०५५ सालमा मनकामना केबुलकार, २०७१ सालमा कुश्मा बलेवा यान्त्रिक पुल र २०७३ सालमा चन्द्रागिरि केबुलकार सञ्चालनमा आइसकेका छन् ।

कुश्मा बलेवा यान्त्रिक पुलको निर्माण पनि ‘केबुलकार र रोपवे कम्पनी’ ले नै गरेको हो । कम्पनीका सञ्चालक पाठककाअनुसार त्यसलाई यान्त्रिक पुल भनिए पनि सबै प्रविधि र तरिका केबुलकारको नै भएकाले त्यो पनि केबुलकार नै हो । 

अन्तिम अपडेट: चैत १३, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

1 Comments

  • सुर्य मगर

    Sept. 6, 2018, 1:25 p.m.

    good job

  •  0 Reply

तपाईको प्रतिक्रिया