उच्च अदालत विराटनगरद्वारा डीएसपी राउतलाई थुनामा राख्न आदेश

 भदौ २८, २०७५ बिहिबार १९:१५:३२ | सुमन तिमल्सिना

मोरङ – उर्लाबारीका सनम शाक्यको हत्या र ३३ किलो सुन काण्डमा संलग्न रहेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका प्रहरी अधिकृतहरुको सुनुवाइ सुरु भएको छ । 

उच्च अदालत विराटनगरले सुन तस्करी तथा सनम शाक्यको हत्याको सम्बन्धमा मुलुकी ऐन अ.बं.१७ नम्बर प्रयोग गर्दै निवेदन निएका प्रहरी अधिकृतहरुको सुनुवाइ सुरु गरेको हो । यसअघि जिल्ला अदालत मोरङबाट सफाई पाएका एकजना प्रहरी हवल्दार र  धरौटीमा छुटेका निलम्बित एसएसपी श्याम खत्रीका चालकलाई पुर्पक्षको लागि जेल हाल्ने निर्णय बाहेकका सबै निवेदन उपर सुनुवाइ हुँदैगर्दा जिल्ला अदालतको आदेश सदर भएको छ ।

आजदेखि सुनुवाइ सुरु भएको पहिलो आदेशमा निलम्बित डिएसपी सञ्जय बहादुर राउत परेका छन्  । उनलाई पनि जिल्ला अदालतले गरेको निर्णय सदर गर्दै थुनामा राखेर अनुसन्धान गर्न भनिएको छ । उच्च अदालतका न्यायाधीश थिरबहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त इजलाशले  उनलाई थुनमा राख्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘मोहन काफ्लेको घरबाट बरामद भएको रजिष्टरमा  उल्लेखित संजय मामा भन्ने व्यक्ति यीनै सञ्जय राउत हुन्  भनी सहप्रतिवादी बिष्णुबहादुर खड्काले लेखिदिएको, उक्त रजिष्टरबाट १२ लाख सञ्जयबहादुर राउतले लिएको भन्ने उल्लेख भएको समेतका तत्काल प्राप्त प्रमाणका  आधारपछि बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी यी निवेदकलाई मुद्दा पुर्पक्षका लागि  थुनामा राख्नु पर्ने अवस्था देखिन आयो ।’ 

निवेदकलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने भनी जिल्ला अदालत मोरङबाट मिति २०७५-२-८ मा भएको  आदेशलाई बेरितको नदेखिँदा केही  परिवर्तन गरिरहन नपरेको आदेशमा भनिएको उच्च अदालतका शाखा अधिकृत राजु प्रसाद दाहालले जानकारी दिनुभयो । 

आदेशपछि सञ्जय राउतसँगै अब अन्य अधिकारीहरुको सुनुवाइ के हुने हो भन्ने चासोको विषय बनेको छ । सुनकाण्डसम्बन्धी मुद्दाहरुमध्ये निवेदकको तर्फबाट दिइएको निवेदनमध्ये २५ जनाको आज सुनुवाइको लागि उच्च अदालतका विभिन्न इजलाशमा पेशी चढेको थियो ।  

पेशी चढेकामध्ये ४ जनाको पेशी स्थगित भएको थियो भने २० वटा मुद्दा हेर्न नभ्याएको दाहालले बताउनुभयो । उनीहरुको  हेर्न नभ्याएकाहरुको पेशी भोलिको इजलाशमा समेत हेरिने भएको छ । भोलिदेखि थप निलम्बित प्रहरी अधिकृतहरुको हकमा सुनुवाइ हुनसक्ने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया