परिवारलाई थाहै नदिई लालबाबुसँग बिहे गरेँ– बिमला महत

 बैशाख २१, २०७५ शुक्रबार १८:४४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, वैशाख २० – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र मोरङ समाजकी उपाध्यक्ष बिमला महतको आजभन्दा १७ वर्ष अगाडि अन्तरजातीय विवाह हो । 

एक छोरीको अभिभावक यो जोडीको विवाह प्रसंग निकै चाख लाग्दो छ । पार्टीगत विवाह गरेको यो जोडीले विवाहभन्दा अगाडि एकअर्कालाई खासै जान्ने मौका पाएको थिएन । उमेर ढल्किसकेका कारण दुवै जना अब विवाह नगर्ने भन्ने सोचमा थिए । तर पार्टीले उनीहरुको विवाह गराइदियो ।

पार्टीकै आयोजनामा सिंहदरबारमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा उनीहरुको विवाह भएको हो । परिवारका सदस्यको कमजोर उपस्थिति रहे पनि पार्टीगत हिसाबले भने भव्य रुपमा उनीहरुको विवाह सम्पन्न भएको थियो । आज हामीले यही जोडीसँग उनीहरुको विवाह प्रसंगबारे केही कुराकानी गर्ने अवसर पाएका छौँ ।

१७ वर्षे विवाहको अनुभव कस्तो रह्यो ?

लालबाबु- हाम्रो विवाह चाहिँ अलि ढिलो भएको हो । परिपक्व भइसकेपछि विवाह भएको हुनाले अनुभव सकारात्मक नै छ । जीवन सुख दुःख नै हो । हरेक समस्याहरुसँग जुझ्दै अगाडि बढेकाले जीवन चाहिँ हामी रमाइलोसँगै बिताइरहेका छौं । हाम्रो अनुभव सकारात्मक नै छ ।

बिमला- त्यही नै हो । एकदमै रमाइलोसँग बित्दै छ । १६ वर्षे उमेरमा बिहे भएको होइन हाम्रो । उमेर पुगेर बिहे भएको हो । उमेर पुगेर बिहे भइसकेपछि चाहिँ त्यो चंञ्चलता हुँदैन रैछ । परिपक्वता भएको कारण हाम्रो सम्बन्ध एकदम राम्रो छ ।

विवाहभन्दा अगाडि एकले अर्कालाई कत्तिको जान्ने मौका पाउनु भएको थियो ?

लालबाबु- हामी सार्वजनिक जीवन बिताएको मान्छे । त्यतिबेला म सासंद थिएँ । उनी वडाध्यक्ष थिइन् । सार्वजनिक जीवन बिताएको मान्छेको निजी जीवन कमजोर हुन्छ । व्यक्तिगत जीवनका लागि समय हुँदैन । त्यसकारण झण्डै कुरा चलेको तीन वर्षपछि विवाह भयो तर देखादेख भएको थिएन । हाम्रो विवाह चाहिँ एक किसिमले पार्टीगत विवाह भएको हो । त्यस कारण मलाई उनको बारेमा त्यति धेरै जानकारी थिएन । 

बिमला – मैले पनि एकदमै थिएन । उहाँको बारेमा मलाई केही पनि थाहा थिएन । उहाँको नाम पनि सुनेको थिइन् । एकैचोटी बिहेको कुरा गरिसकेपछि मात्रै थाहा भएको हो । विवाहको कुरा भएपनि हाम्रो देखादेख पनि भएकै थिएन ।

पण्डित र महत अन्तरजातीय विवाह हुँदा परिवारबाट केही आपत्ति भयो कि भएन ?

बिमला - अहं त्यस्तो केही भएन । कसैले पनि केही भन्नुभएन । उता मेरो परिवारलाई मैलै थाहाँ दिएकै थिइन त्यसकारण पनि होला । मेरो निर्णय म आफैले गरें । घरपरिवारमा थाहा नै दिइन मैले त । घरमा थाहा दिएको भए त बिहे नै गर्न दिनुहुन्नथ्यो ।
लालबाबु - पार्टीगत विवाह भए पनि मेरो दाइ, आमा सबै परिवारहरु बिहेमा उपस्थित हुनुहुन्थ्यो । त्यस्तो केही आपत्ति जनाउनु भएन । 

पहिलो चोटी ससुराली जाँदाको अनुभव कस्तो रह्यो ?

लालबाबु- लगभग एक डेढ वर्ष पछि होला म पहिलो पटक ससुराली गएको । ससुराली भनेर ससुराली गएजस्तो भएन मलाई । किनकी एउटा भेटघाटको लागि भनेर गएको भेटघाट गरेर फर्किएको हुँ । ससुरालीमा गएर रमाउने चाहिँ मैले कहिल्यै गरिन । त्यतिबेला पनि केहीबेर बसेर फर्किहालेँ ।

गृह प्रवेश गर्दाको पल कस्तो रह्यो ?

बिमला- त्यतिबेला सासु सर्लाही हुनुहुन्थ्यो । जेठाजुहरु वीरगञ्ज हुनुहुन्थ्यो । हामी त्यो बेला वीरगञ्ज गयौँ र वीरगञ्ज एकदिन बसेर विराटनगर गयौँ । स्वस्थानीमा गोमाले गरेजस्तो आफूले त्यहाँ गएर कुचो लगाउनेदेखि लिएर सबैथोक आपैmले गर्नुपर्यो । त्यसकारण त्यतिखेर चाहिँ मैले ठ्याक्कै स्वस्थानीको त्यो कथा सम्झिएको थिएँ क्या (हाँसो) ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया