बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
पर्वत – प्रायः अदालतबाट पति–पत्नीबीचको दाम्पत्य सम्बन्ध छुट्टिएको खबर आइरहँदा अदालतले पहिलोपटक दाम्पत्य जोडीको सम्बन्ध जोडेको छ । पर्वत जिल्ला अदालतले आइतबार एक पोर्चुगलका नागरिकसँग नेपाली युवतीको कानुनी विवाह गराएको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएका कानुनी विवाह भदौ १ गतेदेखि अदालतलाई अधिकार प्रत्यायोजन गरेपछि आइतबार पर्वत जिल्ला अदालतले वैवाहिक सम्बन्ध प्रमाणित गर्दै विवाह प्रमाणपत्र जारी गरेको हो ।
अदालतले नेपालबाट विभिन्न सिलसिलामा पोर्चुगल पुगेर त्यहीँको नागरिकता प्राप्त गरेका पौडेल थरका एक ३० वर्षीय युवा र नेपालमा नै रहेकी विश्वकर्मा थरकी २१ वर्षीया युवतीको विवाह गराइदिएको हो ।
अदालतबाट भएको पहिलो कानुनी विवाह नै अन्तरजातीय विवाह रहेको छ । मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम विवाह गर्न स्वीकार्य भएकाले संहिताको दफा ८० को २ नं. बमोजिम नवविवाहित जोडीलाई प्रमाणपत्र प्रदान गरिएको पर्वत जिल्ला अदालतका सहायक श्रेष्तेदार मातृका रिमालले बताउनुभयो ।
विवाहका लागि निवेदक युवा पोर्चुगलका नागरिक भएकाले त्यहाँको समेत कानुनसँग नबाझिने गरी विवाह प्रमाणित गरी प्रमाणपत्र प्रदान गरिएको रिमालले जानकारी दिनुभयो ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।