अब म्याङलुङ्ग बजार सीसी टीभीको निगरानिमा

 जेठ २१, २०७५ सोमबार १०:२४:५२ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – म्याङलुङ्ग बजारका विभिन्न स्थानमा सीसी टीभी क्यामेरा जडान भएको छ । म्याङलुङ्ग नगरपालिकाले बजार क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै स्मार्ट शहर निर्माणको अभियानका क्रममा सीसी टीभी जडान गर्न थालिएको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा खर्च गर्नेगरी सीसी टीभी जडानका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको थियो । यही बजेटबाट पहिलो वर्ष बजार क्षेत्रका विभिन्न स्थानमा १० वटा सीसी टीभी क्यामेरा जडान गर्न लागिएको मेयर सन्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो ।

अहिले क्यामेरा राख्नका लागि काम भइरहेको जनाइएको छ । पहिलो वर्ष लोकतान्त्रिक चोक, सिंहवाहिनी मन्दिर परिसर, म्याङलुङ्ग बसपार्क र जिल्ला प्रशासन कार्यालय अगाडि गरी दश स्थानमा सीसी क्यामेरा जडान हुने नगरप्रमुख तुम्बाहाम्फेले बताउनुभएको छ । बजार क्षेत्रको सीसी क्यामेराको कन्ट्रोल भने जिल्ला प्रहरी कार्यालयमा राखिनेछ ।

सीसी टिभी क्यामेरा जडानले बजारको सुरक्षा खतरालाई कम गर्ने जिल्ला प्रहरी प्रमुख डिएसपी राजन भुजेलले बताउनुभयो । बजारलाई स्मार्ट सिटीको अवधारणामा विकास गर्न नगरपालिकाले आगामी वर्षबाट बजारका अन्य क्षेत्रमा पनि सीसी टीभी क्यामेरा जडान र फ्रि वाईफाई राख्ने कार्यक्रम बनाउने बताएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया