ठेकेदारको लापर्वाहीले गोरखा जोड्ने सडक अलपत्र

 जेठ २०, २०७५ आइतबार १३:१०:१९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – सदरमुकाम धादिङबेसीबाट टारीबेसीसम्म पुग्ने सडक स्तरोन्नतिको काम सुरु भएको १८ महिना बितिसक्यो । सडकमा अलिअलि पानी परेपछि यातायातका साधन चलाउन सकिँदैन । मात्र २८ किलोमिटर सडक राम्रो बन्न नसक्दा स्थानीयले निकै सास्ती भोग्न परेको छ । ठेकेदार कम्पनीले भने काम गर्दै आएको र चाडै काम हुने प्रतिक्रिया दिने गरेको छ ।

२ घण्टाको सडक ८ घण्टामा समेत पुग्न नसकिने अवस्था आएकोले ठेकेदार कम्पनीले लापर्वाही गरेका कारण समयमै काम नहुँदा सास्ती व्यहोर्नु परेको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष शम्भु थापा बताउनुहुन्छ ।

सडक स्तर उन्नतिको लागि काम गर्दै आएको लामा कन्स्ट्रक्सनले ६२ करोड लागतमा २ वर्षमा काम सम्पन्न गर्ने भनि ०७३ सालमा ठेक्का लिएको थियो । अहिलेसम्म २० प्रतिशतमात्र काम भएको छ । सडकको सुधारमा भइरहकेको ढिलासुस्तीबारे जनतालाई वास्तविक जानकारी दिन जिल्ला समन्वय समितिले सार्वजनिक सुनुवाइ आह्वानसमेत गरेको छ ।

ठेक्का लिने र लामो समयसम्म पनि काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने र कालोसूचिमा राखेर आगामी दिनमा काम गर्न प्रतिबन्धसमेत लगाउन सकिने प्रदेशसभाका संसद जगत सिंखडाले बताउनुभयो ।

सडक स्तरोन्नति गर्न भनेर बाटो खनेर लथालिंग छोड्दा सडकमा पैदलयात्री, मोटरसाइकल ढुवानीका गाडीहरु हिलोमा फस्ने गरेका छन् । एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति हुन लागेको हो । २५ वर्ष पुरानो धादिङबेसी सल्यानटार सडक यसअघि पनि २ पटक सुधार भैसकेका छन् ।

जिल्लाको उत्तरी क्षेत्र र गोरखाको मनास्लु पदमागसम्म जाने प्रमुख मार्गका रुपमा परिचित धादिङबेसी सल्यानटार सडक स्तरोन्नतिका लागि लामा कन्स्ट्रक्सनका ठेकेदार जीपछिरिङ लामाले ६२ करोडमा ठेक्का लिनुभएको हो । 

त्रिपुरासुन्दरी, गंगाजमुना, र ज्वालामुखी गाउँपालिका र नीलकण्ठ नगरपालिकालगायतका उत्तर पश्चिमी क्षेत्रका बासिन्दा सडक निर्माणमा ढिलासुस्ती हुँदा मारमा परेका छन् । वर्षायाम सुरु नहुँदै सास्ती भोग्नु परेको अवस्थामा ठेकेदारलेसमेत काममा ढिला गरेपछि गाउँबासी आक्रोशित भएका छन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया