चक्रपथ नामको मृत्युमार्ग !

 जेठ २१, २०७५ सोमबार १२:४६:३ | मिलन तिमिल्सिना
unn.prixa.net

पहिले सडक साँघुरो हुँदा धुलो र जामले हैरान, अहिले फराकिलो भएपछि मरिएला कि भन्ने डर । साना गाडी र मोटरसाइकलमा यात्रा गर्नेलाई मात्र होइन, पैदलयात्रुलाई झन् बढी जोखिम छ ।

काठमाडौंको बल्खुदेखि कोटेश्वरसम्म यात्रा गर्ने र यो सडक भएर ओहोरदोहोर गर्ने सबैजना दिनहुँ यस्तो जोखिम मोल्न बाध्य छन् । सडक फराकिलो भएसँगै यो सडकखण्डमा दुर्घटना बढेको छ । प्रहरीका अनुसार बितेको ६ महिनामा यो सडकखण्डमा ठूला गाडीको ठक्करबाट ८ जनाको ज्यान गएको छ ।

१ सय ९ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुईजना पैदलयात्रु, चारजना मोटरसाइकल चालक र दुईजना मोटरसाइकलको पछाडि बस्नेको ज्यान गएको हो । सडक फराकिलो बनाउने क्रममा ट्राफिक सुरक्षामा गम्भीर लापर्बाही गरिएका कारण यो सडकखण्डमा दिनहुँजसो दुर्घटना हुने गरेको हो । दुर्घटना रोक्न सरकारी निकाय जिम्मेवार भएका छैनन् । नागरिकको ज्यानमाथि खेलबाड भैरहेको छ ।

पहिले ४ लेनको हुँदा जाम धेरै हुन्थ्यो । गाडी विस्तारै गुड्थे । तर अहिले बल्खुदेखि कोटेश्वरसम्मको ८ लेनको सडकमा त्यति धेरै जाम हुँदैन । त्यसैले गाडी ‘फूल स्पीड’मा हुइँकिन्छन् । दुईतर्फी गाडी चल्ने सडकमा लेन छुट्याउने डिभाइडर त परको कुरा, सेतो धर्सो पनि कोरिएको छैन ।

लेन छुट्याउने संकेत नभएपछि चालकले मनपरी ढंगले गाडी चलाउँछन् । सडक खाली देखेपछि लेन मिचेर ‘फूल स्पिड’मा हुइँक्याउने प्रवृत्ति छ । तीव्र गतिमा गुड्ने ठूला गाडीले साना गाडी र मोटरसाइकललाई ठक्कर दिने क्रम बढेको छ । अझ पैदलयात्रु बढी जोखिममा छन् । ८ लेनको सडकमा बाटो काट्ने ठाउँ छुट्याइएको छैन । पहिले सडक साँघुरो हुँदा जाम र चापका कारण गाडी विस्तारै गुड्थे । गाडी बिस्तारै गुडेको बेला बाटो काट्न सहज हुन्थ्यो । 

तर अहिले फराकिलो सडकमा दुईतर्फी नै गाडी तीव्र गतिमा गुड्छन् । यस्तो अवस्थामा ८ लेनको सडकको वल्लो किनाराबाट पल्लो किनारासम्म कसरी पुग्ने भन्ने चिन्ता पैदल यात्रुलाई हुन्छ । एकातिरबाट गाडी नआएको मौकामा छिटोछिटो पाइला सार्दै बीच सडकमा पुग्दा अर्कोतिरबाट तीव्र गतिमा गाडी आइरहेको हुन्छ । सडकको बीचमा डिभाइडर या सेतो धर्सो काेरेर लेनलाई व्यवस्थित बनाइएकाे भए त्यहाँ उभिँदा केही सुरक्षित हुन्थ्यो । तर बीच सडकमा कुनै पनि ट्राफिक संकेत नहुँदा बाटो पार गर्दै गरेका पैदलयात्रुलाई कहाँ उभिने भन्ने डर हुन्छ ।

एकातिरबाट गाडी नआएको मौकामा सडक पार गर्न थालेर बीचमा पुगेपछि अर्कोतर्फबाट गाडी हुइँकिँदै आएको देखेपछि बीचमा उभिनुपर्ने हुन्छ । तर उभिनुपर्ने ठाउँको बारेमा थाहा नहुँदा र गाडी पनि लेन मिचेर आउने हुँदा यसरी बाटो काट्ने पैदलयात्रुलाई गाडीले ठक्कर दिने गरेको छ । महालक्ष्मीस्थान, नख्खु सानेपा र एकान्तकुनामा यस्तो जोखिम बढी छ ।

यस्तो जोखिमको बारेमा सम्बन्धित निकाय पनि जानकार छन् । ट्राफिक लाइट, जेब्राक्रसिङ, डिभाइडर लगायतका ट्राफिक संकेत नभएको र चालकले तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना बढेको सबैलाई थाहा छ । तर दुर्घटना रोक्नेतर्फ कसैले चासो दिएका छैनन् । अस्थायी नै सही गाडीकाे गति राेक्नलाई ठाउँठाउँमा 'स्पीड ब्रेकर' राख्न त सकिन्छ नि । 

चक्रपथ विस्तार आयोजना सडक बनाउने काम नसकिएकाले डिभाइडर, जेब्राक्रसिङ, लेन संकेत राख्न नमिलेको बताउँछ । अहिले कोटेश्वरदेखि बल्खुसम्म पहिलो चरणको कालोपत्रे गर्ने काम मात्र सकिएको हो । कलंकीसम्म कालोपत्रे सकेपछि फेरि कलंकीदेखि कोटेश्वरसम्म अर्को चरणको कालोपत्रे हुन्छ । आयोजनाले त्यसपछि मात्र ट्राफिक संकेत राख्ने तयारी गरेको छ ।

तर मनसुन लागेपछि कालोपत्रे नहुने भएकाले अर्को चरणको कालोपत्रेको काम सक्न कम्तीमा ६ महिना कुर्नुपर्छ । अहिले बल्खुदेखि कोटेश्वरसम्मको सडक मात्र फराकिलो बनाइएको छ । अबको केही हप्तामै बल्खुदेखि कलंकीसम्मको सडक पनि फराकिलो हुन्छ । त्यसपछि कोटेश्वरबाट बल्खुसम्म पुगेको जोखिम कलंकीसम्मै लम्बिन्छ । दोस्रो चरणको कालोपत्रे सकेर ट्राफिक संकेत राख्ने बेलासम्म दुर्घटनाबाट कति जनाको ज्यान जाने हो भन्ने चिन्ता कसैले गरेको देखिदैन ।

दुर्घटना कम गर्न अस्थायी रुपमा भए पनि जेब्राक्रसिङ र ट्राफिक संकेत राख्न सकिन्छ । गाडीको ‘स्पीड’ कम गर्ने ट्राफिकले चालकलाई बाध्य पार्ने उपाय अपनाउन सकिन्छ । तर सरकारी निकाय यसमा गम्भीर छैनन् । अहिले जेसुकै होओस्, मान्छे मरे पनि मरुन्, कालोपत्रे नसकिँदासम्म केही गर्न सकिँदैन भनेजस्तो गरी मुकदर्शक छन् ।

पहिलो कुरा त चक्रपथ राजमार्ग होइन । चक्रपथ आसपासमा घना वस्ती छन् । यहाँ बस्ने नागरिकलाई दिनहुँ सडक वारपार गरेर दैनिकी चलाउनुपर्छ । त्यसैले सडकमा तीव्र गतिमा गाडी चलाउन मिल्दैन । गाडीको गति कम गर्ने र बाटो काट्ने संकेत धेरै हुनुपर्छ । तर चक्रपथ विस्तारको क्रममा यस्ता मापदण्डमा ख्याल गरिएको पाइँदैन ।

सडकमा हुने जामभन्दा मान्छेको ज्यान ठूलो हो । सडक फराकिलो भएसँगै जाम त घटेको छ । पहिले बल्खुबाट कोटेश्वर पुग्न कम्तिमा एकघण्टा लाग्थ्यो । अहिले १५ मिनेटमै पुग्न सकिन्छ । तर ८ लेनको फराकिलो सडकमा कुनै पनि प्रकारका नियमन र नियन्त्रण नहुँदा दुर्घटना बढेको छ । अकालमा ज्यान जाने क्रम बढेको छ ।

कि त सडक कालोपत्रे भै नसक्दासम्म ८ लेनकै बाटो खुला गर्न भएन । दुईतर्फका साइड लेन मात्र खुला गरेर बीचको चार लेनमा गाडी चल्न रोक लगाउनु पर्छ । कि त कालोपत्रे नसक्दासम्म अस्थायी रुपमा भए पनि ट्राफिक संकेत राख्ने र गाडीको ‘स्पीड’ कम गर्ने उपाय अपनाउनुपर्छ । सरकारले यति काम पनि गर्दैन भने नागरिकले सरकारबाट आफू सुरक्षित छ भनेर कसरी आश्वस्त हुने ?
 

अन्तिम अपडेट: चैत २७, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

4 Comments

  • Razu lama

    June 4, 2018, 7:58 p.m.

    Tyo trafic ko galti kasari vo k nepali veda hora??? Kura poni k k ho k k ..dherai khada pet futxa vanne tha xa ki nai speed chalau da paidal ani aafu ni marna sakinxa vanne vawana hunu paryo ni hami chalak ma ni ani bato katne jaha payo tyai kati dinxa ..paidal hinne le aafu kun bato hinda surachhit xa vanne tha hunna??? Leisence poni correct person lai dina khojda daka haru ghus khuwayeri chori garera nikalxan ani accident vo vane arkako tauko ma hawa kura haru.

  •  0 Reply
  • नेमराज छिम्केश्वरी

    June 4, 2018, 7:58 p.m.

    लेन छुट्याउने तथा जेब्रा क्रस राख्ने काम पनि सडक निर्माण को इन्जिनियरिङकै क्रममा हुनुपर्ने हो, त्यसोत रोड पिचको काम सकिनासाथ सगसगै रोड बनाउने ठेकेदारको जिम्मेवारी भित्र पर्नुपर्ने कामहो लेन छुट्याउने पनि, यदि पुरानो भएर नदेखिएको ठाउमा भने सडक बिभागले गर्नुपर्ने हुन्छ, यस्ता काम सरकारले माथिलो तहबाट निर्देशित गरिरहनु पर्ने देखिदैन । त्यसैले यो गल्ती वा कमजोरी ठेकेदार र सडक बिभाग का नै हुने भएकोले सक्दो छिटो काम गरियोस भन्न चाहन्छु होइन भनी ती जिम्मेवारी ब्याक्तीहरुलाई कारबाही गरियोस्

  •  0 Reply
  • Bishal thing

    June 4, 2018, 7:48 p.m.

    बाटो ठूलो भएर दुर्घटना भएको भन्दा पनि चालकले ट्राफिक नियमको पालन गर्नुपर्यो र पैदल यात्रुहरुले पनि नियमको पालना गर्यो भने दुर्घटना कम गर्न सकिन्छ ।

  •  0 Reply
  • सागर

    June 4, 2018, 6:58 p.m.

    यस बिषय मा सरकार लाई कुनै midia मार्फत जानकारी आवश्यक देखिन्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया