ढाकाको चौबन्दी चोली लगाउने इच्छाले उद्यमी बनायो

 भदौ २९, २०७५ शुक्रबार ७:१५:१४ | सन्ताेष रुचाल

धनकुटा – राजगंगा ढाका कपडा उद्योगकी प्रोपाइटर राजकुमारी लावतीलाई ढाकाको चौबन्दी चोली लगाउने इच्छाले ढाका उद्यमी बनाएको छ ।  

२०५४ सालतिर उहाँलाई ढाकाको चौबन्दी चोली लगाउने रहर जाग्यो । तर गाउँमा ढाका कपडा उद्योग थिएन । एलजीपी भन्ने कार्यक्रममार्फत घरेलु तथा साना उद्योग मुख्य शाखा कार्यालयबाट धनकुटाको ताङ्खुवामा तीन महिने ढाका कपडा बुनाई सम्बन्धी तालिम लिने अवसर पाउनु भयो । त्यसपछि अब ढाका कपडा उद्योग खोलेर केही गर्नु पर्छ भन्ने लाग्यो । 

‘अहिले म ढाका उद्यमीको रुपमा चिनिएकी छु’ प्रो.लावतीले भन्नुभयो । २०५५ सालमा मौनाबुधुक बजारमा एक लाखको लगानीमा ढाका कपडा उद्योग स्थापना गरेर व्यवसाय सुरु गरेको उहाँले सुनाउनु भयो । 

गुणस्तरीय र सर्वसुलभ मूल्यमा ढाकाको कपडा बिक्री गर्दै आएको राजगंगा ढाका कपडा उद्योग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चित छ । ग्रामीण क्षेत्रमा स्थापना गरेर पनि गुणस्तरीय ढाकाको कपडा उत्पादन गर्दै आएको यो उद्योगमा उत्पादित ढाका कपडा स्वदेश तथा विदेशमा बिक्री हुने गरेको छ । एकजना महिलाको सक्रियतामा संचालित उद्योगमा उत्पादित सामग्री विदेशसम्म निर्यात हुनु चानचुने कुरा हैन । निरन्तर रुपमा बिभिन्न डिजाइनका ढाकाका कपडा उत्पादन गरी बिक्री गर्दै आएको राजगंगा ढाका कपडा उद्योगकी प्रोपाइटर लावतीले बताउनुभयो ।

एक लाख रुपैयाँको लगानीमा २०५५ साल भदौमा ५ वटा तान स्थापना गरेर सुरु गरेको उद्योगमा अहिले मौनाबुधुकमा ७५ वटा र शाखाको रुपमा गाउँमा १५० वटा तान सञ्चालनमा रहेको छ । अहिले ६९ लाख रुपैयाँको लगानीमा सञ्चालन हँुदै आएको राजगंगा ढाका कपडा उद्योगमा आंशिक र पूर्ण गरी १५० जनाले रोजगारी पाएका छन् । ‘नेपालीहरु श्रम गर्न अल्छी गर्छन्, ढाका कपडा उद्योगमा काम गरेर जीविकोपार्जन गर्न कुनै समस्या हुँदैन’ प्रोपाइटर लावती बताउनु हुन्छ ।

उद्योगलाई चाहिने कच्चा पदार्थ धागो प्रायः भारतको कोलकत्ता, विराटनगर र धरानबाट ल्याउने गरिएको छ । उद्योगमा ५० रुपैयाँदेखि १५ हजारसम्म पर्ने विभिन्न किसिमका ढाकाका कपडा उत्पादन हुने गर्दछन् । उद्योगमा ढाका टोपी, साडीचोली, दौरासुरुवाल, कोटको कपडा, तन्ना, रुमाल, लेडिज तथा जेन्स पर्स, लेडिज झोला लगायतका कपडा उत्पादन हुन्छन् । लावतीले भन्नुभयो, ‘उद्योगबाट वार्षिक खर्च कटाएर १० लाख बचत हुन्छ ।’

राजगंगा ढाका कपडा उद्योगमा उत्पादिन कपडाको प्रमुख बजार भनेको हङकङ र बेलायत हो । त्यस्तै कोरिया र जर्मनीमा पनि निर्यात हुने गर्दछ । स्वदेशको कुरा गर्दा धनकुटा, धरान, काठमाडौं लगायत बिभिन्न शहरहरुमा विक्री हुने गरेको प्रोपाइटर लावतीले बताउनुभयो । 

लावती २०५८ सालमा युवा कोषद्धारा गोल्डमेडल पुरस्कारबाट पुरस्कृत हुनुभयो । त्यस्तै जिल्ला विकास समिति, घरेलु तथा साना उद्योग मुख्य शाखा कार्यालय, प्रधान कार्यालय लगायत दुईदर्जन भन्दा बढी संघसंस्थाहरुबाट उत्कृष्ट उद्यमीको रुपमा पुरस्कृत भैसकेको लावतीले बताउनुभयो । 

२० वर्षदेखि यो पेशा अंगाल्दै आउनु भएकी लावतीलाई अहिलेको अवस्थासम्म आइपुग्न निक्कै चुनौती पनि झेल्नु पर्‍यो । उहाँले भन्नुभयो, ‘संकटकालको समयमा मेरो उद्योग बन्द हुने अवस्थामा पुग्यो । तर धेरै संघर्ष गरेर भए पनि उद्योगलाई बचाई राख्न सफल भएँ ।’
‘अहिले धागो किन्न भारत पुग्नु पर्छ । बढी खर्चिलो हुन्छ । त्यसकारण हामी जस्ता उद्यमीहरुको प्रवद्र्धनको लागि राज्यले स्वदेशमा नै रंग उत्पादन गर्नु पर्दछ । धागोको लागि कपास खेती गरेर आवश्यक कच्चा पदार्थ आफैले उत्पादन गर्नु पर्छ’ उद्यमी लावतीले भन्नुभयो ।

चौबिसे गाउँपालिकामा संचालित उद्योगलाई गाउँपालिकाको सम्पत्तिको रुपमा लिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउनुभयो । उद्योगको प्रवद्र्धनको लागि गाउँपालिका लगानी गर्न तयार रहेको उल्लेख गर्दै उहाँले गाउँपालिकामा सञ्चालित ढाका उद्यमीहरुसँग छलफल भैरहेको जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया