संघीयतालाई समाप्त पार्ने गरी षडयन्त्रपूर्वक बजेट ल्याइयो: सांसद यादव

 जेठ २०, २०७५ आइतबार १३:५३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाडौं – नेपाली काँग्रेसका सांसद विजयकुमार गच्छेदारले बजेटमा राजस्व वृद्धि गर्ने गरी करमा ठूलो परिर्वतन ल्याउने प्रयास भएकाले लगानी रोकिने र मुल्यवृद्धि गराउने तर्क बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५–७६ का लागि विनियोजित बजेटमाथि आईतबार जारी छलफलमा बोल्दै सांसद गच्छदारले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
उहाँको विचारमा देशको आर्थिक विकासमा ठोस कार्यक्रम सहितको बजेट आउन सकेन ।  साथै परिर्वतित राजनीतिक परिवेशमा वर्तमान सरकारले ल्याएको बजेटमा यथार्थ वस्तुस्थितिको अध्ययन गरिएको छैन भने क्रान्तिकारी कार्यक्रम पनि समावेश हुन सकेको छैन ।

प्रभु शाह

छलफलमा बोल्दै नेकपाका सांसद प्रभु शाहले विकास निर्माणको सवालमा बजेटमा धेरै अमूर्त विषय आएको भन्दै शिर्षकको बाँडफाँड स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बजेट निर्माण र विधिमा आम जनताको सहभागिताको मोडालिटीलाई आत्मसाथ गर्नुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार ग्रामीण क्षेत्रका लागि जनता आवास कार्यक्रम  र शहरी क्षेत्रमा प्रधानममन्त्री आवास कार्यक्रममा विनियोजित बजेट स्पष्ट हुन सकेको छैन ।

राजकिशोर यादव

राष्ट्रिय जनता पार्टीका सांसद राजकिशोर यादवको विचारमा जनताको मत पाएर जितेर आएका जनप्रतिनिधि संसदमा रुनुपर्ने स्थिति सिर्जना हुनु दुखद हो । उहाँले बजेट कुन सिद्धान्त अनुसार विनियोजन गरिएको भनी अर्थमन्त्रीसँग प्रश्न पनि गर्नुभयो । उहाँले समग्र बजेट विनियोजन हेर्दा संघीयतालाई समाप्त पार्ने गरी षडयन्त्रपूर्वक बजेट ल्याईएको त होइन भन्ने शंका उब्जाएको दाबी गर्नुभयो ।

राजेन्द्र लिङदेन

राप्रपाका सांसद राजेन्द्र लिङदेनले समृद्ध नेपालका लागि छलाङ मार्ने बताउँदै आएको दुई तिहाई प्राप्त सरकारको बजेट परम्पराभन्दा माथि उठ्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले सांसदहरु बैठकमा बोलेर मुर्ख बनिरहेको आरोप लागाउँदै सांसदहरुले अपमानित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया