कथित ‘उच्च जाति’ का मान्छेले दलित बस्तीमा जाने बाटो नै थुनिदिए

 भदौ २६, २०७५ मंगलबार १३:४७:३९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी –देशमा संघीयता कार्यान्वयनसँगै सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भनिन्छ । 

तर सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर –४, डिमनका दलित समुदाय भने आउजाउ गर्ने बाटो कथित रुपका ‘ठूला जाति’ले बन्द गरिदिँदा बस्ती नै छोड्न बाध्य भएका छन् । बाटो नहुँदा बस्तीका ३६ परिवारमध्ये ४ परिवार विस्थापित भइसकेका छन् भने बाँकीले कष्टकर जीवन बिताइरहेका छन् । 

चमार जातिको बसोबास रहेको बस्तीसम्म पुग्ने बाटो कथित माथिल्लो समुदायका व्यक्तिले २ वर्षदेखि थुनिदिएका छन् । बाटो भएको ठाउँ आफ्नो नम्बरी जग्गामा परेको भन्दै उनीहरुले बाटोमा बार बार्नुका साथै केही ठाउँमा बाटो नै मासेर खेती गर्ने गरेका छन् । जसले गर्दा बस्तीसम्म जेनतेन पुग्ने गरे पनि बिरामी हुँदा एम्बुलेन्स वा कुनै सवारी साधन लैजान सक्ने अवस्था नरहेको स्थानीय शत्रुघ्न रामले बताउनुभयो । 

गर्भवतीलाई व्यथा लाग्दा वा कसैलाई सर्पले टोक्दा ढक्कीमा बोकेर लानुपर्ने अवस्था रहेको उहाँले गुनासो सुनाउनुभयो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विभेद अन्त्य होला भन्ने विश्वासका साथ मत दिएर जिताए पनि जनप्रतिनिधिले समेत चासो नदेखाएको उनीहरुको गुनासो छ । पार्टीका नेतालाई आग्रह गर्नुका साथै सीडीओ कार्यालयमा ज्ञापनपत्र बुझाए पनि कतैबाट सुनुवाइ नभएको उनीहरु सुनाउँछन् । स्थानीय रामेश्वर रामले आफूहरु अघोषित नाकाबन्दीको जस्तो अवस्थामा रहेको बताउनुभयो । 

माओवादी युद्धकालमा बस्तीका लागि नयाँ बाटो बनाइएको थियो । तर त्यो बाटोमा समेत अहिले माथिल्लो जातका भनाउँदाहरुले बार बारिदिएका छन् । रामेश्वरले बाटो नहुँदा कुटुम्बले विवाह गर्न समेत आनाकानी गर्ने गरेको पीडा सुनाउनुभयो ।

बिहेका लागि गाउँमा आउने बरियातको गाडीलाई बस्तीभन्दा टाढै राखेर सबैलाई हिँडाउँदै ल्याउनुपर्ने र जाँदा बेहुलीलाई पनि हिँडाएरै पठाउनुपर्ने अवस्था रहँदा कुटुम्बसामु पनि आफूहरुको अपमान हुने गरेको उनीहरु बताउँछन् । 

पशुपालन गरेर जीवनयापन गर्न चाहे पनि बाटो नै भएका कारण सम्भव नभएको डोमीदेवी रामले पीडा सुनाउनुभयो । 

राम बस्तीको समस्या समाधान गर्न आफूहरुले पहल गरेपनि सफल हुन नसकेको राजनीतिकर्मी एवम् समाजसेवी देवनारायण यादवले बताउनुभयो । चमार बस्तीका बासिन्दाको पीडा देखेर मन कटक्क दुख्ने गरेको उहाँले बताउनुभयो । तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज बहरखेर यादवले यसबारेमा आफूलाई जानकारी नभएको तर अब वडाध्यक्षसँग समन्वय गरी तत्काल पहल थाल्ने बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया