वार्ताका लागि आएकी उप–मेयरमाथि विद्यार्थीले पानीको बोतल फ्याँके

 भदौ २८, २०७५ बिहिबार १८:२३:६ | जयनारायण यादव

बारा – बाराको महागढीमाई नगरपालिकास्थित श्री गढीमाई महेन्द्र राजदेवी नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुले आज नगरपालिकाकी उपप्रमुख तारादेवी कानुमाथि हातपात गरेका छन् । 

चार दिनदेखि शिक्षक सरुवाको विषयलाई लिएर आन्दोलनरत विधार्थीहरुसँग वार्ता गर्न पुग्नुभएकी उपप्रमुख कानुमाथि विधार्थीहरुले पानीको बोतल प्रहार गर्दै हातपात गरेका हुन् । विद्यालयका शिक्षक मनोज साह गोढलाई नगरपालिकाको शिक्षा समितिले अन्यत्र सरुवा गरेपछि विधार्थीहरुले त्यसको विरोधमा आन्दोलन गर्दै आएका छन् । 

विद्यार्थीहरुले शिक्षक साहको सरुवा रद्ध गर्नुपर्ने माग राख्दै वरियारपुर बजार समेत बन्द गराएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले  विधार्थीहरुको माग अनुसार शिक्षकको सरुवालाई तत्काल स्थगित गरिसकिएको बताउँदै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेको जानकारी दिनुभयो । 

उहाँले स्थिति साम्य पार्न प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । विद्यार्थीहरुले विद्यालयमा तोडफोड र आगजनी गर्नुका साथै नगर प्रहरीमाथि समेत हातपात गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया