नगरपालिका कार्यालयमा रमिता, मेयर चाहिँ चौतारीमा

 भदौ २७, २०७५ बुधबार १६:५०:२२ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – बुधबार दिउँसोको १२ बज्नै लाग्दा गैँडाकोट नगरपालिकाको प्रमुखको  कक्षमा ताला लागेको थियो ।

प्रमुखको  कक्षको  अर्कोपट्टि रहेको प्रमुख प्रशासकिय अधिकृतको कक्ष पनि बन्द थियो । यी दुवै कक्षको बीचमा रहेको उप–प्रमुखको  कक्षमा भने भरिभराउ रुपमा मानिसहरु देखिन्थे । उप–प्रमुख कार्यकक्षमै हुनुहुन्थ्यो ।

नगरपालिकाको बाहिरतर्फ मानिसको चहलपहल धेरै थियो । झट्ट हेर्दा कुनै मनोरञ्जनको कार्यक्रम भएको हो कि भन्ने अनुमान धेरैको हुन्थ्यो । किनकी बुधबार तीजको दिन, धेरै स्थानमा तीजका कार्यक्रम सञ्चालन भैरहेका थिए ।

नगरपालिकामा यत्रतत्र छरिएका व्यक्तिहरुबाट केही आवाज आइरहेको सुनिन्थ्यो । नगरपालिकाको बेइज्जत भयो । कोही यही चाल भए गैँडाकोटमा कुनै राम्रो काम हुँदैन भन्दै थिए । कोही बहुमत अल्पमतको खेलले सबै बिग्रियो, यस्तै–यस्तै भन्दै थिए ।

१२ बजेको समयमा  नगरपालिका प्रमुख छत्रराज पौडेल आइपुग्नुभयो । तर उहाँ नगरपालिकाको आफ्नो कक्षमा जानु भएन । किनकी उहाँको कार्यकक्षमा ताला लागेको थियो । नगरपालिकापरिसर बाहिर रहेको चौतारीमा उभिएर केही कुराहरु राख्न थाल्नुभयो  । वरपर सर्वसाधारण र पत्रकारहरु थिए ।

नगरप्रमुख  पौडेल चौतारीमा पत्रकारसहित सर्वसाधारणका बीचमा रहिरहँदा, आफ्नो कार्यकक्षमा उप–प्रमुख  आफूनिकट व्यक्तिहरुसँगको भेटघाटमा हुनुहुथ्यो ।

नगरप्रमुख  छत्रराज पौडेलले चौतारीमा उभिएरै पत्रकार भेटघाट कार्यक्रम गर्नुभयो । सुरुमा उहाँले प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कक्षमा तालाबन्दी भएपछि नगरपालिकामा के भएको छ भनेर उपस्थित सर्वसाधारण र पत्रकारहरुलाई आकास्मिक रुपमा भएका घटनाको जानकारी दिन लागेको बताउनुभयो ।

प्रमुख  पौडेलले गैँडाकोट नगरपालिकामा बहुमतको नाममा कार्यपालिकालाई बन्धक गराएको आरोप लगाउनुभयो  । उपप्रमुख बिष्णुकुमारी कंडेलले मंगलबार प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्नुभएको थियो । 

आर्थिक वर्ष २०७४/०७५ को विनियोजित बजेट रिजर्भ राखिएको र त्यही बजेट त्यही आर्थिक वर्षको अन्तिम महिनामा कार्यपालिकाको बैठकबिना नै खर्च गरिएको शंका लागेको भन्दै बिल भौचर हेर्न माग्दा नदिएको भन्दै उप–प्रमुखले तालाबन्दी गर्नुभएको थियो । उप–प्रमुखसहितको टोलीले मंगलबार तालबन्दीसहित प्रमुख र उपप्रमुखको कार्यकक्षको नेमप्लट समेत निकालेर फालिदिएका  थिए ।

तर पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख छत्रराज पौडेलले नगर उप–प्रमुख आफै अुनगमन समितिको संयोजक हुने, आफैले अनुगमनको प्रतिवेदनको  आधारमा योजनाको फर्छ्यौट उपयुक्त हुन्छ भन्ने राय प्रकट गर्ने, कार्यपालिका बैठकले अनुमोदन गर्ने र नगरसभाले पास गरीसकेपछि फेरि  घर लगेर हेर्ने चाहेपछि आफू त्यसमा सहमत हुन नसकेको बताउन भयो ।

यदि शंका लागेका विषयबस्तु भएमा नगरका अहिले सम्मका सबै विषयमा कार्यपालिकाबाट संयन्त्र गठन गरी त्यसैमार्फत हेर्नका लागि आफू तयार रहेको भन्दा उपप्रमुख यसमा सहमत नभएको प्रमुख पौडेलले बताउनुभयो । नगप्रमुख पौडेलले  आम नागरिकहरु र पत्रकारहरुका बीचमै सबै हिसाब–किताब सार्वजनिक रुपमा देखाउन समेत आफू तयार रहेको बताउनुभयो ।

नगरका कागजातहरुलाई अन्यत्र लगेर अभिलेख हटाई नियोजित रुपमा नगरप्रमुखलाई फसाउने मनसायले आएको प्रस्तावमा आफू सहमत हुन नसकेको नगर प्रमुख पौडेलले बताउनुभयो ।

‘नगरकार्यपालिका भित्र रहेका सम्पूर्ण सम्पत्तिहरुको रेखदेख र सुरक्षा गर्ने दायित्व नगर प्रमुखमा निहित रहेको कारणले एक्लै कसैलाई दिँदा कुनै डकुमेन्ट गायब हुन सक्छ’, नगरप्रमुख पौडेलले भन्नुभयो, ‘यसअघि नगरसभाको समयमा नगरप्रमुखको निति तथा कार्यक्रम कर्मचारीसँग मिलेर डिलिट गर्ने कार्य भएको हुँदा उप–प्रमुखलाई विश्वास गर्न सकिनँ ।’

यता उप–प्रमुखले भने आफूले हिसाब हेर्न माग्दा नदिएको कारणले नै ताला लगाएको बताउँदै आउनुभएको छ । न्यायिक समितिको संयोजक विवाद मिलाउने स्थानमा रहेको आफैले ताला लगाउनु कति उचित भन्ने पत्रकारको प्रश्नमा उप–प्रमुख बिष्णुकुमारी कंडेलले अरु धेरै प्रयास गर्दा नभएका कारण बाध्य भएर ताला लगाएको प्रतिक्रिया दिनुभयो ।  

गैँडाकोट नगरपालिकाको कार्यपालिकामा नेकपाका १० र नेपाली कांगे्रसबाट निर्वाचित १८ जना सदस्यहरु रहेका छन् । जसले गर्दा नगरमा सुरुवातका दिनबाटै बहुमत र अल्पमतको रसाकस्सीका कारण पटक–पटक नगरकार्यपालिकामा बैठकमा विवाद भएका कुरा बाहिर आउने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • shiva paudel

    Sept. 12, 2018, 7:36 p.m.

    नगरपालिकामा भएको खेलको सत्य तथ्य बाहिर आउनुपर्छ - जनता जान्न चाहन्छन् /एकले अर्कोलाई आरोप लगाएर समग्र नगरपालिकालाई बन्दी बनाउन पाइदैन /

  •  0 Reply

तपाईको प्रतिक्रिया