बलात्कार आरोपी दुई जनालार्इ एक वर्षपछि कैद सजाय तोकियो

 जेठ २०, २०७५ आइतबार १५:४२:२६ | उपेन्द्र येक्तेन

पाँचथर – पाँचथरमा छुट्टाछुट्ट्टै बलात्कारमा संलग्न दुई जनालाई पक्राउ परेको करिब एक वर्षपछि जिल्ला अदालत पाँचथरले आइतबार कैद सजाय तोकेको छ ।

अदालतले १५ वर्षीय बालिका बलात्कार गर्ने फिदिम नगरपालिका–१०, याङनामका श्यामप्रसाद हाङसरुम्बालाई तीन वर्षको कैद सजायको फैसला गरेको हो ।  बालिकालाई हाङसरुम्बाले ०७४ जेठ २० गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

पीडितले दिएको उजुरीका आधारमा ०७४ जेठ २३ गते हाङसरुम्बा पक्राउ परेका थिए । उनलाई न्यायधीश मनोज केसीको इजलासले कैद सजाय फैसला सुनाएको हो । 

त्यस्तै ५४ वर्षीय महिलालाई जबरजस्ती करणी गर्ने हिलिहाङ गाउँपालिका–६ का पदमप्रसाद लावतीलाई पनि अदालतले जेल सजाय तोकेको छ । लावतीलाई न्यायधीश मनोज केसीको इजलासले पाँच वर्षको कैद सजाय र ५० हजार क्षतिपुर्ति भराउने फैसला गरेको हो । उनले गएको भदौ २१ गते ५४ वर्षीय महिलालाई करणी गरेको भनी पीडितका अाफन्तले प्रहरीमा उजुरी दिएका थिए । करणीपछि फरार रहेका लावतीलाई गएको पुष ९ गते प्रहरीले पक्राउ गरेको थियो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया