सिलिचोङ गाउँपालिकामा पहिराे, १३ घरपरिवार जाेखिममा

 भदौ २८, २०७५ बिहिबार १४:२५:५४ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - लगातारको वर्षाले संखुवासभाको सिलिचोङ गाउँपालिका–३, ताम्कुको याचम्खाका १३ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् ।

वर्षाको कारण ठाउँ–ठाउँमा पहिरो जाने र जमिन चिरिन थालेपछि पहिरोको जोखिम बढेको हो । 

पहिरोको कारण जमिन चर्किएसँगै घरहरु पनि चर्किन थालेका छन् । याचम्खा गाउँमा ३२ घरपरिवारको बसोबास रहेको छ । त्यसमध्ये १३ घरपरिवार उच्च जोखिममा रहेका छन् भने अन्य घरपरिवारको अवस्था सामान्य रहेको ३ नम्बरका वडासदस्य मणिकुमार कुलुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार याचम्खाका साथै छिमेकी टोल साप्तेलमा पनि पहिरो जान थालेको छ । साप्तेल टोलका १७ घरपरिवार पनि पहिरोको जोखिममा रहेका छन् ।

याचम्खा र साप्तेल टोल दुवैतिर पहिरोको कारण घरसमेत चर्किन थालेपछि वडासदस्य कुलुङले स्थानीय ताम्कु प्रहरी चौकीका प्रहरीसहित स्थलगत अनुगमन गर्नुभएको छ । 

स्थलगत अध्ययन अनुगमन गरेपछि स्थानीय विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला रेडक्रस सोसाइटीमा प्रतिवेदन पेश गरी र बस्ती सार्न पहल गरिने वडासदस्य कुलुङको भनाई छ ।

जिल्लामा केही दिनअघि देखिको निरन्तर वर्षा भईरहेको छ । यस्तै वर्षा निरन्तर भइरहे याचम्खा र साप्तेलमा जनधनको ठूलो क्षतिसमेत हुने वडासदस्य कुलुङले चिन्ता व्यक्त गर्नुभयो ।

‘लगातार वर्षा भइरहेको छ, तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायहरुलेसमेत चासो दिनुपर्छ ।’—उहाँले भन्नुभयो । 

पहिरो गएको स्थान सदरमुकाम खाँदबारीबाट एकदिनको पैदल दूरीमा पर्छ । यातायातको सुविधा नपुगेको सिलिचोङ्गमा प्राकृतिक विपद् परेमा उद्धार गर्नसमेत समस्या रहेको स्थानीयहरुको गुनासो छ । त्यसैले समयमा नै रोकथाम र नियन्त्रणका लागि पहल गर्नुपर्ने उहाँहरुको भनार्इ छ । 


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया