मोक्षदा स्कुलमा गुन्जियो गजल

 भदौ २३, २०७५ शनिबार १८:२६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काडमाडौं – काठमाडौंमा अन्तरविद्यालय स्तरीय गजल वाचन प्रतियोगिता आयोजना सम्पन्न भएको छ । 

मोक्षदा स्कुलमा १ सय ५३ औँ मोती जयन्तीको अवसरमा अनाम मण्डलीको सहयोगमा यो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा उपत्यकाका २१ स्कुलका छात्रछात्राले विभिन्न गजलकारहरुका गजल सुमधुर स्वरमा वाचन गरेका थिए । 

प्रतियोगितामा निमोनिक मोर्डन एकेडेमीकी पूर्णिमा घिसिङ, नेक्सस इन्टरनेसनल एकेडेमीकी प्रनुशा श्रेष्ठ, सेन्ट जेभियर्स गोदावरीकी कृतिका कोइराला र न्यु सनसाइन इङ्लिस स्कुलका युकेश रावल क्रमशः प्रथम, द्वितिय, तृतिय र चतुर्थ स्थान हासिल गर्न सफल भएका थिए । विजयी विद्यार्थीलाई प्रमुख अतिथि साहित्यकार डा. विजय सुब्बा, विशेष अतिथि प्रदीपकुमार राई (व्याकुल माइला) र विद्यालयका प्राचार्य ठाकुर तिमल्सेनाले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । 

कार्यक्रममा राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा. विजय सुब्बा र आयोजक विद्यालयका प्राचार्य ठाकुर तिमल्सेनाले संयुक्त रुपमा अभिनन्दन गरेका थिए । 

कार्यक्रमका अवसरमा प्रमुख अतिथि डा सुब्बाले सानो उमेरदेखि नै विद्यार्थीले निकै राम्रो प्रतिभा प्रदर्शन गरेको बताउँदै, भविष्यमा अरुले लेखेको गजल, कविता वाचन गर्नुका साथै, आफैँ लेख्ने अभ्यास गरेर आफ्ना सिर्जनशीलतालाई अझ तिखार्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘विद्यार्थीलाई सकारात्मक कुरा सुनाएर उनीहरुलाई सही बाटो देखाउनु आजको आवश्यकता भएको छ ।’

कार्यक्रममा अभिनन्दित व्यक्तित्व व्याकुल माइला, गजलकार सरोज घिमिरे, ठाकुर तिमल्सेनालगायत वक्ताले मोतिराम भट्ट र उनको साहित्यिक सिर्जनाबारे मन्तव्य राखेका थिए । कार्यक्रममा याज्ञवल्क्य न्यौपाने, रुपक अलंकार, रबिका भण्डारीलगायत गजलकारले आआफ्नो गजल वाचन गरेका थिए । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया