नगरबासीको विरोधपछि कर संकलन स्थगित

 भदौ २८, २०७५ बिहिबार १९:३२:५६ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले ढुंगा, गिटी, बालुवा र शुक्रबारे हटियाबाट कर संकलन गर्न तत्काललाई बन्द गरेको छ । नगरपालिकाले लिएको कर अव्यवहारिक भएको भन्दै नगरबासीबाट विरोध भएपछि नगरपालिकाले तत्काललाई कर संकलन नगर्ने भएको हो । 

नगर कार्यपालिकाको बिहीबार बसेको २२ औँ बैठकले गिटी, ढुंगा र बालुवा संकलन तथा शुक्रबारे हटियाबाट तत्काललाई कर संकलन नगर्ने निर्णय गरेको नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो । नगरपालिकाले गिटी, ढुंगा र बालुवा संकलन तथा हटियाबाट कर संकलन गर्न छुट्टा–छुट्टै ठेक्का लगाएको थियो । 

करको विषयमा नगरबासीबाट प्राप्त सुझावका आधारमा तत्काललाई कर सम्बन्धी ठेक्का समेत तोडेर कर संकलनलाई थप वैज्ञानिक र व्यवहारिक बनाउन अध्ययन थालिएको नगर प्रमुख तुम्बाहाम्फेले बताउनुभयो । कार्यपालिकाको बैठकले ढुंगा, गिटी र बालुवाको राजश्व संकलन गर्न ईआईए सर्वे गर्ने निर्णय समेत गरेको छ । यसअघि नगरपालिकाले शुक्रबारे हटियामा एक डोको साग र निगुरो बेच्नेसँग समेत कर उठाएको भन्दै आलोचना भएको थियो । 

यसैबीच म्याङ्लुङ नगरपालिकाले जिल्ला अस्पतालमा प्रसुति हुन आउने नगर क्षेत्रका महिलाहरुलाई एम्बुलेन्स खर्च उपलब्ध गराउने भएको छ । अस्पतालमा प्रसूति हुन जाँदा आउँदा एम्बुलेन्सका लागि लाग्ने खर्च नगरपालिकाले यथार्थ बिल अनुसार भुक्तानी दिने निर्णय गरेको उपप्रमुख पार्वती सानु डाँगीले बताउनुभयो । 

सरकारले स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसुति सेवा लिने महिलाहरुलाई यातायात खर्च वापत दुई हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ । नगर क्षेत्रका महिलाहरुको समस्यालाई मध्यनजर गर्दै सुरक्षित प्रसुति सेवालाई थप प्रभावकारी बनाउन यो कार्यक्रमले सहयोग पुर्‍याउने उपप्रमुख डाँगीले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया