सधैं मलको अभाव, के हुन सक्छ यसको विकल्प ?

 भदौ २५, २०७५ सोमबार १०:८:३९ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडाैं – अहिले मल अभावका कारण किसान मर्कामा परेका छन् । धानमा मल दिने बेला भएकाले देशभर २० हजार मेट्रिक टन मलको माग छ । तर कृषि सामाग्री कम्पनीसँग दुई हजार एकसय मेट्रिक टन मात्र मल मौज्दात छ । 

नेपाल मल व्यवसायी संघका अध्यक्ष ईश्वर डल्लाकोटीका अनुसार अहिले चितवन, धादिङ, गोरखा, लमजुङ र कास्कीमा मलको हाहाकार छ । कृषि क्षेत्रमा नेपालले भोग्ने गरेको यो सधैंको समस्या हो ।
 
कृषि मन्त्रालय अन्तर्गत मल आपूर्ति महाशाखाका प्रमुख तेजबहादुर सुवेदीले भन्नुभयो, ‘कृषिमा व्यवसायिकरण बढ्दै गएका कारण मलको खपत बढ्नु स्वभाभिक हो । तर मल खरिदको लागि पर्याप्त बजेट  निकासा नहुँदा माग अनुसारको उपलब्ध गराउन सकिएको छैन ।’

यही वर्ष पनि मल खरिदको लागि दश अर्बको माग भए पनि ५ अर्ब ९८ करोड मात्र बजेट निकासा भएकाले अभाव भएको हुन सक्ने सुवेदीले बताउनुभयो । नेपालमा वार्षिक करिब सात लाख मेट्रिक टन मलको आवश्यकता हुने गर्छ । तर आवश्यकता अनुसार मल उपलब्ध हुन नसक्दा किसान समस्यामा पर्दै आएका छन् ।

यो वर्ष पाँच लाख मेट्रिक टन मल खरिदको लागि मन्त्रालयले माग गरे पनि दुई लाख ८३ हजार मेट्रिक टनको लागि मात्र बजेट छुट्याइएको छ । त्यही मल पनि बाहिरी देशबाट ल्याउनुपर्दा ढुवानीको समस्याका कारण समयमै उपलब्ध गराउन नसकिएको सुवेदीले बताउनुभयो ।

यस्तै डलरको भाउ बढेको कारण पनि उपलब्ध बजेटबाट माग अनुसारको मल खरिद गर्न नसकिने उहाँको भनाई छ । सरकारले रकम थप नगरे झनै अभाव हुनसक्ने उहाँले बताउनुभयो ।

सुवेदीका अनुसार मल अभाव हुनुको मुख्य कारण ढुवानीमा हुने समस्या नै हो । भारतको विशाखापटना बन्दरगाहमा मल पुगिसकेको भए पनि रेलमा ढुवानीको लागि समस्या हुँदा समयमै ल्याउन सकिएको छैन । 
उहाँ भन्नुहुन्छ, ‘यस्तो समस्या हामीहरुले सधैं भोग्ने गरेका छौं । नेपालमा भारत, चीन, बंगालादेश, अरब देश लगायत ठाउँबाट आयात गरिन्छ । बाहिरी देशबाट आयात गर्नुपर्दा रेलको क्षमताले नधान्ने र भनेको बेला ढुवानीका साधन नपाउँदा भन्सारमै मल थन्किनुपर्ने अवस्था सिर्जना हुने गर्छ ।’

मल अभाव हुन नदिन के गर्ने ?

किसानले बढी पैसा तिरेर मल किन्न चाहे पनि मल पाईंदैन । त्यसैले मल अनुदानमा नदिई निजी कम्पनीलाई यसको जिम्मा दिएर बिक्री वितरण गर्ने हो भने यसको अभाव नहुने मन्त्रालयका कृषि प्रसार अधिकृत कृष्ण धिताल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अनुदान प्रणालीमा राजनीतिक तरिका हावी हुने हुँदा विचौलिया बढ्ने सम्भावना बढि हुन्छ ।’

यस्तै बिक्रीवितरणको प्रक्रिया नमिल्दा पनि मल अभाव सिर्जना हुने गरेको पाइएको छ । अहिले मल वितरणको जिम्मा सहकारीहरुलाई दिइएको छ । जसलाई मल सम्बन्धी प्राविधिक तथा वैज्ञानिक ज्ञान नै छैन, उसलाई मल वितरणको कार्य सुम्पिदा किसानले मलको सही प्रयोग गर्न नजानेर पनि मल अभाव हुने गरेको मल महासंघका अध्यक्ष डल्लाकोटी बताउनुहुन्छ । 

जैविक तथा प्राङ्गारिक मलले यसको अभावलाई केही हदसम्म पूर्ति गर्ने भए पनि व्यवसायिक खेतीको लागि भने रासायनिक मल आवश्यक रहेको सुवेदी बताउनुृहुन्छ ।

स्वदेशमै मल उत्पादन गर्न सकिँदैन ?

मल उत्पादन कम्पनी खोल्नको लागि पर्याप्त मात्रामा ग्यास र कोइलाको आवस्यकता पर्छ । यसलाई भारतबाट ल्याउनुपर्छ ,जुन एकदमै महंगो पर्न आउँछ । नेपालले अहिले आयात गरिरहेको भन्दा पनि धेरै नै महंगो पर्न जाने भएकाले अहिले यो सम्भव नभएको कृषि मन्त्रालय अन्तर्गतको मल शाखाका प्रमुख तेज सुवेदी बताउनुहुन्छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया