महिला समूहले फेरेको राईगाउँ

 भदौ २४, २०७५ आइतबार ८:३७:२० | अर्जुन श्रेष्ठ
unn.prixa.net

धादिङ – गजुरी गाउँपालिका वडा नम्बर ५ राईगाउँका महिलाहरु सफल व्यवसायी बनेका छन् । महिला समूहमा आवद्ध भएर नियमित बचत गर्दै लिएको ऋणबाट गाउँमै व्यवसाय थालेका उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् । 

राईगाउँकी  सीता राईले समूहमा बचत गर्दै त्यहिँबाट ५० हजार ऋण लिएर किराना पसल सञ्चालन गर्नुभएको छ । राई बालकुमारी सामाजिक परिवार नामक समूहमा अवद्ध भएर नियमित बचत गर्नुहुन्छ । नियमित बचत गर्दै जाँदा अहिले उहाँलाई घरखर्च चलाउन कुनै समस्या छैन । उहाँ जस्तै थुप्रै महिला बचत पछि आत्मनिर्भर बनेका छन् । बचत गर्ने र ऋण परिचालन गर्ने गरेपछि उनीहरुको दैनिकी नै फेरिएको छ  ।

स्थानीय ममता राई समूह गठन गरेर बचत सुरु गरेसँगै समुदायमा परिवर्तन देखिने काम पनि हुन थालेको अनुभव सुनाउनुहुन्छ । बचतको माध्यमबाट गाउँमै व्यवसाय गरेर आत्मनिर्भर बनेका महिला दिदीबहिनी नेतृत्व विकास तथा विकास निर्माणका काममा पनि उत्तिकै सहभागी बन्न थालेका छन् ।
राईगाउँका सबै राई महिला अहिले साधारण साक्षर भैसकेका छन् । समूहमा बसेपछि उनीहरु स्थानीय निकायले प्रदान गर्ने सेवा तथा सुविधाबारे समेत सजग बनेका छन् । पहिले घर व्यवहार, औषधि उपचार गर्नका लागि महँगो ब्याजमा ऋण लिने उनीहरु अहिले सहुलियत दरमा समूहबाट बिना धितो ऋण पाउने भएपछि व्यवसायतर्फ उन्मुख हुन थालेका हुन् ।  

केही वर्ष अघि सम्म गाउँमा नयाँ मान्छे देख्दा बोल्न त के नजिकै आउन पनि डराउने राई महिलाहरु अहिले निर्धक्कसाथ आफ्नो परिचय दिन सक्ने मात्रै भएका छैनन्, गाउँमा आईपर्ने समस्याहरु समाधानका लागि पहल गर्न सक्ने भएका छन् । 

राईगाउँका १ सय ४० घर परिवारलाई लक्षित गरी समग्र विकास सेवा केन्द्र गैर सरकारी संस्थाले २०६६ सालमा बालकुमारी सामाजिक परिवार नामक दुई वटा समूह गठन गरी नियमित बैठक, बचत संकलन, स्वास्थ्य तथा सरसफाईसम्बन्धी जनचेतनामूलक कार्यक्रम सुरु गरेको थियो । राई महिलालाई सक्षम बनाएर समाजमा परिवर्तन देखिने खालका काम गराउन सामाजिक परिवार सफल हुँदै गएको समग्र विकास सेवा केन्द्र धादिङका जिल्ला संयोजक रुद्र कोइरालाले बताउनुभयो । 

बचत समूहमा पहिला मासिक १० रुपैयाँबाट सुरु भएको बचत बढेर अहिले एउटा समूहमा २ लाख नाघि सकेको समूहकी अध्यक्ष फुलमाया राई बताउनुहुन्छ । संस्थामा बचत गर्दै आएकामध्ये कसैलाई पैसाको आवश्यक परेमा समूहबाट एक पटकमा एक जनालाई ५० हजार रुपैयाँसम्म ऋण दिने गरिएको अध्यक्ष राईले बताउनुभयो ।  

महिलाहरु समूहमा आवद्ध भएपछि उनीहरूको दिनचर्यामासमेत परिवर्तन भएको हो । उनीहरुले आफूलाई आवश्यक परेको बेला सस्तो र सहज तरिकाले समूहबाटै ऋण पाउने गरेको बताउँछन् । समग्र संस्थाले समूहलाई शशक्तिकरणका लागि तालिम, प्रशिक्षण, बचतकोष निर्माण मात्रै गरिदिएको छैन, समूहलाई बाख्रा उपहार दिएको र समूहका सदस्यहरुले ती बाख्रालाई स्याहारसुसार गर्दै आयआर्जन तर्फ लागिरहेका छन् ।  

समूहमा बचत गरेको रकम ऋणमा निकालेर तरकारी खेती र ब्रोइलर कुखुरा पालन, किराना पसल, खाजा घर संचालन गरेर आम्दानीको स्रोत जुटाउनेतर्फ स्थानीय महिला लागि परेका छन् । यहाँका महिलाले समूहबाट पैसा लिएर बाख्रापालन, बंगुरपालन, कुखुरापालन गरेका छन त कसैले घुम्ती पसल र तरकारीखेती गरिरहेको समूहकी अगुवा सीता राईले बताउनुभयो । समूहमा आवद्ध भएर यहाँका महिलाले नियमित बचत मात्रै गरेका छैनन, गाउँ सरसफाइ पनि गर्ने गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया