छानबिन समितिका सदस्यलाई धम्की दिने व्यक्ति ठूलै जिउडालका शक्तिशाली मान्छे रहेछन् : गृहमन्त्री थापा

 भदौ २९, २०७५ शुक्रबार १४:१९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यालगायतका मुलुकभरका घटनाका बारेमा संघीय संसदलाई जानकारी गराएको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका हत्या लगायतका घटना, खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको, रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्या तथा बाढीपहिरोका कारण मुलुकका विभिन्न स्थानमा पुगेको क्षतिलगायतका विषयमा संघीय संसदका दुवै सदनलाई जानकारी गराउनुभएको हो ।

उहाँले सबै किसिमका अपराधमा संलग्नलाई कानुनको कठघरामा ल्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । पन्तको घटनाबारे सरकार गम्भीर रहेको र भविष्यमा पनि अपराधीहरुलाई कानुनको कठघरामा ल्याउन प्रतिवद्ध रहेकोमा पनि उहाँले सदनलाई आश्वस्त तुल्याउनुभयो ।

उहाँले मुलुकमा शान्ति सुरक्षा र स्थिरता कायम गर्न सबै किसिमका अपराध नियन्त्रण गरि जनतालाई सुरक्षाको प्रत्याभुत गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।निर्मला पन्तको बलात्कार पछि हत्याको सम्बन्धमा गृहमन्त्रालयले भदौ ७ को बैठकको निर्णय अनुसार उच्चस्तरीय छानविन समिति गठन गरेको र त्यस समितिले अध्ययन गरिरहेको भन्दै घटनाको छानबिन तथा विस्तृत अनुसन्धान जारी रहेको बताउनुभयो ।

अनुसन्धानको सम्बन्धमा कहीँकतै लापरवाही र गल्ती भएको पाइए उनीहरुमाथि पनि कारबाही हुने प्रतिबद्धता पनि उहाँले जाहेर गर्नुभयो ।

घटना छानबिन समितिका एक सदस्यले राजीनामा दिएको विषयमा सत्यता नभएको दावी उहाँले गर्नुभयो । सुरक्षाको दृष्टिकोणबाट अलग भएको भनि राजीनामा दिएको भनिए पनि सरकारले छानबिन समितिका सदस्यको सुरक्षाको प्रत्याभुति गराउने आश्वासन पछि सदस्य पुनः काममा फर्किएको दावी उहाँले गर्नुभयो ।

बर्दियाका राममनोहर यादवको अनुसन्धानको क्रममा प्रहरी हिरासतमै राखिएका बेला एक्कासि बिरामी भएको र उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो । मेडिकल रिपोर्टले यादवको मृत्यु यातनाबाट नभई रोगको कारण भएको देखाएको पनि उहाँले बताउनुभयो ।

बाग्लुङ्ग जिल्ला ढोरपाटन नगरपालिका १ का संगिन जिसीकोको मृत्यु हत्या नभई आत्म हत्या भएको प्रारम्भिक मेडिकल रिपोर्ट आएको जानकारी दिनुभयो । जिसी काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित स्वयम्भू पछाडिको जंगलमा क्षतविक्षत अवस्थामा मृत फेला परेका थिए ।

तरुण दलका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यामा संलग्नलाई निन्त्रणमा लिइएको पनि उहाँले जानकारी दिनुभयो । सुलीचौरस्थित एक रेष्टुरेण्टमा दुई समूहबीच आपसी विवाद पछि देवबहादुर घर्ती मगरले चलाएको पेस्तोलबाट एक राउण्ड गोली प्रहार गर्दा रोहित पुन मगर घाइते भएको र उनको उपचारको क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उहाँले घटनामा संलग्न देवबहादुर घर्ती मगरसहित केहीलाई पेस्तोल एक थान र गोली एक राउण्डसहित नियन्त्रणमा लिएको तथा थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताउनुभयो ।

खोज तलास डट कम र खोज तलास साप्ताहिकका अध्यक्ष एवं प्रधान सम्पादक राजु बस्नेतमाथि काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र सहित मुद्धा दायर गरिएको उहाँले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, ‘बस्नेतले जनप्रतिनिधि कि जग्गा दलाल’ भन्ने शीर्षक राखी भदौ २१ गते  सांसद फम्फा भुसाल र ललितपुर प्रदेश नम्बर ३, ‘क’ का सांसद राजकाजी श्रेष्ठको समेत फोटो राखी अपमान एवं हैरानी हुने गरी समाचार प्रकाशित गरेकाले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ र ४९ हदै सम्मको कारबाही गरी पाउँ भनि सुशील खनालले भदौ २२ गते गरेको जाहेरी अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।’

गृहमन्त्री थापाले राजधानीको बबरमहलतमा पूर्व राजदूत केशर झाको हत्या, मोरङ्ग जिल्लाको लेटाङ्गमा विद्यालयको पानी ट्यांकीमा विषाधि मिसाएको, सांसद निरुदेवी पालमाथि भएको आक्रमणलगायतका घटनाको प्रहरी अनुसन्धान र कारबाही भैरहेको जानकारी गराउनुभयो । प्राकृतिक प्रकोपबाट भएको क्षतिबारे पनि उहाँले सदनलाई जानकारी गराउनुभयो ।

गृहमन्त्रीको जवाफमा केन्द्रित रहेर सांसदहरुले प्रश्न गरेका थिए ।

सांसद गगनकुमार थापाले प्रहरीले निर्मला पन्तको हत्याका सम्बन्धमा अनिता बम र रोशनी बमलाई सोधपुछ गर्न साथमा लिएको अवस्थामा जनतासँग प्रधानमन्त्री कार्यक्रममा निष्पक्ष छानबिनलाई प्रभावित पार्ने गरी प्रधानमन्त्रीले बम दिदीबहिनीका बारेमा अभिव्यक्ति दिएको भन्दै त्यसबारे प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो भन्द गृहमन्त्रीलाई प्रश्न गर्नुभयो ।

सांसद अमरेशकुमार सिंहले उच्चस्तरीय छानबिन समितिका सदस्य विरेन्द्र केसीले शक्तिशाली अपराधिबाट जुनसुकै बेला आफ्नो हत्या हुन सक्ने बताएकाले त्यसबारे गृहमन्त्रीको जवाफ  माग गर्नुभयो ।

सांसद भरतकुमार शाहले छानविन समितिको प्रतिवेदनको विश्वसनियताको आधार दिन माग गर्नुभयो । त्यसैगरी पत्रकार खोजतलास पत्रिकाका बस्नेतमाथि लगाइएको आरोपमाथि छानबिन भएको छ कि छैन भनी प्रश्न गर्नुभयो ।

सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीले गोलमोटल जवाफ दिएको भन्दै छानबिन समितिका सदस्य विरेन्द्र केसीलाई राजीनामा दिन बाध्य बनाउने शक्तिका बारेमा जानकारी गराउन माग गर्नुभयो ।

सांसद रंगमति शाहीले  निर्मला हत्या प्रकरण पत्ता लगाउन कति वर्ष लाग्छ भनी प्रश्न गर्नुभयो ।

सांसद विन्दा पाण्डेले रौतहटमा जनप्रतिनिधि नै हिंसात्मक गतिविधिको मेलमिलाप गराउन लागेको भन्ने बारे गृहप्रशासनले के कारबाही गरेको छ भनी जवाफ माग गर्नुभयो ।

राजेन्द्र लिङ्गदेनले निर्मला पन्तको हत्या प्रकरणमा सुरुमै अनुसन्धानमा संग्लन भएकालाई नै खास अभियुक्त थाहा भएको भन्दै गलत मान्छेलाई अभियुक्तको रुपमा पेश गर्नेमाथि नै अनुसन्धान प्रारम्भ गर्नुपर्ने माग गर्नुभयो । प्रारम्भिक अनुसन्धान अधिकारीमाथि नै अनुसन्धान गरियोस् भनी उहाँले माग गर्नुभयो ।

सांसद पार्वती डिसी चौधरीले सरकारले निर्मला पन्तको हत्या प्रकरणमा जनतालाई सत्य तथ्य सार्वजनिक गर्नु भन्दा पनि नाटक देखाउने काम मात्रै गरेको बताउनुभयो ।

सांसद बालकृष्ण खाँडले निर्मला पन्तको हत्या प्रकरणका दोषीलाई उन्मुक्ति दिने र ढाकछोप गर्ने क्रियाकलाप सरकारबाट भईरहेको भन्दै छानबिन समितिका सदस्यलाई धम्की दिनेलाई सार्वजनिक गर्न माग गर्नुभयो ।

सांसद सुजाता परियारले गृहमन्त्रीको जवाफबाट निर्मला पन्तका हत्यारालाई कानुनी कारबाही हुनेमा विश्वस्त हुन नसकिएको भन्दै हत्यारा कहिलेसम्म पत्ता लाग्छ भनी प्रश्न गर्नुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडुले छानबिन समितिका सदस्य विरेन्द्र केसीले पीडीतले न्याय पाउने संभावना नदेखको र आफुलाई शक्तिशाली केन्द्रबाट धम्की आएको बताएकाले घटना छानबिन गर्न सजिलो बनाएको बताउनुभयो ।

सांसद सिता देवी यादवले गृहमन्त्रीको जवाफ सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो । महोत्तरीमा ८ महिने बालिकाको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई सरकारले अहिलेसम्म खोजी गर्न नसकेको भन्दै सत्यतथ्य बाहिर ल्याउन गृहमन्त्रीलाई आग्रह गर्नुभयो ।

सांसहरुको प्रश्नको उत्तरमा गृहमन्त्री थापाले प्रधानमन्त्रीले नै हत्या प्रकरणको छिटो परिणाम सम्म पुर्याउन निर्देशन दिएकाले प्रधानमन्त्रीको अभिव्यक्तिले छानबिनमा असर नपुर्याउने दाबी गर्नुभयो । 

छानबिन समितिका सदस्यलाई धम्की दिने शक्तिशाली व्यक्तिका बारेमा गृहमन्त्रीले भन्नुभयो, ‘छानबिन गर्ने क्रममा एक जना शक्तिशाली देखिने ठूलै जिउडालको मान्छे बाइकमा आएको र उनले तपाईँले जे छानबिन गर्दै हुनुहुन्छ । त्यो राम्रै गर्दै हुनुहुन्छ । तर यस्ता छानबिन धेरै भए र ती छानबिन गर्नेहरुलाई गाडीमाथि लगाएर तिनीहरुको हत्या हुने गरेको पनि तपाईँले सम्झिनुहोला भनेर भने रे, त्यसैले उहाँको शक्तिशाली मान्छे चाहिँ त्यही हुनुपर्छ । नाम चाहिँ मलाई थाहा छैन ।’

गृहमन्त्री थापाले पन्त हत्याको घटनाबारे छानबिन भैरहेकाले छिट्टै त्यसको परिणाम आउने आश्वासन दिनुभयो ।   

बर्दियाका राममनोहर यादवको मृत्यु बारे गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै राजपाका सांसदहरुले उभिएर विरोध गरेपछि सभामुखले त्यो घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सभामुखको प्रतिबद्धता पछि मात्रै बैठक सुरु भएको थियो ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

1 Comments

  • Mohan sunuwar

    Sept. 15, 2018, 4:49 p.m.

    एउटा अपराधी समात्न नसक्ने सरकारले देशको विकाश गर्छ भनेर के पत्याउनु खै !!

  •  0 Reply

तपाईको प्रतिक्रिया