माघमा ४ विदेशी टोलीसहित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने

 भदौ २९, २०७५ शुक्रबार १७:३५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मदन भण्डारी स्पोर्ट्स एकेडेमीले माघमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । 

माघ ९ गतेदेखि १९ गते सम्म काठमाडौंको दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । अन्तर्राष्ट्रिय

फुटबल प्रतियोगितामा नेपालका २ र विदेशी ४ सहित ६ टिमको सहभागिता रहने छ । प्रतियोगितामा नेपालबाट रातो र निलो गरी २ टिमको सहभागिता हुनेछ । यसैगरी आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रतियोगिता खेल्नका लागि दक्षिण कोरिया, चीन, भुटान, बंगलादेश, भारत र थाइल्याण्डलाई पत्राचार गरिए पनि निश्चित भने भइनसकेको जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै लिगको आधारमा खेल खेलाइनेछ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले २५ हजार अमेरिकी डलर र दोस्रो हुनेलाई १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई समान १–१ हजार अमेरिकी डलर दिइने आयोजकले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया