लमजुङमा बाढीपहिरो : ४ जनाको मृत्यु, २ जना बेपत्ता, ९ घाइते

उद्धारका लागि प्रहरी र हेलिकप्टर परिचालन

 भदौ २८, २०७५ बिहिबार १६:३४:३० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– अविरल वर्षासँगै आएको पहिरोमा परि लमजुङमा ४ जनाको ज्यान गएको छ । 

पहिरोका कारण बुधबार मर्स्याङ्दी गाउँपालिका–३, की ६५ वर्षीय अतिरुपा थापा, थापाकी १० वर्षीया नातिनी सिराश थापा, मर्स्याङ्दी गाउँपालिका–४, श्रीचौरकी ४७ वर्षीया विष्णुकुमारी गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवम् डीएसपी यादव ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार बिहीबार बिहान अर्खलेबेसीको पहिरोमा बुधबार बेपत्ता हुनुभएकी मर्स्याङ्दी गाउँपालिका–३, की ७२ वर्षीया ललितमाया गुरुङको शव भेटिएको छ । गुरुङको शव पहिरोमा पुरिएको अवस्थामा भेटिएको हो । गुरुङसँगै जिल्लामा पहिरोमै परि मृत्यु हुनेको संख्या ४ पुगेको छ ।    

लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी काजीमान सुनारका अनुसार मर्स्याङ्दीमा आएको बाढीले २ जनालाई बगाएको छ । उहाँका अनुसार बेसीसहर नगरपालिका–११, रामचोकबेसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका बर्दियाका ३५ वर्षे बलिराम चौधरी र २५ वर्षका लक्ष्मीप्रसाद थारुलाई बुधबार मर्स्याङ्दीले बगाएको हो । 

उनीहरु अझै भेटिएका छैनन् । बाढीपहिरोकै कारण ९ जना घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिकामा बाढीले  एउटा ट्रयाक्टर, ३ वटा मोटरसाइकल बगाएको छ । पहिरोकै कारण पशुचौपाया मरेका छन् ।    

स्थानीय जीतबहादुर गुरुङको ९ वटा बाख्रा मरेको छ । स्याँघेका खुशीराम परियारको ५ वटा बाख्रा मरेको छ । पहिरोले गोठ पुरिँदा बाख्रा मरेको हो । सहायक प्रजिअ सुनारका अनुसार बाढीपहिरोले लमजुङको उत्तरी भेगमा रहेको मर्स्याङ्दी गाउँपालिकामा बढी क्षति पुर्याएको छ ।   

‘घाइतेहरुको उद्धार र उपचारका लागि २ वटा हेलिकप्टर परिचालन गरिएको छ’, उहाँले भन्नुभयो । बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको छ । बाढीपहिरोबाट प्रभावित ठाउँमा प्रहरी परिचालन गरिएको छ । अवरुद्ध बेसीशहर–चामे सडकखण्ड खुलाउने प्रयास भैरहेको छ । 

लमजुङमा अहिले पनि वर्षा भइरहेको छ । सम्भावित बाढीपहिरोको जोखिमबाट बच्न सतर्क रहन प्रशासनले अनुरोध गरेको छ ।      
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया