जिल्ला समन्वय समिति मोरङले १७ वटा स्थानीय तहलाई एक–एक करोड दिने

 भदौ २१, २०७५ बिहिबार १९:२२:० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – जिल्ला समन्वय समिति मोरङले विभिन्न शीर्षकमा भएको आम्दानीबाट जिल्लाका १७ स्थानीय तहलाई एक–एक करोड रुपैयाँ वितरण गर्ने भएको छ।

जिल्ला समन्वय समितिको दोश्रो जिल्ला सभाबाट पारित गरेको निर्णयका बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा गएको आर्थिक वर्ष २०७४-०७५ मा आम्दानी भएको मध्ये उक्त रकम वितरण गरेको समितिका प्रमुख नरेश पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिले गएको आर्थिक वर्ष २०७४-०५७ मा जिल्लाका खोला नालाको ढुङ्गागिट्टीको ठेक्काबापत कुल  २५ करोड ३१ लाख २३ हजार ८ सय १५ रुपैयाँ आम्दानी गरेको थियो ।

जिल्ला समन्वय समिति मोरङले २०७५-०७६ का लागि पाँच करोड ८६ लाख ७६ हजार ५ सयको अनुमानित आयव्ययसमेत पारित गरेको पोखरेलले जानकारी दिनुभयो ।

समितिको आन्तरिक आम्दानीतर्फ ३५ लाख र नेपाल सरकारको अनुदानतर्फ एक करोड ४२ लाख ५९ हजार रुपैयाँ रहेको छ भने गएको वर्षको आम्दानी बचेको चार करोड ६४ लाख १७ हजार ५ सय रहेको छ । जिल्ला समन्वय समितिको दोश्रो सभाले ढुंगागिट्टीको ठेक्काबापत आएको आम्दानीको  रकम स्थानीय तहलाई नै वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले अनुदानबापत जिल्ला समन्वय समितिले दिँदै आएको अनुदान रकममा यस वर्ष ५० प्रतिशतले कटौती गरेको जिल्ला समन्वय समितिले जनाएको छ । नेपाल सरकारले गएको आर्थिक वर्षमा दुई करोड ७४ लाख निकास गरेकोमा चालु आर्थिक वर्षका लागि एक करोड २२ लाख मात्र निकासा गरेको प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

७५ लाखको गाडी खरिद गर्दै

स्थानीय तहले धमाधम सवारी साधन खरिद गरिरहेका बेला जिल्ला समन्वय समिति मोरङले पनि ७५ लाख रुपैयाँमा नयाँ गाडी थप्ने निर्णय गरेको छ । जिससका प्रमुख पोखरेलले अनुगमन तथा कार्यालयका लागि आवश्यक पर्ने भएका कारण गाडी खरिद गर्न लागिएको बताउनुभयो ।

जिल्ला समन्वय समितिमा  हाल २ वटा गाडी रहेका छन् । अहिले बा २ झ ७६८ नम्बरको निसान कम्पनी र अर्को बा १ झ ८४७५ नम्बरको टोइटा कम्पनीको ल्याण्ड क्रुजरको गाडी रहेको छ । निसान कम्पनीको गाडी जिसस प्रमुख नरेश पोखरेलले प्रयोग गर्दै आउनुभएको छ भने अर्को अधिकृतले प्रयोग गर्दै आएका छन् ।

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया