म नचिप्लिएको भए नेपालको नतिजा अर्कै हुन सक्थ्यो: उपकप्तान भरत खवास

 भदौ २८, २०७५ बिहिबार १९:४८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण एशियाली फुटबल च्याम्पियनसिपको नामबाट दुई संस्करण र त्यसपछि साफ च्याम्पियनसिपको नामबाट १० संस्करणसम्म आइपुग्दा नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन ।

छुट्टा छुट्टै खेलमा नेपालले दक्षिण एशियाका प्रतिस्पर्धीमध्ये हराउन बाँकी कुनै टिम छैन । तर, एउटै प्रतियोगितामा नेपालले यो उपलब्धि हासिल गर्न सकेको छैन ।

बंगलादेशको ढाकामा यसपटक पनि नेपालको त्यही नियति दोहोरियो । साफ इतिहासमा चौथो पटक सेमिफाइनलमा पुगेको नेपाली माल्दिभ्ससँग पाराजित हुँदै बाहिरियो ।

बिहीबार मध्याह्न स्वदेश फर्किएपछि नेपाली टोलीका उपकप्तान तथा नेपालले खेलेका चारमध्ये दुई खेलमा कप्तानको जिम्मेबारी सम्हालेका अनुभवी स्ट्राइकर भरत खवाससँग यसपटकको साफ च्याम्पियनसिपमा नेपालले पराजित हुनुको कारण र अनुभवबारे यसो भन्छन्,-सुरुको खेलमा पाकिस्तानसँग हारे पनि हामीले त्यसपछिका दुई खेलमा शानदार खेलेका थियौं । दोस्रो खेलमा सब्स्टिच्युटको रुपमा छिरेर पनि मैले गोल गर्न सकेँ ।

समूहका दुई खेलमा हामी लयमा फर्किसकेका थियौं । भुटानलाई हराएपछि घरेलु टोली बंगलादेशविरुद्धको खेल हाम्रा लागि गर या मरको आवस्थामा थियो । हामीले आफ्नो रणनीति अनुसार खेल्यौं । ‘सेट पिस’ (फ्रिकिक, कर्नर)मा हाम्रो गोल निस्किएको थियो । हामी उत्साहित थियौं ।

माल्दिभ्सविरुद्धको खेलमा पनि हामीले त्यही रणनीति लिएका थियौं । पहिलो कुरा खेलमा हारेपछि धेरै कुराहरु आउँछ । हामी धेरै आत्मविश्वासी पनि भयौं कि जस्तो लाग्छ । घरेलु टोलीलाई हराएपछि हामी धेरै उत्साहित थियौं । अर्को समूहबाट माल्दिभ्सले राम्रो खेलिरहेको थिएन ।

माल्दिभ्सविरुद्धको खेलमा नेपालको कप्तानी मैले नै गरेको थिएँ । खेलअघि म र प्रशिक्षकलाई म्याच अफिसियलले बोलाएर पहिलो हाफको २५ देखि ३० र दोस्रो हाफको ६५ देखि ७० मिनेटभित्र कुलिङ ब्रेक हुने जानकारी दिएका थिए ।

तर, हामीले मैदानमा प्राक्टिस गर्दै गर्दा एक्कासी कालो बादलसहित आकाश मडारिएर आयो । खेल सुरु हुँदा नहुँदै पानी पर्न थाल्यो । खेल सुरु भएसँगै हामीलाई अप्ठेरो भएको थियो । हिलो मैदानमा नखेलेको लामो समय भइसकेको थियो । हामीले आर्टिफिसियल टर्फमा अभ्यास गरेका थियौं । भूकम्पपछि दशरथ रंगशालामा खेलेका छैनौं । हिलाम्य मैदानले दुवै टोलीलाई असर गरेको हो तर, हामी बढी लडिरहेका थियौं ।

खेलमा मैले पनि एउटा राम्रो चान्स पाएको थिएँ । तर, गोल गर्न सकिन । त्यसबेला म नचिप्लिएको भए नेपालको नतिजा अर्कै हुन सक्थ्यो । म मात्र होइन बिमल, सुनील सबैलाई गाह्रो भएको थियो । अन्तिममा हामीले गोल खानु परेको पनि त्यस्तै कारणले हो ।

मेरो विचारमा साफको फाइनलमा पुग्दै उपाधि जित्ने हाम्रा लागि सुनौलो अवसर थियो । माल्दिभ्सको लय त्यति राम्रो नदेखिनु र भारतले यू–२३ टिम पठाउनु हाम्रा लागि शुभसंकेत थियो । भारत र माल्दिभ्स हामीले हराउनै नसक्ने टिम पनि थिएन । तर, निर्णायक खेलमा हामीले लय गुमाउन पुग्यौं । माल्दिभ्सविरुद्ध सुरुमै गोल खाएपछि केहि प्रेसर भयो । बीचमा खेल रोकिएर पुनः सुरु भएपछि पनि पोजिसन हाम्रै बढी थियो । तर, तालमेल मिल्न सकेन र गोल गर्न सकेनौं ।

हारिसकेपछि सबै सकियो भन्ने भन्दा पनि हारबाट पाठ सिकेर भविष्यका प्रतियोगितामा राम्रो गर्नेतर्फ केन्द्रित हुनुपर्छ । नेपाली टोली क्षमतावान छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

2 Comments

  • Shusil Raj Shahi

    Sept. 13, 2018, 10:53 p.m.

    टुटेको बन्दुक लिएर भोकै लडाई गर्न जाउ भने जस्तै भएको छ नेपाली खेलाडीहरुको अवस्था /न त राम्रो प्रशिक्षण, न राज्यको लगानी ? अनुदानमा आएका खेल सामग्रीका भरमा कति नै उपलब्धिको आशा गर्न सकिन्छ र ? नेपाल साफको सेमीफाइनलसम्म पुग्नु पनि ठूलो कुरा हो / बधाई छ नेपाली खेलाडीलाई /

  •  0 Reply
  • Suman

    Sept. 13, 2018, 8:28 p.m.

    कस्तो अचम्को फ़ुटबॉल मैदान नेपाली खेलाडीमात्र चिप्लीने

  •  0 Reply

तपाईको प्रतिक्रिया