बालदिवसका अवसरमा राउटे बालबालिकालाई कपडा वितरण

 भदौ २९, २०७५ शुक्रबार १७:४१:३१ | अमर सुनार
unn.prixa.net

दैलेख – जिल्ला बाल कल्याण समितिका अध्यक्ष दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले राउटे समुदायका बालबालिका र उनीहरुका अभिभावकहरुलाई कपडा वितरण गर्नुभएको छ । 

राष्ट्रिय बाल दिवसको अवसरमा अहिले राउटे समुदाय बस्दै आएको गुराँस गाउँपालिका–८ पाखापानीमा पुगेर सामाजिक सेवा केन्द्र (सोसेक) ले उपलब्ध गराएको लगाउने कपडा तथा ओछ्याउने म्याट दिइएको हो । 

त्यसबखत गुराँस गाउँपालिकाले आजै राउटे समुदायका १ सय ५३ जनालाई प्रति व्यक्ति २ हजारका दरले भदौ महिनाको सामाजिक सुरक्षा भत्ता पनि वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष खेमराज ओलीले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभयो । 

राउटे समुदायका बालबालिकाकालाई कपडा वितरण गरेपछि प्रमुख जिल्ला अधिकारी बासकोटाले राउटे समुदायको स्वास्थ्य अवस्था सुधार गर्दै आवश्यक सहयोग गरेर जंगली जीवनबाट सामान्य जीवनयापनमा फर्काउनुपर्ने बताउनुभयो । 

गुराँस गाउँपालिकाका अध्यक्ष ओलीले दुई महिनाअघिमात्र राउटे समुदायलाई हरेक व्यक्तिको फोटो सहित परिचयपत्र दिएर उनीहरुको तथ्याँक व्यवस्थापनबाट राउटेहरुको जीवनस्तर सुधारको काम सुरु भएको प्रष्ट्याउनुभयो । 

गुराँस गाउँपालिकाले नागरिक रहने गरी परिचयपत्र दिएको र उनीहरु जहाँ गए पनि गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सुविधा दिने जनाएको छ । सामाजिक सेवा केन्द्र (सोसेक)ले राउटे समुदायको स्वास्थ्य सेवा, सचेतना अभिबृद्धि लगायतका क्षेत्रमा काम गर्न राउटे परियोजना सञ्चालन गरिरहेको छ । 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया